जस्ताकाण्डपछि अर्थमन्त्रीका पीएले दिए राजीनामा

Ramesh-Mahat

१८ जेठ, काठमाडौं । राहतको जस्ता बिक्री गरेको आरोप लागेका रमेश महतले अर्थमन्त्रीको स्वकीय सचिव पदबाट राजीनामा दिएका छन् ।

अर्थमन्त्री डा. रामशरण महतका पीए रमेशले सोमबार लाजिम्पाटमा पत्रकार सम्मेलन गर्दै आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न सहयोग होस् भनेर राजीनामा दिएको बताएका छन् । महतले भने-‘एकतर्फी रुपमा मिडिया र राजनीतिक शक्ति लागेर मेरो खेदो खनियो, यो आरोप मैले एक्लै व्यक्तिगत रुपमा चिर्न सकिनँ र राजीनामा दिएँ ।’

आफूलाई मात्र नभई अर्थमन्त्री डा. महतलाई पनि विवादमा ल्याउन खोजिएकाले स्वकीय सचिवको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको उनले बताए ।

नुवाकोटका भूकम्प प्रभावित स्कुललाई नेपाल इन्भेष्टमेन्ट बैंकले दिएको बण्डल जस्ता बिक्री गर्न खाजेकाे अाराेप  महतमाथि आरोप लागेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ३०० बण्डल जस्ता दिएकोमा महतले ३० बण्डल जस्तापाता आफ्नो नातेदारको घरमा झारेर बाँकी २७० बण्डल काठमाडौं ल्याउन लाग्दा स्थानीयले छहरेमा ट्रकसहित नियन्त्रणमा लिएका थिए ।

महतले जस्तापाता लगेकोबारे जिल्ला दैवी प्रकोप उद्धार समिति नुवाकोटलाई समेत जानकारी थिएन । स्थानीयले नियन्त्रणमा लिएपछि स्थानीय प्रशासनले जस्ता काण्डबारे छानबिन गर्ने निर्णय समेत गरेकेा छ ।

कांग्रेस नुवाकोटका सचिव समेत रहेका महतले भने आफू माथि लागेको आरोपको खण्डन गर्दै आएका छन् । उनले आफ्नो धारणा सार्बजनिक गर्न आइतबार काठमाडौंमा पत्रकार सम्मेलनसमेत आयोजना गरेका थिए । तर, पत्रकार सम्मेलनमा जस्ता प्रकरणबारे जिज्ञासा राख्दा महतका समर्थकले पत्रकारलाई नै हातपात गरे ।

महतले कांग्रेस जिल्ला सचिव पदबाट भने राजीनामा नदिएको प्रष्ट पारेका छन् । उनले जस्ता काण्डपछि पार्टीका नुवाकोट अध्यक्ष जगदिश्वनरसिंह केसीले आफ्नाविरुद्ध अभिव्यक्ति दिएको तर, आफूलाई भने केही नसोधेको भन्दै पार्टी सभापति सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् ।

Comments are closed.