चितवन, ८ चैत । कानुन, न्याय तथा संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले चितवनलाई वैकल्पिक राजधानीका रुपमा विकास गरिनुपर्ने बताएका छन् । जिविस चितवनको स्वामित्वमा भरतपुरमा रहेको जग्गामा सहिद मञ्चको आज शिलान्यास गर्दै उनले देशकै मध्यभागमा रहेकाले चितवन त्यसका लागि उपयुक्त हुने बताएका हुन् ।
सो अवसरमा उनले विसं १९९७ सालदेखि देश र माटोका लागि आहुति दिने अमर सहिदको नाममा मञ्च निर्माण गर्नु महत्वपूर्ण कार्य भएको बताए । पाँच बिघा क्षेत्रफलमा मञ्च निर्माण गर्न लागिएको हो । सो अवसरमा स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले मञ्चका लागि मात्र रु ५४ लाख ८२ हजार ६९७ खर्च हुने र परिसरसहितको कामसमेत गर्दा करिब रु एक करोड लाग्ने जानकारी दिए ।
मञ्चसहितका सबै काम सम्पन्न गर्नका लागि शान्ति तथा पुनः निर्माण, सहरी विकास र स्थानीय विकास मन्त्रालयसँग सहयोग माग गरिएको पाण्डेले बताए । सोही ठाउँमा यसअघि सभागृह निर्माणका लागि धान्याचल महायज्ञ लगाएर शिलान्यास गरिएको भए पनि बजेट अभावमा काम भएको थिएन । रासस
Comments are closed.