छन्दनायक एवम् महाकाव्यकार वियोगी कपिलबस्तुमा सम्मानित

पोखरा,

पोखरेली स्रष्टा छन्दायक एवम् महाकाव्यकार माधव वियोगी २०७९ सालको शिवतुलसा छन्दरथी साहित्य पुरस्कार र दधिस्मृति साहित्य सम्मानबाट सम्मानित भएका छन् ।
दधिस्मृति साहित्य समाज कपिलबस्तुद्वारा बाणगङ्गास्थित माछापुच्छ्रे होटलको सभाहलमा मङ्गलबार आयोजित एक विशेष समारोहमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थी र प्राज्ञ बुँद रानाले उक्क पुरस्कार र सम्मान प्रदान गरेका थिए ।छन्द बचाऊँ अभियान(२०५३ र महाकाव्यलेखन अभियमन (२०६० का माध्यमबाट छन्द र महाकाव्यको विस्तार र स्तरोन्निमा विशिष्ट योगदान गरेकाले छन्दनायक वियोगीलाई उक्त पुरस्कार र सम्मान प्रदान गरिएको हो ।
सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री पन्थीले स्रष्टाहरूको कदर गर्नु सबैको कर्तव्य भएको जनाउँदै छन्दको विकास प्रतिबध्द स्रष्टाको सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको जनाए । त्यस्तै गरी प्राज्ञ बुँद रानाले छन्दको खडेरी परेका बखत आफ्नो सम्पूर्ण शक्ति लगाएर अभियानमार्फत् छन्द बचाउने उत्कृष्ट र यसलाई विश्वव्यापी पार्ने कार्यमा वियोगीको उत्कृष्ट योगदान रहेको बताए । सम्मानित स्रष्टा छन्दनायक वियागीले आफूले छन्द र महाकाव्यको क्षेत्रमा गरेको योगदानको कदर भएकोमा प्रसन्नता व्यक्त गर्दै पुरस्कार र सम्मानले आगामी दिनमा अझ बढी भाषासाहित्यको सेवामा प्रतिबध्द रहन प्रेरणा प्राप्त भएको बताए । समाजका संस्थापक ऋषिकेशव भारद्वाजले स्रष्टा परिचय प्रस्तुत गरेका थिए । साहित्यकारहरू देवी पन्थी, राजेन्द्र आचार्य,बाणगङ्गा नगर प्रमुख चक्रपाणि अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने जोशिका कँडेल,आर्या त्रिपाठी, कविता अधिकारी,महाकाव्यकार छन्दिका घिमिरेले कविता वाचन गरेका थिए । सो अवसरमा साहित्यकारहरू देवी पन्थी,राजेन्द्र आचार्य,दिलिप कार्की,मोहन ज्ञवाली,पार्वता शर्मा र आसुतोष कँडेललाई पनि सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष लेखनाथ घिमिरेकोअध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन दुर्गा ज्ञवालीले गरेका थिए ।
जनप्रिय बहसमुखी क्याम्पसका पूर्व प्रमुखसमेत रहेका छन्दनायक वियोगीका ८ महाकाव्यसहित ३१ कृति प्रकाशित छन् भने उनी छन्द विश्वविद्यालय स्थापनार्थ पनि सक्रिय रहेका छन् ।

Comments are closed.