जग्गा किर्तेमा संलग्न सात जनालाई कैद र जरिवाना

मालपोत र उप–महानगरपालिकाका १४ जना कर्मचारीलाई सफाई


पोखरा, ११ बैशाख/चितवनकी शान्ता राणाको नाममा पोखराको लेकसाइडमा रहेको १४ आना जग्गा किर्ते गरी बिक्री गर्ने सात जनालाई जिल्ला अदालत कास्कीले डेढ करोड रुपैयाँ जरिवाना र कैद सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको इजलासले किर्ते गरी जग्गा बेच्नेहरुविरुद्ध यो फैसला सुनाएको हो । अदालतले अन्य व्यक्तिको नाममा पुगेको जग्गा फेरि शान्ता राणाकै नामको ठहर्ने फैसला पनि गरेको छ ।
यो काण्डमा संलग्न भएको आरोप लागेका जिल्ला मालपोत कार्यालय कास्की र पोखरा उप–महानगरपालिकाका १४ जना कर्मचारीले भने सफाई पाएका छन् ।

२०६८ साल असोज ५ गते शान्ता राणाको नागरिकता लगायतका नक्कली कागजपत्र तयारी गरी किर्ते गर्ने गिरोहले आफुहरुका नाममा जग्गा दर्ता गराई अरुलाई बिक्री गर्न सफल भएका थिए । आफू शान्ता राणा भएको भन्दै नक्कली नागरिकतासहितका कागजात बनाएर ठगीमा संलग्न भएकी नुवाकोट ककनीकी आशामाया लामाबाट वविता कार्कीका नाममा जग्गा पास भएको थियो । गिरोहले वविताबाट दाङसिङका चन्द्रबहादुर गुरुङ र पाल्पाका निर्मल गौतमलाई जग्गा बिक्री गरेका थिए । ३ करोड रुपैयाँ पर्ने अनुमान गरिएको जग्गा किनबेचमा उनीहरुले डेढ करोड रुपैयाँको कारोबार गरेका थिए ।

२१ बर्षदेखि अमेरिका बस्दै आएका भरतपुर चितवनकी शान्ता राणाले बाबु मोहनबहादुर थापाबाट २०४३ सालमा पाएको जग्गा सँधियारले मिचेको खबर सुनेर नेपाल फर्किँदा अर्कैले बेचिसकेको थाहा पाएपछि, मुद्धा दायर गरेकी थिईन् ।
कास्की जिल्ला अदालतले बिहीबार गरेको फैसला अनुसार आफू शान्ता राणा भएको भन्दै नक्कली नागरिकतासहितका कागजात बनाउने नुवाकोटकी आशामाया लामालाई ६ बर्ष कैद र ५६ लाख ७८ हजार रुपैयाँ जरिवाना सुनाईएको छ भने आशामायाकी छोरी सुष्मालाई २ महिनाको कैद र १ लाख रुपैयाँ जरिवाना सुनाइएको छ ।

यसैगरी, रामचन्द्र भण्डारीलाई ३ बर्ष कैद र ३५ लाख ६६ हजार जरिवाना, ईश्वर कार्की र पीताम्बर भण्डारीलाई १, १ बर्ष कैद र ३५ लाख ६६ हजार जरिवाना, भोजराज भण्डारी र डिल्लीराम पौडेललाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाईएको छ । ठगीमा संलग्न रहेकी आशामाया र उनकी छोरी २ वर्षदेखि नै पुर्पक्षका लागि थुनामा छन् । काठमाडौंको कालिमाटीमा तरकारी बेच्दै आएकी आशामाया लामालाई ५ लाख रुपैयाँ दिने लोभ देखाएर गिरोहले शान्ता राणा बनाई प्रयोग गरेको थियो ।

Comments are closed.