घुम्न आएका नेदरल्याण्डी जोडी, जस्ले नेपाललाई नै सर्वोपरी सम्झिए

बैशाख १७ गतेrahat-nedarland2 (1)
१५ दिनअघि नेपाल घुम्न आएका नेदरल्याण्डका ओटेस सेन्डेन र उनका श्रीमान डेनिश भान नेपालमा यति ठूलो विपत्ति आईपर्छ भन्ने थाहा पाएको भए सायद नेपाल आउने थिएनन् होला ।
जागिरे जीवनको दौरान बर्षको कहिलेकाहीँ हुने छुट्टी सधैं नेदरल्याण्डमै बिताउँदा उनीहरु वाक्क भैसकेका थिए । एउटा निजी संस्थामा काम गर्ने उनीहरुले नेपाल र यहाँको प्राकृतिक सुन्दरताको वर्णन धेरै पहिलेदेखि सुन्दै आएका थिए । हुन त नेदरल्याण्डका धेरै नागरिकलाई अझैपनि नेपाल भन्ने देश छ भन्ने थाहा छैन । तर इन्टरनेटबाटै नेपालबारे सुनेका र बुझेका यो जोडिलाई कसैले पनि नेपालको परिचय दिईरहनु परेन ।
नेपालको धर्तीमा टेक्ने अवसर नपाएपनि फुर्सद हुनासाथ उनीहरु गुगल र अन्य सामाजिक सञ्जालमा नेपालकै बारेमा खोज्थे । यहीँका साँस्कृतिक धरोहर र प्राकृतिक सम्पदाको बारेमा पढेर दङ्ग पर्थे । ‘स्वर्गको टुक्रा नेपाल’ भनेर इन्टरनेट र सामाजिक सञ्जालमा पढिरहँदा कहिले नेपाल पुगुँ र नजिकबाट नेपाललाई बुझुँ भन्ने हुटहुटीले पिरोलिरहन्थ्यो, उनीहरुलाई ।
हुन त विश्वका धेरै देशमा नेपाललाई गरिब, युद्धले आक्रान्त परेको देश, अशिक्षित जनता र विकासमा पछि परेको देश भनेर चिन्छन् । तर उनीहरुले नेपाललाई हेर्ने दृष्टिकोण त्यती धेरै नकारात्मक भने थिएन । विकास र युद्ध भन्दापनि यहाँको प्राकृतिक सुन्दरताले नै लोभिएको थियो यो जोडी ।
यसबर्षको अप्रिलमा लामै छुट्टी मिल्यो । नेपाल आउनका लागि प्रक्रिया पनि सुरु गरे । भिसा पनि लागिहाल्यो । अनि बन्दोबस्तीका सामान र घुम्नका लागि चाहिने पैसा बोकेर नेदरल्याण्डबाट उडे काठमाडौंका लागि ।

rahat-nedarland1
आफ्नो देशबाट उड्दा जे सोचेका थिए, ठ्याक्कै त्यही त्यस्तै अनुभूति त गर्न पाएनन् काठमाडौं उत्रिनासाथ । नयाँ ठाउँको परिवेश र थकानका कारण त्यो रात होटलमै बित्यो । भोलीपल्ट काठमाडौंका केही ठाउँ घुमेपछि, उनीहरुले इन्टरनेटमा पढेका धेरै कुराले मेल खाए ।
काठमाडौं घुमेपछि, पोखरा छुटाउने कुरै थिएन । फेवातालमाथी प्याराग्लाईडिङ्गमा उड्ने सपना उहीँबाट सजिएर आएको थियो । काठमाडौंमा करिब एक साता बिताएपछि, पोखरा आए उनीहरु । केही ठाउँ घुमे पनि । प्याराग्लाईडिङ्गमा उड्ने चाँजोपाँजो मिल्दै थियो ।
भूकम्प आउने दिन उनीहरु लेकसाईडमै थिए ।
“त्यती लामो समयसम्मको धक्का हामीले हाम्रो देशमा पनि कहिल्यै अनुभव गरेका थिएनौं ।” डेनिश भन्छन्– “सायद अन्तिम दिन नै त्यही थियो की जस्तो लागिरहेको थियो, मलाई त ।”
फेसबुक र ट्वीटर हेरेपछि मात्रै त्यो भूकम्पले नेपालमा धेरै जनधनको क्षति भएको थाहा पाएको उनले बताए । सुरुको दिन केही घरहरु भत्किएको र काठमाडौंमा केही मानिसहरु मरेको थाहा पाएपनि दोश्रो र तेश्रो दिनमा हजारौंले ज्यान गुमाएको खबर सुन्नुपर्यो ।
त्यसपछि, उनले आफ्नो देशमा फोन गरेर यहाँको विपत्तिमा जति सकिन्छ त्यती सहयोग गर्न परिवार र साथीभाईलाई आग्रह गरे । प्याराग्लाईडिङ्ग उड्ने र अरु धेरै ठाउँ घुम्ने सपना त बाँकी नै थियो । यति सुन्दर देश ठूलो विपत्तिले रोईरहेका बेला प्याराग्लाईडिङ्ग गर्न र रमाईलो गरेर घुम्न मन लागेन । बरु त्यो पैसाले थोरै थोरै गरी चामल, लत्ताकपडा, पानी, ओढ्ने पाल, भाँडाकुँडा, औषधि लगायतका सामग्रि किन्न थाले । घुम्न आउँदा अड्कलेर ल्याएको पैसाले भूकम्प पीडितका लागि किनेको सामान करिब चार ट्रक पुगिसकेछ ।
त्यो सबै सामग्री उनीहरुले पहिलो दिन बुधबार गोरखा लगेर वितरण गरे ।
भूकम्प पीडितलाई सहयोग गर्ने ईच्छा देखाएपछि, यो जोडिलाई प्राकृतिक श्रोत संरक्षण परिषद (एनआरडिसी) नामक संस्थाले पनि साथ दियो । एनआरडिसीका सचिव समेत रहेका विशाल वरुवालले राहत संकलनमा संयोजकको भूमिका निभाएपछि, राहतको ओईरो नै लाग्न थाल्यो ।
साथसाथै नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजका केही विद्यार्थी, पोखरा यूनाईटेड कास्की लगायतका संघसंस्था पनि मिसिए ।
नेदरल्याण्डबाट परिवार तथा आफन्तले पठाएको रकम र पोखराका विभिन्न संघसंस्थाले सहयोग गरेको रकमले दोश्रो दिन बिहीबार पनि उत्तिकै सामग्रि तनहुँको पुर्कोटमा लगेर वितरण गरे । अब शुक्रबार त्यती नै सामग्रि लिएर धादिङ्ग पुग्ने योजना छ उनीहरुको ।
“नेपालको सुन्दरताले नै हामीलाई यहाँसम्म डोर्याएर ल्यायो ।” डेनिश भन्छन्– “यही देशमा यती ठूलो विपत्ति आईपर्यो, हामीलाई घुम्न मन लागेन । बरु भूकम्पले घरबारविहीन भएकाहरुलाई सहयोग गरौं भन्ने विचार आयो । त्यही भएर सहयोग गरेका हौं ।”

Comments are closed.