
पोखरा, ४ साउन/ नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानको मस्यौदामाथि जनमत सङ्कलनको कार्य कर्मकाण्डी मात्रै भएको बताएका छन् । उनले यति हतारमा जनमत संकलनका गर्न नहुने कुरामा जोड दिएका छन् ।
पोखरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सोमबार र मंगलबार जनमत सङ्कलन गरेर यही साउन ७ गते नै संविधानसभामा बुझाउने कार्य एकदमै हतारो र अव्यावहारिक हुने बताएका हुन् । केही समय लगाएर भएपनि जनमतबाट आएका सुझावको अध्ययन गरी संविधानसभामा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो ।
“संविधान निर्माणको प्रक्रिया पूरा गर्याैँ भन्ने मात्र होइन, यस्तो प्रक्रिया वास्तविक र स्वाभाविक ढङ्गबाट पूरा हुनुपर्छ, ‘फास्ट ट्र्याक’को नाममा देखावटी र अस्वाभाविक रुपमा काम गर्नुहुँदैन” – उपसभापति पौडेलले भने । उनले जनताका सुझावलाई महत्व दिएर त्यसका आधारमा मस्यौदामा परिमार्जन गरेर संविधान जारी गर्नुपर्ने बताए । सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उपसभापति पौडेलले भने– “मस्यौदामाथि जनताले दिने सुझावलाई मस्यौदामा समावेश गरिनुपर्छ, जनताको सुझावलाई केलाउन हतार गर्न हुन्न, महत्वका साथ लिनुपर्छ ।”
हतारमा कर्मकाण्डीका रुपमा जनतासम्म पुगियो भन्नका लागि मात्रै भएको सुझाव संकलनले कुनै अर्थ नराख्ने बरु यसले जनतालाई झुक्याउने काम गर्ने बताएका छन् ।
Comments are closed.