पोखरा, २६ असार/लामखुट्टेको टोकाईबाट सर्ने डेङगु नामक रोगको जोखिम पोखरामा उच्च रहेको पाईएको छ । विगत केही बर्षयता पोखरामा लगातार डेङगु रोग सार्ने एडिज एजेप्टाई प्रजातिको लामखुट्टे तिव्र गतिमा फैलिएपछि, डेङगुको जोखिम बढेको हो ।
कास्की आफैंमा डेङगुको जोखिममा नरहेपनि डेङगुका बढी बिरामी भेटिने तराईका जिल्लाहरु चितवन, पर्सा, बारा, रौतहट लगायतबाट सिधै गाडीमार्फत् पोखरासम्म लामखुट्टे आउने भएकाले पोखरामा यस रोगको जोखिम उच्च रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल निरिक्षक यम बरालले जानकारी दिए ।
“बिशेषगरी चितवनमा बढी डेङगुका बिरामी भेटिएको पाईएको छ ।” पोखरा हटलाइनसित कुराकानी गर्दै उनले भने– “चितवन र पोखरामा अन्य ठाउँको तुलनामा बढी यातायात सम्पर्क हुने भएकाले गाडीमार्फत् नै प्रशस्तै लामखुट्टे यहाँ भित्रिन्छन् । पोखरामा अहिलेसम्म डेङगु रोग लागेका बिरामी नभेटिएपनि डेङगु सार्ने एडिज एजेप्टाई प्रजातीको लामखुट्टे प्रशस्तै भेटिएको छ । त्यसैले जोखिम उच्च छ ।”
उनले गतबर्ष पनि पोखराका विभिन्न ठाउँमा गरिएको खोजीका क्रममा डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा प्रशस्तै भेटिएको बताए ।
बरालका अनुसार बढी पानी जम्ने ठाउँ र गाडी मर्मत गर्ने वर्कशप तथा टायरहरुमा डेङ्गु सार्ने लामखुट्टे बढीमात्रामा भेटिन्छन् । कुनै ठाउँमा एक हप्तासम्म लगातार पानी जमेको छ भने त्यसमा डेङ्गु सार्ने लामखुट्टे हुर्कने सम्भावना बढी हुने उनको भनाई छ ।
गतबर्ष पोखरामा डेङ्गु रोगको जस्तै लक्षण देखिने केही बिरामीहरु भेटएपनि उनीहरुमा डेङ्गु नै लागेको हो भनेर प्रमाणित नभएको बरालले बताए । तरपनि डेङ्गु सार्ने लामखुट्टे धेरै ठाउँमा भेटिएकाले डेङ्गुका बिरामी नै नभेटिएलान् भनेर भन्न सक्ने अवस्था नरहेको उनको भनाई छ ।
यसैबीच, डेङ्गुको जोखिमलाई मध्यनजर गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले पोखरामा ‘खोज र नष्ट गर’ अभियान गर्ने भएको छ । यसका लागि यही असार २७ र २८ गते स्वयंसेविकाहरुका लागि प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
पोखराका विभिन्न ५ वटा वडामा रहेका स्वयंसेविकाहरुहरुलाई डेङ्गु रोग, रोग सर्ने तरिका, लामखुट्टेको बासस्थान पत्ता लगाउने तरिका र नष्ट गर्ने तरिका सिकाईने भेक्टर कन्ट्रोल निरिक्षक बरालले बताए ।
स्वयंसेविकाहरुलाई प्रशिक्षणपछि घरदैलो गरेर पानी जम्ने तथा फोहोर ठाउँको सरसरफाई गरी लामखुट्टेको बासस्थान र फूल तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरिनेछ । हरेक वर्ष यस्तो अभियान चलाइएपनि अघिल्लो बर्ष एडिज लामखुट्टे भेटिएका घर तथा स्थानमा यसबर्ष पनि भेटिनसक्ने सम्भावना भएकाले सचेत रहन जिल्ला जनस्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ ।
यसरी बच्न सकिन्छ डेङगुबाट
-सबैभन्दा पहिले सकेसम्म लामखुट्टेको टोकाईबाटै बच्ने कोशिस गरौं
– घर वरिपरी सरसफाईमा बिशेष ध्यान दिऔं
– पानी जम्ने ठाउँ छ भने सकेसम्म पुर्ने गरौं
– गाडीको वर्कशप÷टायर राख्ने ठाउँमा नियमित सरसफाई गरौं
– साँझको समयमा लामखुट्टे बढी सक्रिय हुने भएकाले साँझ र रातीमा बढी सचेत बनौं
– घर बाहिर बस्दा सबै जीउ ढाक्ने गरी लामो कपडा लगाउने गरौं
– राती सधैं झुलको प्रयोग गरौं
– मल्हम, धूप, लिक्विड लगायत प्रयोग गरौं ।
-नवराज ढुङ्गाना
Comments are closed.