ग्यास नपाए दाउरा, दाउरा नपाए के बाल्ने ? उपभाेक्ता चउरमा, डिलरबाट ग्यास बाड्ने तयारी

अमृत सुवेदी/पोखरा ४ मसिंर
पोखरा वगरकी राममाया श्रेष्ठको घरमा ग्याँस सकिएको दुई महिना बढी भैसक्यो । ग्याँस सकिएपछि भुसे चुलोमा खाना बनाउँदै आएकी श्रेष्ठलाई अहिले भुस र दाउरै पनि धौधौ छ । ग्याँस पाउने अझै टुङ्गो छैन । ‘गृहलक्ष्मी ग्याँस हुनेले त आधा भएपनि पाएछन्’ श्रेष्ठले भनिन्, ‘हाम्रोमा एचपी कम्पनीको ग्याँस छ त्यो कहिले कहाँ बाँडिन्छ अत्तोपत्तो छैन ।’

gyas lainभुसे चुलोले जेनतेन चलाउँदै आएकी उनी फर्निचरमा गएर दाउराको धुलो जम्मा गरेर मुस्किलले खाना बनाउँछिन् ।  ‘यहाँका पैसावाल व्यक्ती, धनीमानीहरुले त विजुलीबाट चल्ने महङ्गा खाना पाकाउने भाँडाहरु किल्लान हामी महिना ८÷१० हजारले गुजारा चलाउनेहरुले के गर्ने ?’, उनले प्रश्न गरिन् ।

अहिले भरिएको नयाँ सिलिन्डर त परको कुरा, सरकारले दिने भनेको आधा भरिएको सिलिन्डर पनि सहजै पाउन सकिँदैन । गाउँघरमा त दाउरा, गोबरग्यास बालेर पनि खाना पकाउन सकिन्छ । तर, शहर बजार र भाडामा बस्नेलाई यस्तो सुविधा पनि छैन । त्यसमा पनि घर भाडामा बस्ने सर्बसाधरणलाई अझै धेरै समस्या उत्पन्न भएको छ । दाउरा लगेर पाकाउन पनि नपाइने र ग्याँस पनि नपाउने ।

राममाया जस्तो थुप्रैको समस्या यहाँ उस्तै छ । ग्यास सकिएपछि उदास बनेकी राममाया दाउरासमेत पाउन हम्मे पर्न थालेपछि चिन्तित छन् । ‘काठमाडौं तिर त राहतमा दाउरा बाँडेको सुनेकी थिएँ यहाँ त त्यस्तो पनि रहेनछ’ पोखरा रामबजारकी भगीसरा गुरुङले भनिन्, ‘कसरी घर परिवार पाल्ने भन्ने समस्या पर्न थालेको छ ।’

‘देशमै भएको दाउरा त दिन नसक्ने सरकारले विदेशको ग्यास के देला ?’ उनले भनिन्, ’ग्यास नहुँदा दाउरा बाल्ने, दाउरा पनि नहुँदा के बाल्ने ?’ ग्यास र दाउरा दुवै दिन नसक्ने सरकारप्रति रिस उठेको उनले बताइन् । ग्यासको अभावमा घरायसी चुलो प्रयोग गर्दै आएका सर्वसाधारणमा दाउरा अन्तिम विकल्प थियो । त्यही पनि अभाव हुन थालेपछि धेरैलाई समस्या पर्न थालेको छ । नाकाबन्दीको उत्पन्न चरम असन्तुष्टि अहिले बजारमा देखिएको छ । ग्यास दुर्लभ भएको समयमा दाउरा पाउनसमेत मुस्किल भएपछि धेरैलाई अफ्यारो परको छ ।

यस्ता छन् ग्याँसका विकल्प

सामान्य परिवारलाई ग्याँसको विकल्पमा दाउरा र भुस पर्ने भएपनि यहाँ मध्यम तथा उच्च परिवारका लागि भने यहाँ ग्याँस विकल्पमा थुप्रै सामान आएका छन् । ग्याँसको विकल्पमा विद्युतीय सामाग्री बजारमा आएका छन् । बजारमा ग्यासको विकल्पमा बिजुलीबाट चल्ने राइसकुकर, हिटर, किट्ली, ग्यास जस्तै विद्युतीय चुल्लो, इन्डक्सन, जस्ता सामग्री भित्रिएका छन् । ग्यास नहुँदा चुलो निभेपछि विकल्पमा दाउरा, हिटर, बिके्रट, भुसे चुल्लो, विद्युतीय चुल्लोको प्रयोग बढेको छ । ग्यास सकिँदा मध्यमबर्गको रोजाईमा दाउरा, हिटर, भुसे, चुल्लो ब्रिकेट बढी पर्ने गरेको व्यवसायी बताउँछन् ।

