जरा हट्के हटलाइन

Keshav Sharan Lamichhane
केशवशरण लामिछाने

पोखरा हटलाइनलाई पोखराको पत्रकारितामा म दुई कारण महत्वपूर्ण ठान्छु । त्यसमध्येको एउटा मेरो आफ्नै व्यक्तिगत कारण हो । म आफू म हुँदैनथें होला पोखरा हटलाइन नभएको भए । मान्छेको विविध परिचय र पहिचान हुन्छन् नै तर, मूल अस्तित्व उसको कर्मसँग जोडिएर आउँछ । एउटा पत्रकारका रुपमा आज म जे जति छु, त्यसको श्रेयको पहिलो हकदार अरु कोही नभएर यही पत्रिका हो । यही पत्रिकाले मलाई पत्रकारका रुपमा जन्म दिएको हो । खोला जति सुके बगेर जहाँ जाओस्, मुहानसँग त्यसले सम्बन्ध तोड्छु भन्ने ठान्यो भने, जसरी उसकै अस्तित्वसँगको नाता तोडिन्छ, त्यस्तै हो भन्ठान्छु म र पोखरा हटलाइनको सम्बन्ध ।

खास भन्ने हो भने म आफूलाई त्यस्तो ‘केही’ हुँ भन्ने पनि ठान्दिन । अध्यात्मवादीहरुले भन्ने गरे झैं तिमी पेसाका हिसाबले वा नाताका हिसाबले जे हुँ भनेर आफूलाई ठान्छौं त्यो भ्रम हो भन्ने पनि मलाई लाग्दैन । मान्छे खासमा एक आत्मा हो भन्नेसम्मको आध्यात्मिक गहिराईमा जाने धृष्टता गर्ने सामथ्र्य पनि म राख्दिन । अध्यात्ममा रुचि र आकर्षण पनि छ तर, म थोरबहुत भौतिकवादी हुँ त्यसैले कर्मले बनाएको अस्तित्वलाई स्वीकार्छु । पोखरा हटलाइनका संस्मरणपत्रहरु खोतल्न बस्दा मैले आफ्नो जननीका रुपमा सम्झनु नै पहिलो कर्तव्य सम्झें ।

अर्काे महत्वपूर्ण कारण भनेको यसको पत्रकारिता नै हो । पोखराको पत्रिकारिताको इतिहासको मात्रै कुरा गर्दा ५० वर्षभन्दा अगाडिको समयमा जान्छौं हामी तर, मिसनकाल छाडेर व्यावसायिक समय सुरु भएपछिको कुरा गर्ने हो भने पोखरा हटलाइनलाई जेठो पुस्ताको पत्रिका मान्नुपर्छ । पहिला साप्ताहिक रुपमा निस्केको पत्रिका २०५७ साल वैशाख १ गतेदेखि दैनिक बन्यो । त्यसबेला पोखरामा दैनिक पत्रिकाको गणना गर्दा पोखरा हटलाइन नै अग्रपंक्तिमा आउँथ्यो । पत्रिकाले दिने सामग्री पनि यसको नामसँग सुहाउने खाले थिए, जरा हट्के । जरा हट्के यसर्थ कि यसले परम्परागत शैलीका समाचारलाई भन्दा पनि खोजीनीति गरेका सामग्री पस्कियो । कुनै पनि घटनालाई क्रिटिकल्ली लेख्ने धर्म निर्वाह ग¥यो । हटलाइनका आलोचनात्मक आँखा सधैं तिखा थिए ।

‘ए π हटलाइन, यो त फलानो पार्टीको होइन,’ रिपोर्टिङका क्रममा फिल्ड जाँदा म सुन्थें, मलाई सोधिन्थ्यो । तर, मैले आजका मितिसम्म पनि यो पत्रिकाका बारे बोल्दा लेख्दा भन्न सक्ने एउटै कुरा भनेको व्यावसायिकता नै हो । मिसन पत्रकारिताको अभ्यासबाट खारिएर आएका पुण्य पौडेल, बद्रीविनोद प्रतीक र माधव शर्माले उति बेलै देखाएको व्यावसायिकताबाट आज पनि म प्रभावित छु । हो उहाँहरु एमाले पार्टीसँग नजिक पक्कै हुनुहुन्थ्यो । हुनुहुन्छ । तर, मलाई रिपोर्टिङमा खटाउँदा त्यो हाम्रो पार्टीको हो त्यसलाई विशेष कभरेज गर्नुपर्छ, अर्काे हाम्रो पार्टीको होइन, त्यसैले मतलब गर्नुहुँदैन भनेको मलाई याद छैन । आज पनि दावाका साथ भन्नुपर्छ, मैले कुनै दिन पनि खास पार्टीको समर्थनमा र बित्थाको विपक्षमा कहिल्यै लेख्नुपरेन । अर्काइभमा अझै हटलाइन सुरक्षित छ ।

