लमजुङको बेंसीसहरका गुरुङ समुदायले घरेलु मदिरा उत्पादन गर्न पाउनुपर्ने माग सोमबार जिल्ला प्रशासन कार्यालय र प्रहरीमा राखेको छ ।
केही दिनअघि बजारमा प्रहरीले छापा मारेर घरेलु मदिरा नष्ट गरेपछि गुरुङ समुदायले यसबारे चासो ब्यक्त गरेको हो । गुरुङ जातिले परापूर्वकालदेखि संस्कार संस्कृतिमा साथै जन्मदेखि मृत्यु संस्कारसम्म घरेलु मदिरा चलाउने प्रचलन रहेकोले यसलाई नियन्त्रण गर्ने नाउ“मा जवर्जस्ती नगर्न उनीहरुले प्रशासन र प्रहरी समक्ष आग्रह गरेका छन् । गुरुङ समुदायले पितृकार्य साथै विवाह, पुटपुटे, अर्घुं, छेवर लगायत कार्यमा घरेलु मदिराको प्रयोग गर्ने भएकाले जवर्जस्ती घरघरै पसेर मदिरा नियन्त्रणमा लिई नष्ट गरिनाले संस्कारसंस्कृतिमाथिकै हस्तक्षेप भएको उनीहरुको ठहर छ ।
तमु ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर इकाईको संयोजकत्वमा बेंसीसहरका आइतबार ५ वटै गुरुङ टोलसमाजको बैठक बसेर संस्कार संस्कृति तथा घरायसी प्रयोजनका लागि घरेलु मदिरा उत्पादनमा बन्देज नलगाउन प्रशासन र प्रहरीलाई अनुरोध गर्ने निर्णय गरेको थियो । प्रशासनबाट टोलटोलमा अनुगमन गर्ने समयमा तमु ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर इकाईलाई पनि सूचना गरिदिन आग्रह गरेको छ । सोमबार प्रशासनमा मागपत्र बुझाउ“दै इकाईका कार्यबहाक अध्यक्ष हुमबहादुर गुरुङले कानुनीले बन्देज लगाएको कुरा प्रशासनले गर्न पाउने तर, संस्कारसंस्कृतिमा समस्या पुग्ने गरी काम नगरिदिन आग्रह गर्नुभयो । कोषाध्यक्ष मानप्रसाद गुरुङले घरेलु मदिरा बिना संस्कारसंस्कृति रोकिने भएकाले मदिरा उत्पादन नै बन्द नगरिदिन आग्रह गर्नुभयो ।
संघका सचिव तथा तमू प्ये ल्हु संघका अध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङले हरेक टोलमा व्यवसायिक रुपमा मदिरा बनाउने कार्यको कडाई थालिएको बताउनुभयो । तमु ह्यूला छोंज धींका जिल्ला अध्यक्ष ठाकुर प्रसाद गुरुङले संस्कारसंस्कृति माथिको नियन्त्रणले समुदायमा शान्तिसुरक्षा कायम नहुने भएकाले यसको व्यवहारिक पक्षलाई बुझिदिन आग्रह गर्नुभयो । मागपत्र बुझाउन गुरुङ समुदायका अगुवा खजिन्द्र गुरुङ, जंगबहादुर गुरुङ, फमबहादुर गुरुङ, लालजीत गुरुङ, राजबहादुर गुरुङ लगायतको टोली प्रशासन र प्रहरी कार्यालय पुगेको थियो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले प्रशासनले संस्कारसंस्कृतिमाथि नियन्त्रण नभई यसको संरक्षण र संवद्धनमा जोड दिने बताउनुभयो । अबैध मदिराका कारण समाजमा झैझगडा हुने, चोरीडकैती, अपराधिक क्रियाकलाप बढेको भन्दै अबैध रुपमा व्यवसायिक हिसावले तयार पारिएको मदिरा नियन्त्रण अभियान संचालन गरेको उहा“ले बताउनुभयो । सामाजिक, सांस्कृतिक चलन र परम्परामा प्रशासनका हस्तक्षेप नहुने भन्दै उहा“ले पसल पसलमा हुने अबैध खालका मदिरा नियन्त्रणका लागि सहयोगी बनिदिन गुरुङ समुदायसंग आग्रह गर्नुभयो ।
Comments are closed.