धुवाँ नआउने विद्युतीय सामाग्री सबैभन्दा उत्तम विकल्प हुन् । इन्डक्सन हिटर बिजुलीबाट खाना पकाउने चूलो हो । भात, दाल, तरकारी पकाउनदेखि पानी, दूध, चिया उमाल्ने सम्मको काम गर्ने हुनाले यसको माग बढेको छ । इन्डक्सन हिटरमा आवश्यकता अनुसार खाना छिटो वा ढिलो पाक्ने गरी तापक्रम मिलाउन सकिन्छ ।
२ हजार किलोवाट क्षमताको हिटरमा खानेकुरा तयार गर्ने भाँडाकुँडा बजारमा आएका छन् । इन्डक्सन हिटरमा ग्यास चूलोमा प्रयोग गरिएका स्टील र फलामका बाक्ला भाँडाकुँडा पनि प्रयोग गर्न सकिन्छ । इन्डक्सन हिटरलाई ब्रान्ड अनुसार ५ हजार ५ सयदेखि ८ हजार रुपैयाँसम्म पर्छ ।

इलेक्ट्रिक प्रेसर कुकरमा भात, दालका साथै अन्य खानेकुरा पनि बनाउन सकिन्छ । प्रेसर कुकरको तुलनामा यसमा खानेकुरा तयार गर्न केही बढी समय लाग्ने भए पनि सुरक्षित रहेको छ । विभिन्न ब्रान्ड र मोडलमा बजारमा उपलब्ध इलेक्ट्रिक प्रेसर कुकरको मूल्य ४ हजार ५ सयदेखि ६ हजार रुपैंया सम्म पर्छ ।

हट प्लेटले खानेकुरा पकाउने र तताउने काम गर्छ । यसको विशेषता र मोडल अनुसार यसलाई १५ सयदेखि ८ हजारसम्म पर्छ । यस्तै विद्युतीय किट्ली पनि बजारमा पाइन्छ । यसलाई पनि साइज अनुसार ४ सय रुपैंयादेखि माथि पर्छ । यो किट्लीमा पानी तताउन, अण्डा उसिन्न, चिया बनाउन सकिन्छ । यो पनि बिजुलीबाट नै चलाउन सकिन्छ ।

मौलाउँदो कालो बजारी

भारतीय नाकावन्दी निहुँमा बजारमा ह्यातै कालोबजारी बढेको छ । बजारमा पेट्रोलियम पदार्थदेखि ग्याँस र खाद्यान्नसम्मको कालोबजारी भैरहेको छ । खाने तेल, चामल, दाल लगायत सबैजसो खाद्यान्नको अहिले मूल्य आकाशिएको छ भने यही मौकामा बजारमा कालोबजारी गर्ने क्रम पनि बढेको छ । व्यापारीहरुले पहिलेको मूल्य भन्दो दोब्बर मूल्य उठाइरहेको गुनासो अहिले आइरहेको छ । यस्तै यातायातका साधनले पनि दोब्वर भाडा असुलीरहेका छन् ।

यात्रुहरु मर्कामा छन् । एक त सवारी साधन पाइँदैन अर्को गन्तव्यमा पुग्नै पर्ने बाध्यता छ । यात्रुहरु तोकिएको भन्दा दोब्बर भाडा तिरेर गाडी चढ्न विवश देखिन्छन् । पोखरा नदीपुरकी विमला पराजुलीले भनिन्, ’जानु नै छ । अब के गर्ने ! अर्को उपाय छैन । कसैले सोध्यो भने भो एक हजार लिएपनि पाँच सय नै भनिदिउँला ।’

महँगोमा डिजेल किन्नु परेको भन्दै गाडीवालाहरुले जथाभावी रकम असुलेका छन् । विवश नाम बताउने चालकले २ सय ५० रुपियाँ लिटर डिजेल किन्नु परेकाले यात्रुबाट भाडा बढी लिइएको बताए । ‘के गर्ने भैरहवाबाट डिजेल मगाएको हो । लिटरको २५० बढी रुपियाँ तिरेका छौं,’ उनले आफ्नो बाध्यता सुनाए ।

नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्ति हुन नसक्दा चोरबाटोबाट डिजेल, पेट्रोल ल्याउनु परेको चालकहरु गुनासो गर्छन् । चोरबाटोबाट तेब्बरभन्दा बढी मूल्यमा किन्नु परेको बताउँछन् ।काठमाडौं आइपुगुन्जेल प्रहरी–प्रशासनले यात्रुले तिरेको रकमबारे सोधेनन् । यात्रुले तिरेको रकमबारे

खै अनुगमन ?

