- अमृत सुवेदी/
- आफैँले जन्माएका सन्तान निष्ठुरी भएपछि मागेर जीवन धान्दै आएकी लमजुङ्गकी ६५ वर्षीया पवित्रा शर्मा पोखराको पृथ्वीचोकमा भेटिइन् । उनका नजरहरु आवतजावत गर्ने गाडीका झ्यालहरुमा थिए । नियाल्छिन् झ्यालमा बस्ने यात्रुहरुलाई र सहयोगको याचना गर्छिन् । उनका हातमा कसैले झारिदिन्छन्, एकदुई रुपैयाँदेखि १० रुपैयाँ सम्मका सिक्का तथा नोट र कसैले हकारिदिन्छन् साइत विगारीदिएको निहुँमा । उनले यसरी नै जीवन धान्दै आएको ८ बर्ष भएछ । कहिले तनहुँ, कहिले पोखरा, त कहिले स्याङ्जा सम्म उनी जीवनका अन्तिमअन्तिम बसन्तहरुलाई मागेर सडकमा विताउँदै आएकी छन् । उमेरले नेटो काट्दै गएपछि बेसहारा बनेकी पवित्रा जीवन धान्न यात्रुहरुसँग सहयोग माग्ने बाटो रोजिन् । सहयोगको हात फैलाउँदै गाडी चड्ने उनलाई कहिल्यै गाडीका कर्मचारीले गलत्याउँदै बाहिर निकाल्दिन्छन् त कहिले कहाँ पु¥याएर झारीदिन्छन् उनैलाई थाहा हुँदैन ।
उनी जीवन धान्नका लागि डुलीरहन्छिन् राजमार्गहरुमा तर उनको जीवनका सुन्दर राजमार्गहरु भत्किसकेछन् । एकैछिनको कुराकानीमा उनले दुखेसो पोखिहालिन् ‘श्रीमान बितेको लामो समय भैसक्यो । ठ्याक्कै समय याद छैन । दुई छोरी र एक छोरा थिए । छोरीहरुको बिहेवारी गराइसएकी थिएँ । छोराको पनि बिहे भसकेको थियो । गाउँको जग्गाजमिन मेरै नाउँमा थियो । त्यतिबेला सम्म मलाई कुनै पीर थिएन ।’ उनले अरु थपिन्, ‘छोराले गाउँमा नबस्ने अब तराई झर्ने भनेर गाउँमा भएको जायज्याथा बेच्न लगायो । मैले पनि छोराको कुरा पत्याएँ । सबै बेचेर सुम्पिदिएँ । तराईमा बन्दोबस्त गरेर फर्कन्छु आमा भनेर गएका छोराबुहारी फर्केनन् ।’ लामै समय आफन्तहरुकोमा बसेर छोराबुहारीको बाटो हेरेकी पवित्राको आँखा थाके तर छोरा बुहारी फर्केनन् । आफ्नै सन्तानको बोझ बनेकी पवित्रा आफन्तको बोझ बन्न चाहिनन् । उनी भन्छिन्,‘मलाई न्याय कसले दिलाउन सक्थ्यो । म पागल जस्तै भएँ । कहाँ हिँडे थाहा थिएन तर म हिँडे । अहिले उनीहरुलाई सम्झन मन पनि लाग्दैन् । केही नभएको गाउँ जान मन पनि लाग्दैन् । यसरी नै दिन कटाएकी छु । अब कहाँ पुग्छु थाहा छैन । समयले जता पु¥याउँदा उतै जान्छु ।’
त्यसको केही दिन पछि पोखराको अमरसिंह चोकमा एक जना वृद्ध भेटिए । उनको नाम रहेछ नारायण शर्मा । छोरा बुहारीसहित पहिले उनीहरु पोखरामै बस्दा रहेछन् । छोराबुहारी, इष्टमित्र सबै भएपनि उनी अहिले एक्ला छन् । छोराबुहारी व्यापारका लागि भनेर घर छोडेर गएका रहेछन् । उनीहरु कहिल्यै फर्केनन् । उनी बुटवलको एक वृद्धाश्रममा बस्दा रहेछन् । छोरा बुहारी पोखरा आएकी भन्ने हेतुले उनी सुटुक्क पोखरा आएका रे । तर, उनीहरुको अत्तोपत्तो नपाएपछि उनी फेरी सोही बृद्धाश्रममा फर्कन लागेका रहेछन् । उनले भने–‘बाबुको मन छोराबुहारी माथि, उनीहरुको मन ढुङ्गा माथि भने जस्तै भयो बाबु । उनीहरुले मलाई बिर्से ।’ ८१ वर्षको उमेरसम्म जीवनका राजर्मागहरु धेरै हिडे, धेरै दौडिए तर कहिल्यै गाह्रो लागेन जति अहिले गाह्रो लागेको छ । उनी भन्छन्,‘मलाई छोराबुहारीले पालुन भन्ने छैन, एक पटक भेटेर केही सोध्नु थियो । उनीहरु ज्यँुदै छन् भन्ने सुन्छु काठमाडौंमा तर कहाँ छन् भन्ने थाहा छैन् । यो उमेरमा बृद्धाश्रमको सहारामा बस्नुपर्ने भयो ।’
