पोखरा, ७ मङ्सिर
पोखरामा आइतबार वितरण गरिएको ग्यास वितरण समान र प्रक्रियागत नभएको उपभोक्ताहरुले गुनासो गरेका छन् । सार्वजनिक सूचना नै नदिई आआफ्नो मान्छेलाई मात्र जानकारी दिएर ग्याँसको लाइन ओगटिएको उपभोक्ताले गुनासो गरेका हुन् । ‘पहिले सार्वजनिक सूचना दिएर ग्यास वितरण गर्ने भनिएको थियो’ एक उपभोक्ताले भने, ‘तर पहिले प्रशासन तथा वितरणमा समन्वय गरिरहेका व्यक्तीहरुले आफ्नो मान्छेलाई जानकारी गराएर लाइनमा उभ्याएपछि मात्रै उपभोक्ताले थाह पाएर लाइनमा आएका हुन् ।’
उपभोक्ता मञ्च कास्कीले पनि जिल्ला आपूर्ति व्यवस्थापन समितिको निर्णय बमोजिम आइतबार वितरण गरिएको एलपी ग्याँसको वितरण प्रक्रियामा असहमति जनाएको छ । मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाको अध्यक्षतामा आइतबार साँझ बसेको मञ्चको आकस्मिक बैठकले आफूहरूको संलग्नता विना बैठक गरी वितरण गर्ने निर्णय भएको र वितरण गर्ने सूचना सार्वजनिक हुनुअगावै सूचना चुहावट भएको दावी गरेको छ । मञ्चद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ– ‘ग्यास बिक्रेताका सेटिङका मान्छे मात्र यसबाट लाभान्वित भए । यसमा हाम्रो आपत्ति छ ।’
मञ्चले सूचना चुहावट गर्नेलाई कडा कारवाहीको माग गर्दै भनेको छ–‘अन्यथा, यो प्रशासन र ग्यास बिक्रेताको मिलेमतोमा गरिएको प्रमाणित हुनेछ ।’ आपूर्ति समिति मञ्चको प्रतिनिधित्व रहने व्यवस्था छ ।’
आइतबार ग्यास वितरण गरिने सूचना प्रशासनले शनिबार राति १० बजे जारी गरे पनि शनिबार साँझबाट नै ग्याँसका डिपोहरूमा सर्वसाधारणको भिड लागिसकेको थियो। प्रशासनले ग्यास वितरण गर्ने दिनको बिहान ५ः४५ बजे सबै एफएममा एकसाथ सूचना दिने जनाएको थियो ।
मञ्चले आइतबार बाँडिएको गृहलक्ष्मी र शक्ति ग्यास कम्पनीका ग्यास वितरण प्रक्रियामा मञ्चको संलग्नता र सहभागिता नरहेको जनाएको छ। प्रशासनले मङ्सिर ७ गतेअघि ग्याँस बिक्री नहुने विज्ञप्ति जारी गरेकोमा सो विपरित मङ्सिर ६ गते आइतबार नै वितरण गर्दा आम उपभोक्ता भ्रममा पर्न गएको दावी गरेको छ ।
शनिबार बेलुका चार सय ५० थान शक्ति र आइतबार चार सय शक्ति र तीन सय गृहलक्ष्मी ग्यास आक्रोशित भिडले माग गरेबमोजिम वितरण गरेकोमा पनि मञ्चले असहमति छ। यस्तो वितरणले आगामी दिनमा वितण्डाकारीलाई प्रोत्साहन गर्ने छ। यस पटक वितरण गरिएको आधा सिलिण्डर भनिएको ७.१ केजी तौल कुनै निकायबाट पनि प्रमाणित गरिएको छैन । आगामी दिनमा तौल प्रमाणित गरेरमात्र वितरण गर्ने व्यवस्था गर्न मञ्चले माग गरेको छ ।
Comments are closed.