जिफानको अध्यक्षमा गुञ्ज गुरुङ सर्वसम्मत

पोखरा, १२ चैत्र

“सबैको मनभित्र गुरुङ चलचित्र” नाराका साथ क्रियाशिल गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को सातौं राष्ट्रिय अधिवेशन शनिवार सम्पन्न भएको छ। गत असोज १६ गते दोश्रो राष्ट्रिय अधिवेशनको उद्घाटन समारोह सम्पन्न पश्चात बन्दसत्रमा वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारितसँगै नेतृत्व चयनको प्रक्रियामा केही समस्याका कारण स्थगित भएको अधिवशेनको बाँकी कार्यसमिति चयनको कार्यक्रम शनिवार पोखरा १२ भद्रकालीस्थित नादा तमु समाज सभाहलमा सम्पन्न भएको हो।

६ महिनापछि सहमतिको वातावरणसहित शुरु भएको स्थगित अधिवेशनले सर्वसम्मत रुपमा जिफानको अध्यक्षमा गुञ्जबहादुर गुरुङ, प्रथम उपाध्यक्ष सन्तोष कोन्मे गुरुङ, द्धितिय उपाध्यक्ष प्रेमबहादुर गुरुङ, महासचिव तोलबहादुर(लब्सन) गुरुङ, सचिवमा रमेश गुरुङ, कोषाध्यक्ष अर्जुन गुरुङ, संघ संस्था समन्वय विभाग प्रमुख कुबिना गुरुङ, निर्माता निर्देशक विभाग प्रमुख आइतराम गुरुङ, भाषा सँस्कृति विभाग प्रमुख खुसबहादुर गुरुङ, गीत संगीत विभाग प्रमुख बिबेक गुरुङ,प्रचार विभाग प्रमुख पवित्रा गुरुङ, महिला विभाग प्रमुख प्रिति गुरुङ,सदस्यहरुमा पुनम गुरुङ,काशीमाया गुरुङ, राजकुमार गुरुङ, टेकमान गुरुङ, विष्णुप्रसाद गुरुङ, तोलप्रसाद गुरुङ, ओमप्रकाश गुरुङ र महेन्द्र गुरुङ चयन हुनुभएको छ।

निर्वाचित कार्यसमितिलाई तमु धिं नेपालका अध्यक्ष तथा जिफानको आन्तरिक समस्या समाधानका लागि तमु संघ संस्थाहरुको तर्फबाट संयोजनको पहलकद्मी गर्नुभएका हुमबहादुर गुरुङले खादा लगाएर बधाई ज्ञापन गर्नुभएको थियो भने निर्वाचन समितिका संयोजक माओत्से गुरुङ पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो।

कार्यक्रममा तमु संघ संस्थाहरुको तर्फबाट संयोजनको पहलकद्मी गर्नुभएका हुमबहादुर गुरुङले बधाई तथा शुभकामना व्यक्त गर्नु हुदै गुरुङ समुदायमा गुरुङ चलचित्रकर्मीहरुको भुमिका,जिफानभित्रको आन्तरिक एकताको आवाश्यकताका बारेमा भनाई राख्नुहुदै नवनिर्वाचित कार्यसमितिलाई तमु संघ संस्थाहरुको तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो।

नवनिर्वाचित अध्यक्ष गुञ्जबहादुर गुरुङले जिफानका सदस्यहरु बिच एकतालाई सुदृढ बनाउन आफ्नो सक्दो पहल हुने प्रतिवद्धता जनाउनुहुदै साथ सहयोगका लागि अनुरोध गर्नुभयो।

यसअघि तमु संघ संस्थाहरुको तर्फबाट संयोजनको पहलकद्मी गर्नुभएका हुमबहादुर गुरुङले जिफानको समस्या समाधान गर्न तमु संघ संस्थाहरु गरेको पहलको बारेमा लिखित प्रतिवेदन निर्वाचन समितिका संयोजक माओत्से गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो। सहमतिकै आधारमा कार्यसमिति चयन गर्न अनुरोध गर्दै संघसंस्थाहरुले अन्यथा स्वच्छ ढंगले निर्वाचनबाट कार्यसमिति चयनका साथै आगामी ६ महिनाभित्र बिधान सम्मेलन गरी विधानमा रहेका कमिकमजोरी र जिफानको आवाश्यकतालाई समेट्ने गरी संशोधन गर्न सुझाएको छ।

सहमतिबाटै नेतृत्व चयनका लागि अधिवेशनका प्रतिनीधिहरुले थप दवाव दिए पछि सर्वसम्मतको अवस्थामा पुगेको निर्वाचन समितिका संयोजक माओत्से गुरुङले बताउनुभयो। संयोजक गुरुङको अध्यक्षतामा भएको अधिवेशनमा निर्वाचन समितिका सदस्यहरु गिरीप्रसाद गुरुङ र प्रितम गुरुङले कार्यक्रम  संचालन गर्नुभएको थियो।

Comments are closed.