सुरु गरेको केही वर्षमै स्थापित भएपछि पहिला पागल भन्नेहरु नै पछि फूल व्यवसायमा लागेको उनले देखे । उनको बसन्त नर्सरीमा काम गरेका ९ जनाले अहिले पोखरामा फूल खेती गर्छन्
अमृत सुवेदी/ पोखरा ८ चैत्र ।
जापान । धेरैको सपनाको शहर । अहिले पनि धेरै नेपाली अध्ययन तथा रोजगारीका लागि जापान जान लालायित छन् । जापानबाट फर्केर पोखरा विमानस्थल वरपर एउटा भिजिटिङ कार्ड र एउटा फूल बाँड्दा बसन्त बानियाँलाई धेरैले पागल भन्थे ।
आजभन्दा २० बर्ष पहिले साढे दुइ बर्ष जापान बसेर फर्केका पोखरा बाटुलेचौरका बाँनियाले भर्खरै फूल खेती सुरु गरेका थिए । जापानमा फुल खेती र फुल खेतीको विकासलाई नजिकैबाट निकालेका बानियाँले पोखरामा फुल खेती सुरु गर्दा व्यापार नहुँदा भिजिटिङ कार्ड र फुलको थुङ्गा उपहार दिएर प्रचार गर्थे । ‘जतिबेला फूल र गाईको दुध बेच्नु हुँदैन भन्ने मान्यता समाजमा थियो’ बानियाँले भने ‘जापान जस्तो देशको रोजगारी छोडेर फूल बेच्छु भन्छ यो मान्छे बौलाएछ भन्थे । अहिले फूलबाटै बानियाँको परिवार आत्मनिर्भर छ ।
बाटुलेचौरस्थित पारिजात नर्सरीका प्रबन्धक बानिर्याँ पोखराको फूलखेतीका अगुवा किसान हुन् । पहिले सौखको रुपमा मात्र गरिने फूलको खेती हिजोआज गतिलो व्यवसायको रुपमा स्थापित बन्दै गएकोमा उनी खुसी छन् । २०४२ साल अघिसम्म केही धनी मानिसहरुले घर सजाउन गमला र करेसाबारीमा लगाउने फूलको हिजोआज पोखरामा वर्षमा लाखौं रुपैयाँ भन्दा बढीको कारोबार हुन्छ ।
‘ठूल्ठूला होटलहरुमा विवाह र ठूला समारोहमा विदेशबाट फूल ल्याउने गरेको र जापानमा फूलको राम्रो कारोबार देखेको थिएँ, बजार त बनाउने हो । आफू सफल हुन्छु भन्ने विश्वास थियो र भए’ बानियाँले भने । सुरु गरेको केही वर्षमै स्थापित भएपछि पहिला पागल भन्नेहरु नै पछि फूल व्यवसायमा लागेको उनले देखे । उनको बसन्त नर्सरीमा काम गरेका ९ जनाले अहिले पोखरामा फूल खेती गर्छन । अहिले ११ जनाले उनको नर्सरीमा रोजगारी पाएका छन् । बानियाँले पोखरामा फूल खेती सुरु गर्दा पोखरामा एक जना मात्रै फूल व्यवसायी थिए । उनले पनि फूल व्यवसायलाई निरन्तरता नदिएपछि उनी नै अहिले पोखराको पहिलो पुष्प व्यवसायीका रुपमा चिनिएका छन् ।
‘सुरुमा फूल पनि किन्छन् भन्ने संस्कार रहेको पोखरामा अहिले फूल खरिद गर्ने संस्कारको विकास भएको छ’ बानियाँले भने ‘कामलाई निरन्तरता दिने हो भने बजार त विस्तारै बन्दै जान्छ ।’ फूल व्यवसायबाट आएको आम्दानीले नै आफ्ना सन्तानले देश तथा विदेशमा उच्च शिक्षा अध्ययन गरिरहेको उनले बताए । उनले प्रत्येक महिना करिव एक लाख रुपैयाँ नाफा कमाउने बताउछन् ।
बानियाँले पोखराको अन्तराष्ट्रिय संग्रहालयमा पार्क डिजाइन तथा निर्माण गरे । यस्तै पोखराको फेवा पिन्स होटल, फिस्टेल लज, डेबिड फल्स् लगायतका ठाउँका पार्क तथा नर्सरी निर्माणको काम गरेपछि अहिले उनी नसरी तथा पार्क निर्माणको कामले काठमाडौं समेत जान थालेका छन् ।
फ्लोरिकल्चर एशोसियन नेपाल पोखराका संस्थापक अध्यक्ष समेत रहेका बानियाँले अहिले सेवा जैविक मलको नाममा मल विक्री पनि गरेका छन् । अहिले फूल खेतीसँगै जैविक विविधताकाको संरक्षण र प्रवद्र्धनमा पनि काम थालेका छन् ।
चाडपर्व, विवाह जस्ता अवसरमा मात्र खोजिने फूलको कारोबार हिजोआज पोखरामा बाह्रै महिना हुने व्यवसायीहरु बताउँछन् । ‘हाललाई स्वदेशकै बजार पर्याप्त छ । विदेशमा निर्यात गर्ने सम्भावना पनि छ ।’ पुष्प व्यवसायलाई निर्यातमुखी बनाउन गुणस्तर, मात्रा र निरन्तरता प्रमुख कुरा हुने उनी बताउछन् । भारतीय बजारसँग प्रतिष्प्रर्धा गर्नुपर्ने, स्पष्ट सरकारी नीतिको अभाव, स्टोरेजको समस्या जस्ता कारणले केही बाधा पुर्याएको उनको भनाई छ । तर, फूल व्यवसायप्रतिको आकर्षण र विक्री पनि बढिरहेको अवस्थामा फूल व्यवसायबाट आत्मनिर्भर हुन धेरै कठिन नहुने उनको बुझाई छ । पोखरामा २८ वटा पुष्प व्यवसायी दर्तामा भएपनि अहिले २४ जनाले नर्सरी नै खोलेर आत्मनिर्भर भएका छन् ।
Comments are closed.