जेष्ठ नागरिकको अनुभव अनुसरण आवश्यक–मन्त्री बराल

गण्डकी, ११ चैत (रासस) :

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल(जीवन) ले समाजका जेष्ठ नागरिकको अनुभवलाई अनुसरण गर्नु पर्ने बताउनु भएको छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ भेडावारीस्थित बराह माविमा आज आयोजित जेष्ठ नागरिकको ज्ञान, शिप र अनुभव पुस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले समाजलाई सुसंस्कृति र व्यवस्थित बनाउन अग्रजको अनुभव मार्गदर्शन बन्ने विश्वास व्यक्त गर्नुभयो । सभ्य समाज निर्माणमा अग्रजहरुको अनुतलनीय योगदान रहेको चर्चा गर्दै मन्त्री बरालले राज्यका गहनाका रुपमा रहेका जेष्ठनागरिकलाई उच्च सम्मान गर्दै मायाममताका साथ घरघरमा संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । ज्येष्ठ नागरिकको अनुभवलाई रक्षा गर्नु नयाँ पुस्ताको कर्तव्य भएको उल्लेख गर्दै उहाँले मानवप्रति गरिने मान सम्मान हराउदै गएकोमा गम्भीर भएर सोच्नु पर्ने धारणा राख्नुभयो ।
पोखरा बृद्धाश्रमको आयोजना एवम् प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा विद्यालयका दश जोड दुईका ३७ जना विद्यार्थी र १५ जना जेष्ठनागरिकको बीच अनुभव आदानप्रदान गरिएको आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुभयो । कार्यक्रममा डा. निल शर्माले जेष्ठनागरिकको स्वास्थ्य रक्षा र दिचर्या, वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जेष्ठनागरिकलाई आयआर्जनमा कसरी जोडन सकिन्छ र विश्वहिन्दु महासंघका सल्लाहका शालिकराम सापकोटाले परम्पारगत संस्कृतिको जगेर्नामा युवा पुस्ताको भूमिका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष टेकनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकृत गोविन्दु सापकोटा, प्रशिक्षक डा. अनिल थापा, बिद्यालयका प्रध्यानाध्यापक मिनराज अधिकारी लगायतले जेष्ठनागरिकको ज्ञान सिपलाई पुस्तान्तरणमा राज्यले भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

Comments are closed.