सन्दर्भ १७ औं स्मृति दिवश
“ऋतुहरुमा तिमी हरियाली वसन्त हौं ।” अरुण थापाद्वारा गाईएको राजेन्द्र रिजालका शव्द, राम थापाको संगीतमा रहेको यो गीत राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त गीत हो । बिबिसि वल्र्ड सर्भिसद्वारा २००३ मा सर्वेक्षण गरीएका विश्वका दश उत्कृष्ट गीत मध्य अरुण थापाले गाएको यो गीत श्रोता मतले सातौं स्थानमा रहन सफल भएको थियो ।
सुगम स्वरका धनि श्रष्टा थापालाई आम नेपालीले २०५६ साल श्रावण ५ गते वेलुका सवा ६ वजे काठमाडौंको बागवजारबाट गुमाएका हुन् । थापाको १७ औं स्मृति दिवशको मितिसम्म आउँदा उनको बारेमा सामान्य स्मृतिका कार्यक्रम गरिए पनि अझैं खोतल्नु पर्ने र उदिन्नुपर्ने हद्सम्मका कार्यक्रम गरिएको पाईन्न । एकिकृत रुपमा राज्य तथा गैर पक्षबाट त्यस्ता कार्यक्रम तय होउन् जस्ले गर्दा दिवंगत श्रष्टाको स्मृति एउटा सु–संस्कृत संस्कार भएर पुस्तौंपुस्ता हस्तान्तरण भईरहोस् । तर, उनका गीत सुन्न, सुनाउन, बजाउन, गाउन, गाउन लगाउन, चाहेको बेला सबै लागेकै छन् जसले जतिबेला चाहन्छन् । नयाँ आउनेहरुको लागि पनि अरुण श्रोत भएका छन् । उनका गीत रिमिक्स भएर पनि गाईएका छन् भने कतिले त उनकै शैलीमा र उनकै गीत गाएर मेला महोत्सव र सांगीतिक कार्यक्रमलाई पवित्र बनाउने गरेका छन् । त्यसैले होला सुगमसंगीतमा रुचि राख्ने र थापालाई नजिकबाट चिन्नेहरुले ठूलो अभाव भएको बताउँछन् । अरुण भईदिएको भए कस्तो हुन्थ्यो होला ?
थापाले गाएका केहि ओठमा झुण्डिने गीतहरुमा
जति माया लाए पनि – स्वर÷संगीत–अरुण थापा÷गीतकार –विनोद गौचन
ऋतुहरुमा तिमी – गीतकार –राजेन्द्र रीजाल-संगीत –राम थापा
म रोए पनि – गीतकार –भुषण खरेल-संगीत–अरुण थापा
चोट के व्यथा के हो – गीतकार –सुभावसचन्द्र ढुंगेल-संगीत–अरुण थापा
साँझको जुनसंगै -गीतकार किशोर गुरुङ-संगीत–अरुण थापा
यि लगाएतका अन्य उत्कृष्ट गीतहरु रहेका छन् । २०३४ सालमा पोखरेली युवा सांस्कृतिक परिवारको स्थापना गर्दा गितार लिएर पोखरामा गीत गाउँदै हिड्ने गायक अरुण थापा परिवारका संस्थापक सदस्य हुनुभएको थियो । जतिबेला कला, साहित्य र संगीतको लागि मरिमेट्ने कलाकारहरु न्यून थिए । उतिबेला पोखरामा नेपाल बैंकको क्षेत्रीय प्रवन्धक भएर आफ्नो बाबा गञ्ज थापा मगरसंगै पोखरा आउनुभएका अरुण थापा पोखराको गैह्रापाटनस्थित फिस्टेल हस्पिटल छेउमा रहेको बैंकको आवासगृहमा बस्नुहुन्थ्यो ।
शुरुका दिनमा पोखरेली युवा परिवारका वैठकहरु पनि बैँकको आबासगृहमा नै गरिन्थ्यो । भाई किरण थापासंगै गायक अरुण थापा संगीतमा निकै रचि राख्ने भएकोले एउटा साहित्य संगीतको माहौल तयार हुन्थ्यो, वरीष्ठ साहित्यकार सरुभक्त को सम्झना छ, “३० को दशकतिर पोखरामा कुनैपनि संघ, संस्थाहरु साहित्य संगीतको लागि क्रियाशिल नभएकोले त्यो अभावलाई परिपूर्ति गर्न सामूहिक सोंचले केहि गर्ने प्रण गरेर पोयुसाप खोलेका थियौं ।”
