चाडवाडको मुखमा अभाव र सास्ती

पोखरा १३ असोज
‘चाडवाड नजिकियो, यतिबेला मनमा उमङ्ग हुनुपर्ने हो तर मनमा शान्ति छैन’, पोखरा रामबजारका राजु गुरुङले भने, ‘घरमा ग्याँस सकियो, ग्याँस पाईएको छैन् । खाद्यान्यको भाउ आकाशियो कसरी मनाउने भन्ने चिन्ताले पिरलेको छ ।’ नेपालको सिमा नाका बन्दका कारण देखाउँदै बजारमा ग्याँस, पेट्रोलियम पदार्थको अभाव तथा आकाशिएको खाद्यन्यको मूल्यले राजु गुरुङ जस्तै धेरैको चैन हराएको छ ।
‘चाडवाडका लागि धेरै सामानको जोहा गर्नुछ, तर बजारमा सामान छोईसक्नु छैन्’, पोखरा नयाँ बजारका राम बहादुर थापाले भने, ‘पैसा भएर मात्रै पनि सबै आवश्यकताको पूर्ति कसरी हुँदो रहेछ र ? यस पटकको दशैं रमाइलो होला जस्तो छैन ।’ तरपनि त्यतिन्जेलसम्म अवस्था सामान्य हुन सक्नेमा उनी आशाबादी छन् । बजारमा यस्तै अभाव र महङ्गी बढ्दै जाने हो भने भयावह अवस्था आवनसक्ने भन्दै उनी चिन्ता व्यक्त गर्छन् । तराई बन्दका कारण थापा र गुरुङ जस्ता सर्वसाधरणहरुलाई मात्रै होइन पोखराका उद्योग, व्यवसायहरुसमेत धरासायी अवस्थामा पुगेका छन् ।

बन्दकै कारण कच्चा पदार्थ नपाएपछि पोखराको औद्योगिक क्षेत्रमा रहेका आधा भन्दा बढी उद्योगहरु बन्द हुने स्थितिमा पुगेका छन् । बिदेशबाट आउने कच्चा पदार्थ भन्सारमा थन्किएको र यहाँ उत्पादन भएका बस्तुहरु समेत निर्यात गर्न नपाउँदा उद्योग बन्द हुन लागेका हुन् । बिशेषगरी चाउचाउ, विस्कुट र अन्य प्याकेजिङका सामानहरु उत्पादन गर्ने उद्योगहरुलाई समेत समस्या परेको छ । तराई बन्दका कारण धेरै सामान आउन नसकेको तथा निर्यात गर्नसमेत वाधा पुगेको गोसली प्याकेजिङका म्यानेजर दीपक श्रेष्ठले बताए ।

पोखरामा रहेका होटल, रेष्टुरेन्ट तथा लजहरुले पनि सञ्चालनमा समस्या भएको बताएका छन् । ‘ग्याँसको अभावले रेष्टुरेन्ट सञ्चालनमै समस्या आएको छ’ पोखरा चिप्लेढुङ्गामा रहेको मेलोडी क्याफे एण्ड लाउन्च बारका गणेश बसौलाले भने, ‘रेष्टुरेन्टको दिवासेवा बन्द गरेर साँझपछि मात्र संचालन गर्दैछौं ।’

पोखरा औद्योगिक क्षेत्रका उद्योगमा पनि काम घटेपछि उद्योग सञ्चालकहरुले मजदुरहरुलाई समेत कामबाट धमाधम बिदा दिन थालेका छन् । यस्तै पोखरा नुडल्स प्रालिले पनि कर्मचारीहरुलाई घरविदा दिसकेको छ । कच्चा पदार्थ पूर्ण रुपमा तराईमा आश्रित हुने र आयात नभएका कारण उद्योग बन्द हुन लागेपछि केही उद्योगका कर्मचारी बाहेक बजार र अन्य क्षेत्रका कर्मचारीलाई घर पठाएको कम्पनीका सेल्स प्रमुख शुक्रराज शर्माले जानकारी दिए ।

कच्चा पदार्थको अभावका कारण हिमश्री फुड्स प्रालिले उत्पादन गर्ने चाउचाउहरु उत्पादन हुन छाडिसकेका छन् । यस्तै अन्य धेरै कम्पनीहरु बन्द भैसकेका शर्माले जानकारी दिए । धेरै उद्योगहरु बन्द भैसके, उनी भन्छन् ‘धेरै सामान भएकाहरुले पनि आईतबारसम्म मात्रै उद्योग चलाउन सक्छन्, त्यसपछि बन्द हुन्छ ।’ करिब ५ सय रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा ७० भन्दा बढी उद्योगहरु छन् । तिमध्ये चाउचाउ, विस्कुट र अन्य खाद्य उद्योगहरु आधाभन्दा बढी बन्द भैसकेका छन् । यता जोरविजोरका आधारमा सवारी साधन चलाउन सरकारले निर्देशन दिएपछि पोखरामा पनि सवारीसाधन कम चलेका छन् । यस्तै अभाव र महङ्गीबाट बच्नका लागि यसको विकल्पहरु खोजेर उपयोग गर्नुपर्ने देखिएको छ ।

Comments are closed.