अहिले पनि ती पुराना पाना पल्टाएर हेर्न सकिन्छ । बरु आर्टिकलहरुमा बद्री सर र माधव दाइले आफूलाई मन परेको विचारसँग नजिक रहेर लेख्नुहुन्थ्यो । त्यो त इथिकलै कुरा हो । तर, समाचारमा विचार नमिसाउने चेत उहाँहरुमा पत्रकारिताको कुनै विश्वविद्यालयका प्राध्यापकहरुले नसिकाइकन पलाएको थियो । एमालेसँगको उतिबेलाको मुख्य प्रतिस्पर्धी कांग्रेस पार्टीको महाधिवेशन पोखरामा हुँदा हटलाइनले राम्रो कभरेज गरेको थियो । महाधिवेशमा चुनाव लड्ने नेताहरुका विचारहरुलाई पालैपालो ठाउँ दिएको थियो । महाधिवेशन उद्घाटनको मुख्य समाचारको बक्समा एउटा समाचार राखिएको मलाई अझै याद छ । महाधिवेशनमा भाग लिन आएका एमाले नेता झलनाथ खनालको महँगो जुत्ता हराएको समाचार बक्स बनाइएको थियो । त्यो मलाई बेठिक लागेन, बरु रोचक लाग्यो । अमेरिकाबाट ल्याएको खनालको जुत्ता हराएको समाचार आएपछि कांग्रेसले उनलाई किनेर उस्तै क्वालिटीको जुत्ता पनि दियो ।

सम्पादनपट्टिको खास नेतृत्व माधव दाइ र बद्री सरले लिनुभएको थियो । रिपोर्टिङमा कुद्ने र मजस्तालाई कुदाउने काम पुण्य पौडेलको थियो । समाचारमा सन्तुलन चाहिन्छ भन्ने पाठ राम्ररी मैले उहाँबाट सिकें । कांग्रेसका थुप्रै स्थानीय नेता कार्यकर्ताहरुप्रति सकारात्मक दृष्टिकोण मेरो दिमागमा हालिदिने काम पनि मलाई उहाँले नै गर्नुभएको हो । कांग्रेस हो भन्दैमा बेठिक हो र तिनीहरुका विरुद्ध नेगेटिभ नै लेख्नुपर्छ भन्नुभएको भए पनि मैले मान्नै पथ्र्याे र मेरो धारणा पनि त्यस्तो बन्थ्यो होला । तर, बायस बन्न मलाई सिकाइएन । मैले सिक्नु परेन । सरकारले ट्याग लगाए पनि तत्कालीन माओवादी विद्रोहीलाई आतंककारीको उपमा हटलाइनले कहिल्यै दिएन । सरकारले जे भनोस्, राज्यले जे ठानोस्, हटलाइनले आफ्नो व्यावसायिक धर्म निर्वाह ग¥यो र द्वन्द्वका रिपोर्टिङ पस्क्यो ।

पोखरा हटलाइन जरा हट्के हुनुको मुख्य कारण आजसम्म पनि यसले फरक स्वादको समाचार पस्कन सक्नु नै हो । अरु पत्रिका सूचनापाटी भइरहँदा यसले सूचनाभित्रको समाचार खोतल्न सक्यो । वैज्ञानिकहरु संयोग भन्ने नै हुँदैन, समय र ठाउँको कुरा हो भन्छन्, (टाइम एन्ड स्पेस) । जे होस्, पोखरा हटलाइनमा आएको पछिल्लो नेतृत्वले झन्झन् जरा हट्के न्युज पस्किरहेको छ । पत्रकारितामा प्रवेश गर्दै सबैको ध्यान खिच्न सफल रिपोर्टर त्रिभुवन पौडेल नेतृत्व टिमका आलोचनात्मक (क्रिटिकल) आँखा उत्तिकै तिखा देखिन्छन् । पत्रकार युवराज घिमिरेले भने झैं आलोचना पत्रकारको रहर होइन, पेसागत धर्म हो । जुन पोखरा हटलाइनले निर्वाह गरिरहेको छ र जरा हट्के बनिरहेको छ । दुई दशकको यो निरन्तर यात्राको लागि बधाई र अबको यात्राका लागि शुभकामना ।

(लामिछाने नागरिक दैनिकको पोखरा ब्युरो प्रमुख हुन्— सम्पादक)

Comments are closed.