बर्ष २०७१ नेपाली चलचित्रका लागि सुनौलो बन्न सकेन । प्रतिशतको आधारमा हेर्ने हो भने ९० प्रतिशत चलचित्र पूर्ण रुपमा असफल भए । तर, पनि निर्माताहरुले लगानी गर्न छाडेनन् । नेपाली चलचित्रका लागि बर्ष ०७१ सुखद बन्न नसके पनि निराशाजनक पनि बनेन । बर्षको अन्त्यमा प्रदर्शनमा आएका दुई चलचित्र ‘नाई नभन्नु ल ३’ र ‘हवल्दार सुन्तली’को व्यापारले चलचित्रकर्मीमा आशा जगाइदियो । जसले बर्षमा एउटा पनि सफल चलचित्र दिन नसकेका कलाकारहरुलाई पनि केही राहत पुर्याइदियो । अर्कोतिर, चलचित्र क्षेत्रमा फेरि एकपटक दर्शक हलसम्म आउँछन् है भन्ने वातावरण तयार भएको छ । अघिल्लो बर्ष प्रदर्शनमा आएका करिब ८५ चलचित्र मध्ये १० वटा चलचित्र सफल भए । केही नायिकाहरु बर्षभर विभिन्न कारणले चर्चामा रहे । चलचित्रको व्यापार कमजोर हुने नायिकाको अभिनयले तारिफ पायो त, व्यापार राम्रो हुने नायिकाको अभिनय खासै चम्किएन । अघिल्लो बर्ष केही फिल्मी नायकहरुलाई निकै फलिफाप भयो । फिल्मले लगानी उठाउन नसके पनि उनीहरुले काम पाइराखे, राम्रै आम्दनी गरे र बर्षभरी चर्चामा रहे ।
उत्कृष्ट पाँच नायिका
१. प्रियंका कार्कीः यो बर्ष नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक व्यस्त बनिन्, नायिका प्रियंका कार्की । यो बर्ष उनले राम्रा ब्यानरका चलचित्रमा काम गरिन्, जुन अर्को बर्ष प्रदर्शनमा आउँदैछन् । यो बर्ष प्रियंकाले अभिनय गरेको एउटा मात्र चलचित्र चल्यो, ‘नाई नभन्नु ल ३’ । यी बाहेक उनले अभिनय गरेका ‘मेरो बेष्ट फ्रेन्ड’, ‘आवरण’, ‘पुन्टे परेड’(विशेष भूमिका), श्री ५ अम्बरे (आइटम गीत), मिसन पैसा २ (आइटम गीत), ‘सुन्तली’, ‘माला’, ‘षडङ्ग’ चलचित्र असफल बने । तर, ‘सुन्तली’ र ‘माला’मा प्रियंकाको अभिनयको खुबै तारिफ भयो । यस्तै, प्रियंका कार्की यो बर्ष राम्रो आइटम गर्लको रुपमा पनि परिचित भइन् । संचारमाध्यममा प्रियंका बर्षभरि नै छाइरहिन् । अन्तरराष्ट्रिय कार्यक्रमदेखि नेपालमा आयोजना गरिने कार्यक्रममा उनको माग बढ्यो । यस्तै, फेसबुकमा उनलाई पछ्याउनेको संख्या पनि यसै बर्ष लाख नाघ्यो
२. रेखा थापाः
रेखा थापा नेपाली चलचित्र क्षेत्रकी एक सुपरस्टार हुन् । यो बर्ष आफ्नो र बाहिरी ब्यानर गरेर ३ वटा चलचित्रमा काम गरिन् । जसमध्ये, उनकै ब्यानरको मात्र चलचित्र ‘हिम्मतवाली’ले व्यापार राम्रो गर्यो । ‘तथास्तु र दमदार’को व्यापार औषत देखियो । रेखालाई हेर्न दर्शक हलसम्म ओइरिए तर, रेखाको कामको प्रशंसा भने खासै सुनिएन । अभिनय भन्दा पनि अन्य कारण उनी बर्षभर चर्चामा रहिन् । रेखा थापा आफैं निर्देशक बनिन् । फेसबुक लाइक पेजका आधारमा रेखा थापा नेपालकै सर्वाधिक चर्चित सेलिब्रेटी मानिन्छिन् । उनको पेजमा करिव १३ लाख फ्यानले लाइक गरेका छन् । रेखाले बलात्कारको शिकार बनेका दुई पूजालाई भेटेर चलचित्रमा अभिनय गराउने घोषणा गरिन् भने सामाजिक कार्यमा पनि उनी अगाडि देखिइन् ।
३. केकी अधिकारीः
