जेठ १ गतेदेखि स्वास्थ्य सेवाका कर्मचारीलाई पनि दुई दिन सार्वजनिक बिदा दिइने

सरकारको निणर्य अनुसार जेठ १ गतेदेखि स्वास्थ्य सेवाका कर्मचारीलाई पनि दुई दिन सार्वजनिक बिदा दिइने भएको छ ।

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यका पेसागत संघसंगठन र अस्पतालका प्रतिनिधिहरुबीच भएको छलफलमा तत्काललाई सरकारको निणर्य अनुसार नै दुई दिन बिदा दिनुपर्ने विषयमा सुझाब आएको थियो ।सोही सुझावका आधारमा तत्काललाई अस्पतालमा आइतबार पनि ओपिडी बन्द हुने भएको हो ।सरकारका तर्फबाट स्वास्थ्यका कर्मचारीका विषयमा नयाँ कुनै निणर्य नआएसम्म ओपिडी बन्द हुने छलफलमा सहभागी प्रतिनिधिहरुले बताउनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले सरकारको निणर्य स्वास्थ्य सेवाका कर्मचारीको हकमा पनि लागू हुने भएको जानकारी दिनु भयो ।स्वास्थ्य मन्त्रालयले सरकारले गरेको निणर्य कार्यान्वयन गराउने तय भएको डा. अधिकारीको भनाइ छ । तर आकस्मिक सेवामा भने अन्य समयमा जस्तै सार्वजनिक बिदाले प्रभाव नपार्ने उहाँले बताउनु भयो।डा. अधिकारीले स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले सरकारको निणर्य अनुसार शनिबार र आइतबार अस्पतालहरुमा ओपिडि सेवा बन्द हुँदा पर्ने प्रभावबारे छलफल भएको बताउनु भयो ।ओपिडी सेवा आइतबार सेवा सञ्चालन गर्ने वा नगर्ने, सेवा सञ्चालन गर्दा कसरी सञ्चालन गर्ने, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्वास्थ्यमा काम गर्ने विभिन्न ट्रेड युनियन तथा निकायसँग छलफल भएको डा. अधिकारीले जानकारी दिनु भयो ।दुई दिनसम्म ओपिडी सेवा बन्द हुँदा बिरामीमा पर्नसक्ने असर र त्यसको व्यवस्थापनबारे छलफल भएको छ, तर व्यवस्थापनका लागि के गर्ने भन्ने विषय टुंगो नलागेको डां. अधिकारीले बताउनु भयो ।

Comments are closed.