पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोग र इन्टरनेट प्रयोग गर्नेहरुको संख्या बढेसँगै साइबर अपराधका घटनाहरु बढेका छन् । प्रविधिको तिव्र फैलावटसँगै यसमा बढी जानेका र केही नजानेका भन्दा भर्खरै सिक्दै गरेकाहरु साईबर अपराधमा बढी संलग्न रहेको पाईन्छ । कहिलेकाहीँ हुने सानो गल्तिले पनि ठूलै पदमा रहेकादेखि लिएर सेलीब्रेटीहरु समेत यो अपराधमा मुछिने गरेका थुप्रै घटनाहरु बाहिर आईरहेका छन् । प्रविधिको गलत प्रयोग गरी अर्कालाई बदनाम गर्ने र अरु विरुद्ध लाग्नेहरुले धेरैलाई असर पु¥याईरहेका छन् । प्रविधिकै प्रयोग गरेर अश्लिल शब्द र तस्विर सामाजिक सञ्जाल वा वेवसाईटमा प्रयोग गर्नेदेखि लिएर वेवसाईट ह्याक गरी महत्वपूर्ण सूचना चोरी गर्नेसम्मका सबै क्रियाकलापहरु साईबर अपराधभित्रै पर्दछन् ।
नेपालमा विज्ञान र संचारप्रविधिको विकाससँगै साइबर अपराध समस्याको रुपमा देखा पर्न थालेको छ । कम्प्युटर, इमेल, इन्टरनेट, सामाजिक सञ्जाल लगायत विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरी अपराध गर्ने साइबर अपराधीहरुको संख्या बढेको बढ्यै छ । प्रविधिको पहुँचका कारण सामाजिक सञ्जालमा जोडिने र प्रयोग गर्ने नेपालीहरुको संख्या पनि बढिरहेको छ । तर यी सबैलाई निरीक्षण र अनुगमन गरी व्यवस्थित गर्न सरकार अझै सफल हुन सकेको छैन । विद्युतीय ऐनको निर्माण भएपनि यसको सही कार्यान्वयन हुन सकेको छैन । भर्खरै ईमेल ईन्टरनेटमा घुलमिल हुँदै गरेकाहरुले साइबर अपराध के हो र के गर्नु हुँदैन भन्ने नबुझेका कारण पनि यसको समस्या बढेनुको कारण हो । यसका लागि प्रचारप्रसार र जनचेतनाको खाँचो देखिन्छ ।
अहिलेको २१ औं युगमा प्रविधि नै प्रयोग गर्न रोक लगाउनुभन्दा पनि कसरी व्यवस्थित गर्ने भन्नेबारेमा सरोकारवाला निकायको ध्यान पुग्नु जरुरी छ । कानुनले रोक लगाएको वा अरुलाई असर पर्नेगरी सामग्रि सामाजिक सञ्जालमा राख्ने र विद्युतीय कारोबारमा गलत गर्नेहरुलाई सजायको भागीदार बनाई निरुत्साहित गर्न खाँचो छ । जसको सुरुवात नेपालमा अझैपनि प्रभावकारी रुपमा हुन सकेको छैन । साइबर अपराधमा संलग्नलाई कानुनतः एक लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुने व्यवस्था छ । कार्वाहीको प्रकृति र के गर्न हुँदैन भन्ने कुराको जानकारी सबैमा हुनु जरुरी छ । प्रविधिको दुरुपयोग गर्नेविरुद्ध कार्वाही र यसलाई व्यवस्थित गर्न सकिने उपाय बेलेमै अवलम्बन गरिनुपर्दछ ।
Comments are closed.