पोखरा ८ चैत । कास्कीको हेम्जामा जडिबुटीका रुपमा प्रयोग हुने निरमसी नामक वनस्पतिको धूलो मिसाईएको चाकमलको पूवा खाँदा एक दम्पत्तिको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा उप–महानगरपालिका वडा नम्बर २८ हेम्जाका ६२ बर्षिय बल बहादुर केसी र उनकी श्रीमती ५७ बर्षिय लक्ष्मी रहेका छन् । उनीहरु दुवैको उपचारको क्रममा चरक अस्पतालमा ज्यान गएको हो ।
केसी दम्पत्तीले शनिबार दिउँसो खाजाको लागि बनाईएको चामलको पूवामा निरमसी मिसाएर खाएका थिए । खाजा खाएपछि, बिरामी परेका उनीहरु मणिपाल शिक्षण अस्पताल हुँदै उपचारको लागि चरक अस्पताल पुगेका थिए । उपचारकै क्रममा दुवै जनाको एकघण्टाको फरकमा ज्यान गएको कास्की प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए ।
उपचारका क्रममा बल बहादुरले चिकित्सकलाई आफुले यहि मिसाएर पूवा खाएको भन्दै निरमसीको टुक्रा देखाएका थिए । ज्यान गुमाउने दुवै जनाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्ट पछि मात्रै के कारणले मृत्यु भएको हो भन्ने खुल्ने प्रहरीले बताएको छ ।
Comments are closed.