नगरपालिका भित्र घर बनाउँदा नयाँ मापदण्ड सिफारीस,चार फिटभन्दा अग्लो पर्खाल लगाउन नपाईने
काठमाडाैँ २० असार/ भूकम्पपछि शहरी विकास मन्त्रालयले गठन गरेको शहरी योजना तथा मापदण्ड परिमार्जन सम्बन्धी सिफारीस समितिले नगरपालिकाका भित्री सडक कम्तीमा पनि ६ मिटरको हुनुपर्ने मस्यौदा तयार पारेको छ। त्यस्तै, नगरपालिका क्षेत्र भित्र बन्ने घरमा चार फिटभन्दा अग्लो पर्खाल लागाउन नपाइने पनि मस्यौदामा उल्लेख छ।
काठमाडौ उपत्यका विकास प्राधिकरणका आयुक्त तथा शहरी योजना तथा मापदण्ड परिमार्जन सम्बन्धी सिफारीस समितिको सदस्य भाइकाजी तिवारीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको शहरीकरणका लागि यस्तो नीति ल्याउन लागिएको बताए।
घरको वरीपरि लगाइएको पर्खाल ४ फिटभन्दा अग्लो बनाउन नपाइने भएपनि पर्खालमाथि एक दशमलब दुई मिटर अग्लो जाली लगाउन भने पाइने छ। भवन निर्माण मापदण्ड २०६४ मा साढे ५ फिट अग्लोसम्म पर्खाल लगाउन पाइने प्रावधान थियो।
वैशाख १२ गते आएको भूकम्पले उपत्यकामा कैयौं निजी तथा सरकारी भवनका पर्खाल भत्किएका थिए। यसरी भत्किएका पर्खालमा पुरिएर मात्रै एक सय ७५ जनाको ज्यान गएका थियो। अग्ला पर्खालले कैयौंको ज्यान लिएपछि समितिले पर्खालको समेत उचाई तोक्ने निर्णय गरेको हो।
यो मापदण्ड लागू भएपछि अहिले लगाइएका चार फिटभन्दा अग्ला पर्खाल भत्काउनु पर्ने कि नपर्ने भन्नेमा मस्यौदा मौन छ। गरपालिकामा बनेका भित्री सडकहरू अहिले कम्तिमा चार मिटर फराकिला बनाउनुपर्ने नियम छ। जसका कारण एम्बुलेन्स र दमकल जस्ता अत्यावश्यक सवारी साधन शहरको भित्री भागमा लैजान सजिलो होस्। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भने घर निर्माण गर्न लागेको स्थानमा पाँच दशमलब छ मिटरको बाटो हुनुपर्ने प्राबधान रहेको तिवारीको भनाई छ।
यो मापदण्ड पास भइसकेपछि चार फिटको बाटो भएको ठाउँमा पनि जग्गा किनबेच गर्न पाइन्छ। तर, नयाँ घर बनाउन चाहनेले ६ मिटरको बाटोलाई ठाउँ छोडेर मात्र घर निर्माण गर्नुपर्छ। चार मिटरको बाटोमा घर निर्माण भइसकेका स्थानको छेउका जग्गामा पनि अब घर निर्माण गर्दा १ मिटर बाटोको लागि छोडेर बनाउनुपर्ने उनको भनाई छ। यो मापदण्ड लागू भएपछि ६ मिटरको बाटोको लागि ठाउँ नछोडी घर बनाउन नक्सा पास हुने छैन।
‘बनिसकेका घरले पुर्ननिर्माण गर्दा ६ मिटरको बाटो छोड्नुपर्छ,’ तिवारीले भने, ‘तर अर्को बस्तीमा एम्बुलेन्स वा दमकल जान असहज भएमा त्यस्ता घर भत्काउनुपर्दछ, आवश्यकता हेरि चार फिट छोडेर बनेका घर भत्काइनेछ।’
पुनर्निर्माण गर्दा पनि ६ मिटरको बाटोका लागि ठाउँ छोड्नुपर्ने प्रावधानले कालान्तरमा नगरपालिका भित्रका सबै सडक फराकिला बन्ने तिवारीले बताए। ‘संसार भरि ठूला शहरमा यसरी नै पुराना बाटा फराकिला बनाइएका हुन्,’ उनले भने।
कसैले जग्गा प्लटिङ गरेर बेच्न चाहेमा वा हाउजिङ कोलोनी निर्माण गर्न चाहेमा ६ मिटरको बाटोबाट खोलिने प्रवेशद्वार ७ मिटरको बनाउनुपर्ने प्रावधान शहरी विकास मापदण्ड २०६४ मै तोकिएको छ। त्यस्तै प्रवेशद्वारबाट सुरू हुने मूल बाटो ५ मिटरको र सहायक बाटाहरु ४ मिटरका बनाउनुपर्ने मापदण्डलाई पनि कायम राखिएको छ। यो मस्यौदा तयार भएपछि आवश्यक सुझावको लागि सरकारको ४० वटा निकायमा पठाइसकेएको छ। तर, सबै निकायबाट अहिलेसम्म सुझाब नआईसकेको तिवारीले जानकारी दिए।
Comments are closed.