पोखरा हटलाईन
पोखरा, ५ असोज
पोखराको पृथ्वीाचोकस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले अस्थायी रुपमा कार्यालय सञ्चालन गरिरहेको जग्गालाई जुन प्रयोजनका लागि अधिग्रहण गरिएको सोही अनुसार पूर्वाधार निर्माण गर्न पोखरा महानगरको ध्यानाकर्षण गराइएको छ ।
पृथ्वीचोक बसपार्क टोल विकास संस्थाका अध्यक्ष केशवबहादुर थापासहित जग्गादाता गण्डकी पेट्रोलियम कम्पनी प्राली अम्मरसिह चोकका प्रतिनिधि तेज गुरुङ, विजय गुरुङ, अर्का जग्गादाता सुदर्शन रञ्जित, पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी, सहारा क्बलका पूर्व अध्यक्ष विक्रम थकाली लगायतको टोलीले महानगर प्रमुख मानबहादुर जिसीलाई सोमबार भेटेर उक्त जग्गा बारे ध्यानाकर्षण गराएको हो ।
जिल्ला ट्राफिक कार्यालय निकट भविश्यमा सहाराटोलमा रहेको आफ्नै भवनमा सर्ने भएकाले उक्त जग्गामा बस टिकट काउन्टर, पर्यटन सूचना केन्द्र र पार्कसहितको प्रतीक्षालय निर्माण गर्न अनुरोध गर्दै टोल विकास संस्थाले महानगरको ध्यानाकर्षण गराएको अध्यक्ष थापाले बताए ।
थापाका अनुसार २०३२ सालमा पोखरा उपत्यका नगर विकास समितिले गण्डकी पेट्रोलियम कम्पनी, हरिगोपाल रञ्जित, गोपाल तझ्याको स्वामित्वमा रहेको करिब २ रोपनी जग्गा बस टिकट काउन्टर र टर्मिनल भवन निर्माण गर्न निशुल्क अधिग्रहण गरेको हो ।
पोखरा बसपार्कलाई सुन्दर, व्यवस्थित एवं सूचनामूलक बनाउन बस टिकट काउन्टर, पर्यटन सूचना केन्द्र र पार्कसहितको प्रतीक्षालय निर्माण टोल विकास संस्थाले महानगरलाई अनुरोध गरेको छ ।
Comments are closed.