चालकका हत्यारालाई कार्वाहीको माग

Suresh-Chaudhariपोखरा, १९ असार/ कास्कीको लेखनाथमा भीरबाट धकेलेर हत्या गरिएका स्काभेटर चालक सुरेश चौधरीको हत्यामा संलग्नलाई हदैसम्मको कार्वाही गर्न चालकहरुले माग गरेका छन् । यही असार १४ गते लेखनाथ नगरपालिका वडा नम्बर १७ भरतपोखरीस्थित सिप्लेरी तरामा स्थानीय युवाहरुले दादागिरी देखाउँदै स्काभेटर चालक चौधरीको हत्या गरेपछि, नेपाल हेभी इक्वीपमेन्ट्स अपरेटर संघ बुटवलले हत्याराहरुलाई कार्वाही गर्न माग गरेको हो । एउटै पेशामा आबद्ध सहकर्मीको गुण्डागर्दीको शैलीमा विनाकारण हत्या भएपछि सम्पूर्ण चालकहरु असुरक्षित बनेको महसुस गरिएको संघका अध्यक्ष शिवप्रसाद न्यौपानेले बताए ।

‘काम गरिरहेको अवस्थामा निर्दोष चालकलाई निर्मम तरिकाले कुटपिट गर्नु र भीरबाट फालेर हत्या गर्नु जघन्य अपराध भएकाले दोषीलाई यथाशीघ्र पक्राउ गरी हदैसम्मको कानुनी कारवाही हुनुप‍र्यो,’ बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘घटनाको ४ दिन बितिसक्दा पनि सबै हत्यारा पक्राउ नपर्दा असुरक्षाको महसुस भएको छ ।’

अध्यक्ष न्यौपानेले घटनाका दोषीलाई कार्वाहीका साथै मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन माग समेत गरेका छन् । परिवारमा कमाएर खानदिने जवान चौधरीको हत्या भएपछि उनको परिवार शोकमा डुबेको छ । मृतककी आमा ४५ वर्षीया महारानी थारुले छोराको मृत्युले आफ्नो परिवारमा ठूलो बज्रपात भएको भन्दै दोषिलाई हदैसम्मको कार्वाही हुनुपर्ने माग गरिन् । चौधरीलाई भीरबाट धकेलेर हत्या गरेको आरोपमा कास्की प्रहरीले लेखनाथको रिठेपानीका ३१ बर्षीय दिपक मल्ललाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाएको छ । घटनामा संलग्न अन्य दुई युवाको भने खोजी भैरहेको प्रहरीले बताएको छ ।

भरतपोखरीको पशुपति घाटसम्म सडक खन्ने जिम्मा आफुहरुले पाउनुपर्ने भन्दै स्थानीय दिपक मल्लको समूह तथा श्रीधर पौडेल र महेश अर्यालको समूहबीच विवाद थियो । मल्लको समूहले सडक खन्नको लागि ल्याएको स्काभेटरलाई काम गर्न नदिईएपछि पौडेल र अर्यालको समूहले अर्को स्काभेटर ल्याएर काम सुरु गरेका थिए । मल्लको समूहले सडक खन्ने जिम्मा आफुहरुले पाएको र विना अनुमति सडक खनेको भन्दै चालक चौधरीको कुटपिटपछि, भीरबाट धकेलेर हत्या गरेका थिए ।

Comments are closed.