पोखरा २६ जेठ ,
पोखराको प्राइम बचत तथा ऋण सहकारी संस्थाले घ्यूकुमारी उद्योग संञ्चालनमा ल्याएको छ । आर्थिक कारोबार मात्र गर्दै आएको सहकारीले उत्पादनमूलक उद्याेगमा पनि लगानी बढाएको हो । सहकारीले पोखराको लामाचौरमा सञ्चालनमा ल्याएको घ्यूकुमारी उद्योगबाट अहिले घ्यूकुमारीका जुसहरु उत्पादन भैरहेका छन् । उद्योगमा करिव एक करोड लगानी भएको सहकारीले जनाएको छ ।
‘सहकारीले उत्पादन क्षेत्रमा पनि लगानी बढाउनुपर्छ भन्ने हेतुले उद्योग संचालनमा ल्याएका हौं’ सहकारीका प्रवन्ध निर्देशक सुरेन्द्रमणी पौडेलले भने, ‘अहिले घ्यूकुमारीको जुस पोखरामै माग बढिरहेको छ ।’ उद्योगको जुस उत्पादन क्षमता दैनिक ३५ सय लिटर छ । ‘क्षमता बढी भए पनि बजारको मागअनुसार जुस उत्पादन गर्दै आएका छौं,’ उनले भने । उनका अनुसार अहिले दिनमा ३ सय लिटरभन्दा बढी जुस उत्पादन हुँदै आएको छ । ६० र ७० लिटर जुस पोखरामै विक्री हुन्छ । ‘बाँकी जुस काठमाडौंलगायत स्थानमा पुग्छ,’ उनले भने, ‘पोखराबाहिर डिलरमार्फत विभिन्न शहरमा हाम्रो उत्पादन पुगिरहेको छ ।’ प्रतिलिटर जुस ६ सय रुपैयाँमा विक्री भइरहेको उनले बताए ।
सहकारीले किसानलाई प्रवद्र्धन गर्ने काम पनि गरिरहेको छ । ‘हामीले किसानले उत्पादन गरेका घ्यूकुमारीका पात ल्याएर जुस बनाउने गछौं’ पौडेलले भने ‘जसका कारण किसानलाई पनि प्रोत्साहन मिलेको छ भने हामीलाई उत्साह थपिएको छ ।
सहकारीले उद्योगबाट स्याम्पू र साबुन पनि उत्पादनको तयारी गरेको छ । स्याम्पू र साबुनको उत्पादन कस्तो हुन्छ भन्ने अहिले सहकारीले परिक्षण गरिरहेको सहकारीले जनाएको छ । सहकारीले केही पछीबाट स्याम्पू र साबुन बजारमा पठाउने तयारी थालेको छ ।
एलोभेरा जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, तामाजस्ता खनिजपदार्थ तथा १८ धातु, १५ एमिनो एसिड र १२ थरीका भिटामिन पाइने भएकाले पनि यसको विक्रीमा समस्या नहुने सञ्चालकको दाबी छ । विभिन्न रोगको औषधि हुने भएकाले एलोभेरा जुसको माग बढेको पौडेलले भने ।
निक्षेप सङ्कलन र ऋण लगानी गरेर मात्र सहकारीको भविष्य राम्रो नहुने भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने काम गरेको पौडेलले बताए । उद्योगमा अहिले सात कर्मचारीले रोजगारी पाएका छन् ।
२०६६ फागुनमा स्थापना भएको सहकारीमा अहिले ५ सय २७ जना शेयर सदस्य छन् । शेयर पूँजी ४ करोड रहेको सहकारीको जगेडा कोषमा ९१ लाख रुपैयाँ छ । । निक्षेप सङ्कलन ४० करोडभन्दा बढी रहेको छ । ३८ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको उनले जानकारी दिए ।
Comments are closed.