केकी अधिकारी नेपाली चलचित्र र म्यूजिक भिडियोमा जमेकी नायिका हुन् । उनले अभिनय गरेका ५ चलचित्र यो बर्ष प्रदर्शनमा आए । तर, ५ वटै चलचित्रको व्यापार चित्तबुझ्दो छैन् । केकी अधिकारीको चलचित्रले व्यापार नगरे पनि उनको कामलाई भने रुचाइयो । केकीले अभिनय गरेका ‘मेरो बेष्ट फ्रेन्ड, माई प्रमिस, ठूलो मान्छे, श्री ५ अम्बरे र पूनर्जन्म यो बर्ष प्रदर्शनमा आएका चलचित्र हुन् । जसमध्ये ‘पूनर्जन्म’ ले मुश्किलले लगानी उठाउनु बाहेक अरुले हावा खाए । केकी अधिकारी यो बर्ष सोसल मिडियामा चचित रहिन् । उनलाई यूवापुस्ताले आइडलको रुपमा पनि लिन्छन् । केकी अधिकारीले सामाजिक संजालमा लेख्ने स्टाटस र उनका फ्यानले दिने प्रतिक्रिया गजबकै छन् । चलचित्रको व्यापार असफल भए पनि केकीले नयाँ नयाँ काम पाइरहेकी छिन् ।
४. नम्रता श्रेष्ठः
नम्रता श्रेष्ठका लागि बर्ष २०७१ सामान्य रह्यो । उनले अभिनय गरेको चलचित्र ‘नोभेम्बर रेन’ बर्षको सुरुवातमै सफल बन्यो । जसका कारण पनि नम्रतालाई दर्शकले लभस्टोरी चलचित्रमा रुचाए । तर, उनले बिचमा केही बाटो बिगारिन् । यसैले उनले अभिनय गरेका ‘ताण्डव’, ‘सोल सिस्टर’ र ‘संवोधन’ असफल बने । नम्रता र ‘ताण्डव’ का कलाकार आशिष राना ‘लाहुरे’ को प्रेमले चर्चा पायो । अर्कोतिर प्रेमी प्रेम घलेसँग छुटेका र जोडिएका समाचारले पनि उनलाई चर्चामा ल्याइदियो । नम्रता श्रेष्ठ ब्रान्ड बजारमा पनि आफूलाई स्थापित गराएकी नायिका हुन् । ब्राण्ड इन्डोर्समेन्टमा पनि नम्रता अब्बल छिन् ।
५. नीता ढुंगानाः
यो बर्ष नीता ढुंगानाको एउटा मात्र चलचित्र प्रदर्शनमा आयो । ‘भुल भूलैया’को व्यापारले नायिका ढुंगानालाई खुशी दियो । यी बाहेक नीता यो बर्ष आधा दर्जन चलचित्रमा अभिनय गर्न व्यस्त बनिन् । प्रेमी आमेष भण्डारीसँगको अफेयरलाई आफैले सार्वजनिक गरिदिएपछि उनी मिडियामा छाइन् । थुप्रै ठाउँमा उनले प्रेमीसँग फोटोससन र अन्तरवार्ता गरिन् । नीताले अभिनय गरेका केही आशातित चलचित्र अर्को बर्ष प्रदर्शनमा आउँदैछन् । अभिनय र नृत्यका हिसाबले पनि नीता ढुंगानाको कामको तारिफ भएको पाइन्छ । बर्षभरि विभिन्न कारणले चर्चामा रहेकी नीतालाई संचारमाध्यममा पनि राम्रै प्रभाव भएकी नायिकाको रुपमा चिनिन्छ ।
उत्कृष्ट पाँच नायक
१. आर्यन सिग्देलः
बर्ष २०७१ मा सर्वाधिक गाली र ताली पाउने नायक हुन्, आर्यन सिग्देल । चलचित्र सफलता र असफलताले आर्यनलाई चर्चामा ल्याइदियो । बर्षको सुरुवातमै प्रेमिका सपना भण्डारीसँग बिहे गरेपछि आर्यनको भाग्य चम्केजस्तै भयो । उनले अभिनय गरेको चलचित्र ‘नोभेम्बर रेन’ ले बक्स अफिसमा राम्रो कमाई गर्यो । अर्को फिल्म ‘लज्जा’ पनि अपेक्षाकृत राम्रै चलेपछि उनलाई फिल्म लिन चाहने निर्माता निर्देशकको लाइन बढ्न थाल्यो । उनले एक्सन गरेका दुई चलचित्र ‘नाईके र ‘अलबिदा’ असफल भएपनि उनलाई केही परक परेन । चलचित्र ‘माला’ पनि व्यवसायिक रुपमा असफल रह्यो । अर्को फिल्म ‘पूनर्जन्म’ ले लगानी उठाउन मात्र सक्यो । आर्यन सिग्देललाई निर्देशक विकास आचार्यले पत्याए र ‘नाई नभन्नु ल ३’ मा खेलाए । यो चलचित्रले २ दिनमा बम्पर व्यापार गरेपछि आर्यन सिग्देलको भाग्य यो बर्ष चम्कियो । निर्माताका लागि आर्यन नेपाली चलचित्रको एक मात्र नायकको रुपमा देखिए । ‘चलेपनि आर्यन, नचलेपनि आर्यन’ को अवस्था आयो । खुट्टाको अप्रेशनपछि आर्यन केही समय बेड रेस्टमा बसे, तर निर्माताले उनलाई १ बर्षसम्म कुर्न तयार भए ।