जनताको दैनिक उपभोग्य वस्तु लगायत पेट्रोलिय पदार्थमा अत्यधिक कालोबजारी हुँदासमेत सम्बन्धित निकायले अनुगमन नगरेको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । दाल, चामल, चिनी, नुन, खाने तेल, चाउचाउ, बिस्कुटलगायत दैनिक उपभोग्य वस्तुमा पसलवालाले मनपरी दोब्बर, तेब्बर मूल्य लिँदा पनि अनुगमन गर्ने निकायले कुनै चासो नदेखाएको सर्वसाधारणको भनाइ छ ।

पोखरा नयाँ बजारका विरेन थापाले बजारमा मनपरी मूल्य असुली रहेका बेला प्रभावकारी अनुगमन हुन नसकेकाले पनि व्यापारीहरुले झन् महङ्गो लिइरहेको गुनासो गर्छन् । पसलमा जति पनि मौज्दात सामान रहेको हुन्छ तर, बजारमै सामान सटेज छ भनेर पसलवालाले दोब्बर, तेब्बर मूल्य बढाएको पोखरा महेन्द्रपुल बस्ने अगन थापाले गुनासो गरे ।

कालोबजारी गर्नेलाई प्रशासनमा उजुरी गरेर सहयोग गर्न प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले आग्रह गरे । ‘हामीले अनुगमन त गरिरहेका छौं तर, हाम्रो मात्रै प्रयासले हुँदैन’, राउतले भने, ‘कालोबजारी गरेको थाहा पाए उपभोक्ताले हामीलाई खवर गर्नुस्, वा उजुरी दिनुस् हामी कारवाही गछौं ।’

कालोबजारीयालाई उजुरी गरौं

तपाई ठगिनु भयो ? कुनै वस्तुको अनुचित मूल्य तिर्नुपर्‍यो कि ? पेट्रोलियम पदार्थ अभाव भएको वहाना बनाउदै तपाईलाई ठग्ने व्यापारीहरु प्रशस्त हुनसक्छन् । त्यसो हो भने तपाई नडराई उजुरी गर्नुहोस् । यसका लागि वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, नजिकको जिल्ला प्रहरी कार्यालयहरुमा उजुरी दिन सकिने सकिन्छ । सही प्रमाणसहित उजुरी गरिदिएमा सम्बद्ध निकायहरु तत्काल कावारहीका लागि अगाडि बढने र कालोबजार नियन्त्रणमा सघाउ पुग्ने प्रशासनले जनाएको छ ।

‘त्यस्तो सूचना पाउने वित्तिकै उपभोक्ताले खबर गरेमा त्यस्ता कार्य गर्ने व्यवसायीहरु स्वतः निरुत्साहित हुँदै जानेछन् । आफूले जानकारी पाएको कुराहरुलाई सम्बन्धित निकायमा उजुरी गर्नु, केही प्रमाण उपलब्ध गराउनु, नाम ठेगाना उपलब्ध गराउनु आम उपभोक्ताको दायित्व पनि हो र कर्तव्य पनि हो ।

यस्तो छ कानुनमा

कालोबजार, केही सामाजिक अपराध तथा सजाय ऐनमा ‘नेपाल सरकारले मोल निर्धारित गरिदिएकोमा त्यही मोलमा र नेपाल सरकारले मोल निर्धारित नगरेकोमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको वस्तुको उत्पादक, आयातक वा मुख्य वितरकले निधारित गरेको मोल भन्दा बढी मोल लिई कसैले कुनै वस्तु विक्री गरेमा त्यो वस्तुको लिएको मोल फिर्ता गराई त्यो वस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद हुने व्यवस्था छ ।

यस्तै मोल निधारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया २० प्रतिशत भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई विक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।

यस्तै प्रत्येक थोक वा खुद्रा विक्रेताले नेपाल सरकारले तोकिदिएको वस्तुको मूल्यसूची सबैले देखिने गरी विक्री स्थलमा टाँग्नु पर्ने र सो नगर्नेलाई १ वर्षसम्म कैद वा जरिवाना वा दुबै हुन सक्ने प्रावधान छ ।

