कास्कीमा सम्भावित विपद्लाई लक्षित गरी ३० टन खाद्यान्नः सुरक्षा निकाय “हाई अलर्टमा”

RiceStocks-2पोखरा, १७ असार
मनसुनपछिको सम्भावित प्राकृतिक विपदलाई लक्षित गरी कास्कीमा करिब ३० टन खाद्यान्न सुरक्षित राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले बर्षासँगै बाढी, पहिरो लगायतका प्राकृतिक विपद आउनसक्ने भन्दै पूर्वतयारीस्वरुप चामल, पिठो, नुनतेल लगायतका खाद्यान्न स्टक राखिएको जनाएको हो । यसैगरी, १ हजार ५ सयभन्दा बढी त्रिपाल पनि नेपाली सेना र सशस्त्र प्रहरीको व्यारेकहरुमा सुरक्षित राखिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले जानकारी दिए ।
सम्भावित दुर्घटना र विपदलाई लक्षित गरी औषधि लगायतका प्राथमिक उपचारका सामग्रि, उद्धार कार्यका लागि चाहिने सामग्रि र विपद व्यवस्थापन तालिम लिएका सुरक्षा निकायका प्रतिनिधिहरुलाई पनि तयारी अवस्थामा राखिएको उनले बताए । यी सबै सामग्रि बर्षाका लागि मात्रै लक्षित गरेर स्टक राखिएको उनको भनाई छ । जिल्ला प्रशासन कार्यालय लगायत खाद्य संस्थानको गोदाममा पर्याप्त मात्रामा खाद्यान्न र उद्धार सामग्रि स्टक रहेको उनले बताए ।
यसपटक भूकम्प र त्यसका परकम्पनका कारण अघिल्ला बर्षहरुको तुलनामा बाढीपहिरोको जोखिम उच्च भएकाले त्यही अनुसारको तयारी गरिएको उनको भनाई छ ।
“अहिले भूकम्पले धेरै ठाउँको धरातल कमजोर बनेको छ ।” उनले भने– “लगातार पानी परिरहँदा भूकम्पले भित्रभित्रै चर्किएको जमिन गलेर बग्न सक्छ । बाढी र पहिरोको जोखिम पनि धेरै छ ।”
कास्कीमा बिशेषगरी सेती, मादी र मोदी नदी आसपासको क्षेत्रलाई बढी जोखिमयुक्त मानिन्छ । यही क्षेत्रलाई बढी जोखिमको सूचीमा राखेर त्यही अनुसारको पूर्वतयारी भैरहेको राउतले बताए । अहिले कास्की प्रशासनले भूकम्प प्रभावित सबै परिवारहरुलाई प्रारम्भिक चरणको राहत वितरण गरिसकेको छ । पूर्णरुपमा घरमा क्षति भएका परिवारलाई भने सरकारले दिने भनेको १५ हजार रुपैयाँ अझैपनि वितरण गर्न बाँकी छ । भूकम्पले पूर्णरुपमा घर भत्किएका करिब ८ सय परिवारलाई अहिलेसम्म रकम वितरण गरिएको र अन्यलाई वितरण गर्ने प्रक्रिया चलिरहेको प्रशासनले जनाएको छ । यसैबीच, विभिन्न ब्यारेक तथा गणहरुमा रहेका नेपाली सेना र सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन स्थानीय प्रशासनले निर्देशन दिएको छ । जिल्ला दैवि प्रकोप उद्धार समिति र जिल्ला परिषदले पारित गरेको जिल्ला विपद् व्यवस्थापन तथा प्रतिकारी कार्ययोजना अनुसार कास्कीका १३ वटै क्लष्टर र सम्बन्धित निकायलाई सम्भावित जोखिमपछिको उद्धारका लागि निर्देशन दिईसकिएको प्रमुख जिल्ला अधिकारी राउतले बताए ।
कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जिल्ला दैवी प्रकोप समितिको सदस्य नेपाल प्रहरी पनि भएकाले आफुहरु सम्भावित जोखिमको बिषयमा बढी सतर्क रहेको बताए । आफु मातहतका सम्पूर्ण प्रहरी युनिटहरुलाई अलर्टमा रहन आफुले निर्देशन दिईसकेको उनले बताए । बाढी तथा पहिरोको जोखिम देखिनासाथ उद्धारमा खटिई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि नेपाल प्रहरी तयारी अवस्थामा रहेको उनको भनाई छ । बढी जोखिमयुक्त क्षेत्र मानिने ठूला नदी तथा खोला आसपासको क्षेत्रलाई नियमित रेकी गरी सर्वसाधारणहरुलाइै सचेत गराउने कार्य गरिरहेको पनि उनले बताए । RiceStocks-2

 

Comments are closed.