२. दयाहाङ राईः
नायक भन्दा पनि अभिनेताको रुपमा चचिर्च कलाकार दयाहाङ राइलाई दर्शकले बर्षको सुरुवातमै साथ दिए । उनले अभिनय गरेको चलचित्र ‘कबड्डी’ मल्टिप्लेक्समा खुबै चल्यो । सिंगल थिएटरदेखि मल्टिप्लेक्ससम्म रुचाइने कलाकार बने दया । अघिल्लो बर्ष दयाले अभिनय गरेका ‘नागबेली’, ‘टलकजंग भर्सेस टुल्के’ र ‘सम्बोधन’ सफल हुन सकेनन् । तर, पनि दयाहाङलाई कामले पछ्याइरहयो । यो बर्ष दयाहाङको हातमा प्रशस्त चलचित्र आए, जुन आउँदो बर्ष प्रदर्शनमा आउनेछन् । नेपाली चलचित्र क्षेत्रमा दयाहाङलाई दमदार अभिनय गर्ने कलाकारको रुपमा लिइन्छ ।
३. जीवन लुइँटेलः
गतबर्ष र योबर्ष पनि जीवन लुइँटेल अभिनित चलचित्रले बक्स अफिसमा धुम मच्चाउन सकेनन् । बर्षको अन्त्यमा प्रदर्शनमा आएको चलचित्र ‘भुल भूलैया’को सुखद ओपनिङले जीवनलाई राहत दियो । उनले अभिनय गरेका चलचित्रहरु ‘शिशा’, ‘ठूली’, ‘स्टूपिड मन’ले व्यापारिक सफलता हासिल गर्न सकेनन् । तर, जीवनको माग चलचित्र क्षेत्रमा घटेको छैन । यो बर्ष उनी २ पटक अमेरिका पुगे । अमेरिकाका विभिन्न शहरमा जीवन अभिनित ३ चलचित्र प्रदर्शनमा आए, जुन यसअघि कुनै नायकको आएका थिएनन् । चलचित्र खासै नचले पनि जीवनको व्यस्तता कम भएन । उनी अर्को बर्ष पनि नेपाली चलचित्रको बजारमा छाउने देखिन्छ । कहिले अमेरिका यात्रा र ग्रिनकार्ड अप्लाईको प्रसंग, कहिले एप्समार्फत जोडिएको फ्यानसँगको सम्बन्ध त कहिले सामाजिक संजालमा उनको सक्रियता ।
४. अनमोल केसीः नायक भुवन केसीका छोरा अनमोल केसीलाई नेपाली चलचित्रमा उदाउँदो सुपरस्टारको रुपमा हेरिएको छ । गतबर्ष चलचित्र ‘होस्टेल’ सफल भएपछि अनमोलको उचाई बढेको हो । अघिल्लो बर्ष चल्ने कम चलचित्रको सूचीमा अनमोलको ‘जेरी’ अगाडि आउँछ । अघिल्लो बर्ष उनको एउटा मात्र चलचित्र प्रदर्शनमा आयो, जसलाई हेर्न दर्शक हलमा ओइरिए । अनमोलको फ्यान पेजमा फलोअरको संख्या ह्वात्तै बढेको छ । अनमोल नेपाली नायकहरुमा सवैभन्दा धेरै फेसबुकमा फ्यान भएका कलाकार हुन् । यो बर्ष उनी र ‘जेरी’ नायिका आना शर्माको प्रेम प्रसंगले पनि चर्चा पायो । उनले कुन चलचित्र साइन गर्छन् र कुनबाट ब्याक हुन्छन जस्ता सानातिना खबरले पनि पाठकको ध्यान तान्ने गरेको छ ।
५. सौगात मल्लः
सौगात मल्ल अभिनयका हिसाबले नेपाली फिल्म उद्योगमा निकै वजनदार नाम बनिसक्यो । उनले जति पनि चलचित्रमा काम गर्छन्, जुन जुन भूमिका गर्छन, ती सबै समकालिन नेपाली समाजमा राम्रैसँग स्थापित भइदिन्छन् । यो बर्ष उनले ‘मुखौटा’, ‘श्री ५ अम्बरे’ र ‘षडङ्ग’ बक्स अफिसमा सर्वा्धिक असफल चलचित्र हुन् । तर, यी ३ वटै चलचित्रमा उनले गरेको कामको खुबै चर्चा भयो, अर्थात फिल्म असफल भए पनि सौगात सधै सफल रहे । चलचित्र ‘षडङ्ग’बाट सौगातले ‘कालु’ नामक पात्र जन्माएका छन् । नेपाली चलचित्रमा पात्रमा भिजेर अभिनय गर्ने कलाकार सौगात जस्तो सायदै अरु होलान् ।
Comments are closed.