यस्तै बजारमा कुनै वस्तुको कृत्रिम अभाव हुने गरी त्यो सामानको मूल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा विक्री गर्ने नियतले त्यस्तो माल वस्तु बिक्री नगरी जम्मा गरी राखेको भेटिएमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ भने उपभोक्ता हीत विपरीत कार्य गरेको ठहर भएमा त्यस्ता व्यापारीलाई कसुरको मात्रा हेरी ५ लाख सम्म जरीवाना र १४ वर्षसम्म कैद सजाय हुनसक्ने उपभोक्ता संरक्षण ऐनमा उल्लेख छ ।

सामान किन्दा यस्ता कुरा ख्याल गर्नुस्

आफूले किन्ने वस्तुमा उपभोग्य मिति हेर्न नभुल्नुहोस् । त्यहाँ अधिकतम मूल्य लेखिएको हुन्छ र त्यो भन्दा बढी मूल्य लियो भने सम्झिनुहोस् तपाई ठगिदै हुनुहुन्छ । त्यसपछि सामान किनेको बिल माग्नुहोस्, यदि तपाई ठगि विरुद्ध उजुरी दिन जाँदै हुनुहुन्छ भने यो भरपर्दो र बलियो प्रमाण हो ।

यदि तपाईले ठगिएको महसुस मात्र गर्नुभयो र विगतमा किनेको मूल्य भन्दा अस्वाभाविक मूल्य तिर्नुपरमा पनि सकेसम्म बील र बील सम्भव नभएमा पसलको ठाउँ, आफूले किनेको वस्तु र त्यस्ता कुराको विवरण सहित सम्बन्धित निकायमा उजुरी गर्नुहोस् । यदि यी प्रमाणहरु पु¥याएर उजुरी दिनुभएमा नियमक निकायलाई कार्वाही गर्न सजिलो हुन्छ ।

प्रदर्शनी केन्द्रमा सयौं ग्याँस उपभोक्ता लाइनमा, डिलरहरु मार्फत ग्याँस वितरणको तयारी

ग्याँस आउने टुङ्गो नभएपनि पोखराको प्रदर्शनी केन्द्रमा संयौं उपभोक्ता ग्याँस पाउने आशामा लाइनमा बसेका छन् । शक्ति कम्पनीको ग्याँस बाड्ने हल्लैहल्लाले बुधबार रातीदेखिनै उपभोक्ता प्रदर्शनी केन्द्रमा लाइनमा बसेका थिए । तर, प्रशासनले अझै ग्याँस बाड्ने टुङ्गो नभएको जानकारी दिएको छ । ‘तत्कालै ग्याँस बाड्ने विषयमा केही निर्णय भएको छैन’ कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भने, ‘हल्लैहल्लामा सर्वसाधरण लाइनमा बसेरका छन् । तर, अझै केही दिन अघि ग्याँ बाड्ने संभावना छैन ।’

ग्याँस बाड्ने हल्लाले प्रदर्शनी केन्द्रदेखि सहारा क्लवको भवनसम्म लाइन लागेको छ । उपभोक्ताहरु रातभर जागराम बसेरै लाइनमा बसेका छन् । ग्याँस वितरणकै विषयमा विहीबार सरोकारवालाहरुको विहीबार वैठक बसेको थियो ।  गगनगौंडा डिपोमा दुई बुलेट ग्याँस आइसकेको भएपनि अरु दुई बुलेट नआउँदासम्म ग्याँस वितरण गर्ने संभावना नरहेको पोखरा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष संजिव कोइरालाले जानकारी दिए । ग्याँस कहिले बाँड्ने भन्ने टुङ्गो लागिनसकेको उनले जानकारी दिए । ग्याँस वितरण गर्ने मिति र स्थान तय भएपछि अघिल्लो दिन नै सार्वजनिक गरि वितरण गरिने उनको भनाई छ ।

‘प्रदर्शनी केन्द्रमा उपभोक्ता लाइनमा त बसेका छन् तर प्रदर्शनी केन्द्रबाटै ग्याँस बाड्ने संभावना कम छ’ कोइरालाले भने, ‘डिलरहरु मार्फत ग्याँस बाड्नका लागि तयारी भैरहेको छ ।’ तर, उपभोक्ताले भने प्रदर्शनी केन्द्रबाटै ग्याँस वितरण गर्नुपर्ने भन्दै लाइनमा बसिरहेका छन् । प्रदर्शनी केन्द्रमा सबैलाई सुविधा तथा पहुँचमा नहुने भएकाले डिलरहरु मार्फत ग्याँस वितरणको तयारी गरिएको कोइरालाको भनाई थियो । बुधबार राजधानी कम्पनीको ग्याँस वितरण भएप्छि शक्ती ग्याँस पनि वितरण हुने भन्दै उपभोक्ताहरु लाइनमा बसेका थिए ।

Comments are closed.