टेस्टमा बलियो पकड बनाउँदै श्रीलंकाको

असार २१ पालेकेले– कप्तान एन्जेलो म्याथुजले दोस्रो इनिङमा अविजित ७७ रन बनाएपछि पाकिस्तानविरुद्धको तेस्रो तथा निर्णायक टेस्टमा श्रीलंकाले पकड बलियो बनाएको छ। पहिलो इनिङमा ६३ रनको अग्रता लिएको श्रीलंकाको दोस्रो इनिङको सुरुआत सन्तोषजनक हुन सकेको थिएन। तथापी वर्षाले प्रभाव पारेको खेलमा श्रीलंकाले सम्हालिएको प्रदर्शन गरेपछि तेस्रो दिन आइतबारको खेल समाप्त हुँदा ५ विकेटको क्षतिमा २ सय २८ रन बनाएको छ। दोस्रो इनिङमा श्रीलंकाले २ सय ९१ रनको अग्रता लिएको छ। पहिलो इनिङमा श्रीलंकाले २ सय ७८ र पाकिस्तानले २ सय १५ रन बनाएको थियो।

srilanka_1807
दुवै ओपनर सस्तैमा आउट भएपछि ब्याटिङको मोर्चा सम्हालेका म्याथुजले चौथो विकेटका लागि उपुल थारंगा (४८) सँग ४५ र जेहान मुबारक (३५) सँग पाँचौं विकेटका लागि ८१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। झन्डै आठ वर्षपछि टेस्ट टोलीमा फर्केका मुबारक दिनको अन्तिम सेसनमा यासिर शाहको बलमा अजिर अलीबाट क्याच आउट भएका थिए। फर्ममा फर्केको संकेत गर्दै दीनेश चन्डिमाल ३९ रनमा अविजित छन्। खराब प्रकाशका कारण चाढै टुंगिएको खेलमा उनले म्याथुजसँग छैटौं विकेटका लागि अविजित ६७ रनको साझेदारी गरेका छन्।

दुई दिनको खेल बाँकी रहँदा श्रीलंकासँग अझै पाँच विकेट बाँकी छ। तीन टेस्टको श्रृखंलामा १–१ को बराबरी छ। पहिलो टेस्ट पाकिस्तानले १० विकेट र दोस्रो श्रीलंकाले ७ विकेटले जितेको थियो। राहत अलीले २ तथा उनका नयाँ जोडी इसान अदिलले १ विकेट लिएपछि विहानी सत्रमा श्रीलंकाको अवस्था खराव बनेको थियो। पहिलो इनिङमा शतक बनाएका दिमुथ करुणारत्नेलाई १० रनमा आउट गरेका राहतले लाहिरु थिरिमानेलाई खाता समेत खोल्न दिएनन्। त्यसबीचमा इसानको बलमा कौशल सिल्भा (३) कप्तान मिसबाह उल हकबाट क्याच भएका थिए। त्यसपछि थारंगा र म्याथुजले इनिङ सम्हाल्ने प्रयास गरेका थिए। त्यो साझेदारीलाई यासिरले तोडेका थिए।

त्यसअघि ९ विकेटको क्षतिमा २ सय ९ रनबाट पाकिस्तानले दिनको खेल अघि बढाएको थियो। ६ रन जोड्दा पाकिस्तानले अन्तिम विकेट गुमाएको थियो। सरफराज अहमद ७८ रनमा अविजित रहे। अन्तिम ब्याट्सम्यानका रुपमा रहेका इमरान खानले अघिल्लो ४ टेस्टमा एउटा पनि बलको सामना गर्नु परेको थिएन। आइतबार ७ बल खेलेका उनी खाता खोल्न नसकी थारिन्दु कौशलको शिकार भएका थिए। कौशल, धम्मिका प्रसाद र नुवान प्रदीपले समान ३ विकेट लिए।

Comments are closed.