अरुण थापाले पोखरामा पहिलो पटक ३० को दशकमै पोखरेली युवा साँस्कृतिक परिवारको पनि पहिलो कार्यक्रममा गीत, संगीत प्रस्तुत गरेको साहित्यकार सरुभक्तको स्मरण छ । अरुणले त्यो सांगितिक कार्यक्रममा विनोद गौचनद्वारा रचित लोकप्रिय गीत “जति माया लाए पनि” र “यो ज्यानलाई कम्ति पीर परेन” गाएर दर्शक श्रोताको मन जित्नुभएको थियो । “जति माया लाएपनि” पोखराको चिनो भएको र राष्ट्रभरि चर्चा वटुलेकोमा कहिल्यै नबिर्सिने क्षणको रुपमा लिएको उहाँले बताउनु भयो ।
२०३५ ताका रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापि गायन प्रतियोगितामा पोखरेली युवा साँस्कृतिक परीवारले अरुणलाई रेडियो नेपालमा गीत गाउन पठाएको थियो । सरुभक्तको सम्झना छ, “अरुणले विक्रम गुरुङ पनि गीत, संगीतमा रुचि राख्ने भएकोले उनको गीत अरुणले गाए । अरुणले शुरुमा रेडियो नेपालमा रेकर्ड गराएको गीत “कतै टाढा तिमीबाट” थियो ।
नेपाल संगीत नाट्य एकेडेमीका पूर्व सदस्य सचिव, संस्कृतिकर्मी तथा साहित्यकार तीर्थ श्रेष्ठको सम्झनामा “अरुण थापा एक गर्व लाग्ने गायकको नाम हो ।” थापाको योगदान नेपाली संगीतको लागि महत्वपूर्ण रहेको, गीत गाउने कला, गीत छान्ने बानि र स्वर छुट्टै भएकोले त्यस्तो पहिचानको गायकको अभाव र प्रभाव नेपाली गायनको क्षेत्रमा लामो समयसम्म रहिरहने बताउनु हुन्छ ।
गीत छनौटमा नारायण गोपालको जस्तै बानि भएका अरुण भिन्दै खुबि भएका गायक हुन, श्रेष्ठले भन्नुभयो, “गीति चयनको लागि नारायण गोपाल पछि उनलाई लिनुपर्छ, धेरैले राम्रो गीत चयन नगर्दा चलेनन् तर अरुणले थोरै गाए, थोरै संगीत गरे तर सबै नै कालजयी गीतमा दर्ज भएका छन् ।”
“जति माया लाए पनि” शिर्षक गीत अरुण थापाको लागि र गीतकार विनोद गौचनको लागि जीन्दगीको माईलस्टोन गीत बन्यो । “एक दिन फेवातालतिर बरालिएर साँझपख पोखराको बगरस्थित कोठामा अरुण र आफु बसेको बेला अरुणले गीतार बजाई रहँदा गीत लेखेको र तत्काल अरुणले धून बनाएर सुनाएको गौचनले यो पंक्तिकारलाई अलविदा हुन पहिलेका भेटमा बताउनुहुन्थ्यो ।
यसैबिच, गायक अरुण थापाको स्मृतिमा श्रावन ५ को दिन पोखरामा पोखरेली युवा सांस्कृतिक परिवारले अरुण थापासँगका संस्मरणहरु तथा अरुण थापाका लोकप्रीय गीतहरुको गायनको कार्यक्रम आयोजना गर्नु सुयोग हो । अध्यक्ष सुरेश रानाभाट लगायतका मित्रहरु जस्तै अरु पनि जागे नहुने के छ र यो भूमिमा । यस्तो प्रयास र निरन्तरताले नेपाली कला, साहित्य र संगीतले दीर्घ जीवन पाउने ल्याकत पक्कै पनि राख्छ, जय होस् नेपाली संगीतको ।
Comments are closed.