घरपरिवारको अपहेलनामा परि मागेर खान बाध्य भएका जेष्ठ नागरिक तथा आफ्नै सन्तानको वेवास्थाका कारण बृद्धाश्रम पुगेका माथिका घटना त उदाहरण मात्रै हुन् । यस्ता थुपै घटनाहरु छन् जो आफ्नै सन्तानबाट ठगिएका छन् घरवाट अंश नपाएर बाहिरिनुपरेको छ । पोखराको बात्सायन बृद्धाश्रम पुग्दा त्यहाँ त्यस्तै महिला भेटिए । श्रीमान परिवार भएर पनि परिवारको अपहेलनामा परेर बृद्धाश्रम पुगेका । श्रीमान बितेपछि परिवारले दिनुपर्ने सम्पति नदिएर घरवाट निकालिदिएर माइतीघर हुँदै बृद्धाश्रम पुगेका । आफुवाट सन्तान नभएपछि श्रीमानले अर्को बिवहा गरि अपहेलित हुँदै त्यहाँ पुगेका । सन्तान लाखापाखा लागिसकेका र श्रीमानले जाँडरक्सी खाइ कुटपीट गरेपछि सहन नसकेर घर छाडेका । अनि घरपरिवारवाट विरक्त भई लामो समय धर्मशाला हुँदै बृद्धाश्रम पुगेका । उनीहरु सवैको आआफ्नै कथापीडा थिए । त्यहाँ धेरै पुरुषभन्दा महिलाहरु पीडित भेटिए तर उनीहरु न्याय खोज्ने भन्दा पनि घरै छोडेर हिड्ने सजिलो मानेको बताउँछन् ।
सडकमा माग्न बस्ने तथा बृद्धाश्रममा आश्रय लिएका धेरै जना आफन्त नभएका, छोरा बुहारीले वृद्धाश्रम र सडक छेउमा बेवारिसे अवस्थामा छाडिदिएका, भएको सम्पत्ति आफ्नो नाममा गरेर आफन्तले घरबाट निकालिदिएका र राज्यका जिम्मेवार निकायमा रहेका अमेरिका, बेलायतलगायतका देशमा बस्ने व्यक्तिका आमाबाबु रहेका छन् । आफूले कमाउन सक्ने उमेरसम्म त ठीकै हुन्छ, तर जब आफूले कमाउन नसक्ने स्थिति हुन्छ तब भने उनीहरूको जीवनमा दुःख सुरु हुने गरेको छ । सहरी क्षेत्रको तुलनामा ग्रामीण भेगका ज्येष्ठ नागरिक पूर्ण रूपमा परिवारमा नै निर्भर देखिएका छन् । आर्थिक रूपमा सबल ज्येष्ठ नागरिक मन्दिर जाने, पाठपूजाजस्ता धार्मिक कार्यमा बढी संलग्न हुने गरेका छन् भने विपन्न महिलालाई भने गाँस–बास दुवैको समस्या रहेको अनुसन्धानकर्ताहरु बताउँछन् ।
कास्कीमा जेष्ठ नागरिक तथा एकल महिलाहरुको संख्या ३ हजार ७ सय ४१ रहेको जिल्ला विकास समिति कास्कीको तत्थ्याङ्क छ । यो संख्या सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता पाएका जेष्ठ नागरिक तथा एकल महिलाको संख्या हो । तर, कति जेष्ठ नागरिक बृद्धाश्रमको आश्रयमा छन्, कति सडकमा मागेर खान बाध्य छन् र कतिले विविध कारणले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् भन्ने तत्थ्याङ्क जिविससँग छैन् । बुढेसकालका लागि राहतस्वरूप सरकारले सामाजिक सुरक्षा भत्ताअन्तर्गत ज्येष्ठ नागरिकलाई महिनाको पाँच सय रुपैयाँ उपलब्ध गराउने गर्दछ । तर, यो सामाजिक सुरक्षा भत्ताले मात्रै जेष्ठनागरिकको सुरक्षा हुने होइन । सडकमा मागेर खाने जेष्ठ नागरिकको बारेमा सरकारले अहिलेसम्म कुनै योजना बनाएको छैन् । ज्येष्ठ नागरिकले सरकारी अस्पतालमा आफूहरूलाई निःशुल्क उपचार गर्नुपर्ने र सर्वोच्च अदालतले जारी गरेको परमादेशको आदेश लागू गर्नुपर्ने लगायतका माग गरी विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् ।
श्रीमान तथा आफन्त गुमाएका, छोराबुहारीले दुःख दिएका, सडक छेउमा बेवारिसे अवस्थामा छाडिदिएका, भएको सम्पत्ति आफ्नो नाममा गरेर आफन्तले घरबाट निकालिदिएका, राज्यका जिम्मेवार निकायमा रहेका तथा अमेरिका, बेलायत लगायतका देशमा बस्ने व्यक्तिका आमाबाबु पनि कोही सडक त कोही वृद्धाश्रममा पुग्ने गरेका छन् ।
Comments are closed.