‘चाहना मोडलिङ्ग गर्ने थियो’ समयले सुनचाँदी व्यवसायी बनाईदियो

नवराज ढुंगाना/ पोखराको मुटु महेन्द्रपुलमै अहिले उनको सुनचाँदी पसल छ । पेशा पुख्र्यौली नै हो । बुबा र हजुरबुबाले गर्दै आएको काम सानैदेखि राम्रैसँग नियालेपनि पहिले भने उनलाई यो पेशाले खासै आकर्षित गर्न सकेन । बेला, वैंश र उमेर छँदै कामको के चिन्ता ? एक्लो ज्यानलाई घरबाटै लाउन खान पुगिहाल्थ्यो, विवाह भैसकेको थिएन । कमाउन भन्दा पनि साथीहरुको हौस्याईमै लागेर बरु मोडलिङ्ग गर्ने ध्याउन्न चल्यो । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै इच्छा भएपछि, के नपुग्थ्यो र ? २०५४ सालमा क्याम्पस पढ्दापढ्दै केही गितमा मोडलिङ्ग गर्ने अवसर पनि पाए, उनले । अवसर त पाए, तर टिकिरहन समस्या भयो ।

Peshaघरबाट खानबस्न र फि तिर्नका लागि अड्कलेर पठाएको पैसाले चैन गर्न कहाँ पुग्थ्यो र ? छोराले राम्रै ठाउँमा पढोस् र केही गरोस् भन्ने चाहनाले अर्घौं कालिकाबाट बाबुआमाले ऋणधन गरेरै छोरालाई पोखरा पठाएका थिए । तर छोराको चाहना अनुसारको रकम खर्चेर उसलाई सन्तुष्ट पार्न सक्ने क्षमता पनि थिएन उनीहरुसँग । सुन खार्ने र गहना बनाउँदा आएको ज्यालाले घर परिवार धान्ने की पोखरा बसेको छोराको आवश्यकता पुरा गर्ने ? बरु पोखरामै बसेर आफ्नो खर्च आफैं धान्ने भैदियोस् भन्ने चाहना त बाबुआमालाई किन थिएन र ।
पढ्न गएको छोराले गित गाउन र नाच्नमा ध्यान दिन थालेपछि, विस्तारै बाबुआमाले घरबाट पैसा पठाउन छाडे । हुन त अहिले जस्तो जमाना उ बेला छँदा पनि थिएन । नाच्ने र गाउनेलाई मान्छेले त्यति राम्रो सोच्दैनथे । त्यही इज्जत जोगाउनकै लागि भएपनि बाबुआमाले कि त पढ् कि त बाबुबाजेको बिँडो थाम् भन्दै कर गर्न थाले । गितमा अभिनय गर्न र त्यहि अनुसारको परिवेशले समातिसकेपछि उनी न पढाईमै जोड दिन सक्थे न बाबुबाजेको पुख्र्यौली पेशालाई अँगाल्न नै ।
दिदि भिनाजुको सुनचाँदी पसल तेर्सापट्टीमै थियो । पढ्ने बगरको पिएन क्याम्पसमा भएपनि दिदि भिनाजुलाई भेटघाट गर्ने वहानामा आउजाउ चलिरहन्थ्यो । दिदिको चाहना पनि भाईले केही व्यवसाय नै गरोस् भन्ने थियो । भिनाजुले पनि त्यसैमा थपिथपाउ गरे । बाबुआमाको चाहना पनि यसैमा थियो । सबैले आफ्नै लागि केही गरोस् भनेर चाहेको चाहना एकातिर भने अर्कोतिर बुबा र हजुरबुबाले बर्षौंदेखि धान्दै आएको पेशाको बिँडो । अन्नतः फेरियो मन । परम्परागत प्रविधिबाट सुनका गरगहना बनाउँदै आएको सानैदेखि प्रत्यक्ष देख्दै आएका उनलाई यो व्यवसायमा रिझ्न बिझ्न खासै गाह्रो थिएन पनि । गर्ने आँट र चाहना भए घरपरिवारले सघाईहाल्थे । पुख्र्यौली पेशालाई धान्नुपर्छ भन्ने मन आएपछि, दिदिभिनाजुकै पसलमा केही बर्ष काम सिके ।
photoharu२०६० सालमा तेर्सापट्टीमै करिब १७ लाख रुपैयाँ जुटाएर सुनचाँदी पसल थालेका निर्मल दियाली भन्छन्– “पोखरामा अहिले सुनचाँदी व्यवसाय पहिले जस्तो छैन । सुनचाँदीको बजार अस्थिर छ । लगानी अनुसारको प्रतिफल निकाल्न गाह्रो छ अहिले ।”
आफ्नै पसल सुरु गरेको २ बर्षपछि, उनी विवाह बन्धनमा बाँधिए । केही बर्षपछि, छोरा जन्मियो । अब झन् जिम्मेवारी बढ्यो । एकातिर कसरी परिवारलाई समय दिने भन्ने चिन्ता थपियो भने अर्कोतिर फस्टाउँदै गरेको व्यवसायलाई कसरी उचाईमा पुर्याउने चिन्ता छँदै थियो । तैपनि उनले व्यवसाय सुरु गरेदेखि कहिल्यै पछाडी फर्किनुपरेन ।
व्यापार त राम्रै थियो तर सुरक्षाको हिसाबले तेर्सापट्टीभन्दा महेन्द्रपुल बढी सुरक्षित मानिएकाले २०७० सालमा उनले पसल महेन्द्रपुलमा सारे । अहिले उनको सुनचाँदी पसलमा २ करोड भन्दा बढीको लगानी छ । नेपाली र बङ्गाली गरी कालिगढसहित ७ जनालाई रोजगार दिएका छन् । कर्मचारी पाल्नका लागि मात्रै महिनाको २ लाखभन्दा बढी खर्च लाग्छ । परिवार सुखैसित पालिएका छन् । मोडलिङ्ग गर्ने रहरबाट सुरु भएको व्यवसायीक यात्रा व्यवसाय राम्रै चल्न थालेपछि अहिले सामाजिक क्षेत्रसम्म पुगेको छ ।
“मलाई विदेश जाने चाहना कहिल्यै आएन ।” उनी भन्छन्– “पुख्र्यौली पेशा पनि धानिने र देशको माया मानेजस्तो पनि हुने भएकाले यहि व्यवसाय छोड्न सकिन ।” दियाली अहिले व्यवसायीकसँगै विभिन्न सामाजिक संघसंस्थासँग पनि आबद्ध छन् । विश्वकर्मा समाज कास्कीका अध्यक्ष, सुवर्णकला समिति कास्कीका अध्यक्ष लगायत थुप्रै संघसंस्थाको नेतृत्व गरिरहेका छन् । लगानी गर्ने रकम हुँदैमा एकैपटक धेरै नै कमाउन सकिने भन्ठानेर सुनचाँदी व्यवसायमा हाम नफालिहाल्न उनी नयाँ पुस्ताका व्यवसायीलाई सुझाव दिन्छन् ।

Comments are closed.