पोखरा, १४ असार
पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन डा. गोविन्द लामिछानेमाथी विश्वविद्यालय प्राङ्गणमै विद्यार्थीहरुले ढुंगामुढासहित आक्रमण गरेका छन् ।
सोमबार दिउँसो विश्वविद्यालयको केन्द्रीय कार्यालयमा उप–कुलपतिलाई भेटेर बाहिर निस्किँदै गर्दा लामिछानेमाथी अनेरास्ववियूका नेता मिशन शर्मा लगायतका विद्यार्थीहरुले गुण्डागर्दीको शैलीमा आक्रमण गरेका हुन् । यसअघि मिलिसकेको विद्यार्थी ट्रान्सफरको बिषयलाई विनाकारण बल्झाउँदै शर्मा लगायतका विद्यार्थीहरुले बाहिरी युवाहरुको प्रयोग गरी आफुमाथी हमला गरेको लामिछानेले बताएका छन् ।
गुण्डागर्दीको शैलीमा उत्रिएका राजनीतिक दल समर्थित विद्यार्थीहरुले लामिछानेलाई आक्रमणपछि शौचालयमा समेत थुनिदिएका थिए ।
“विश्वविद्यालयको कामको सिलसिलामा भिसी सरलाई भेटेर म बाहिर निस्किँदै थिएँ ।” लामिछानेले भने– “विश्वविद्यालयकै केही विद्यार्थी र बाहिरी युवाहरुले अपशब्द प्रयोग गर्दै मलाई ढुंगा प्रहार गर्दै कुटपिट गरे । तँलाई मारिदिन्छौं भन्दै शौचालयमा समेत लगेर थुनिदिए । म माथी सुनियोजित ढंगले आक्रमण भयो ।”
विद्यार्थीहरुले नै ज्यान मार्ने धम्की दिँदै आक्रमण गर्न थालेपछि आफु असुरक्षित भएको भन्दै उनले स्थानीय सुरक्षा प्रशासनसँग ज्यू ज्यानको सुरक्षाको माग समेत गरेका छन् ।
“विश्वविद्यालयको जिम्मेवार पदमा रहेदेखि नै मेरो राजीनामा मागिएको थियो ।” उनले भने– “विश्वविद्यालयमा राजनीतिक भागवण्डा गर्न नदिने मेरो अभियानलाई नै टार्गेट गरेर आक्रमण भएको हो । राजीनामा नदिए ज्यान मार्ने धम्की आएको छ ।”
आक्रमणपछि, आफु असुरक्षित रहेको भन्दै जीउज्यानको सुरक्षा र आक्रमणमा उत्रिनेहरुलाई कडा कार्वाहीको माग गर्दै उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी समेत दिएका छन् ।
लामिछानेले आफुले रजिष्टारको स्विकृती लिएर मात्रै नियम अनुसार नै एकजना विद्यार्थीलाई बिपिएचबाट फार्मेसीमा विद्यार्थी ट्रान्सफर गरेको भन्दै विद्यार्थीहरुले विनाकारण आफ्नो विरोध गरेको बताए ।
यसअघि पनि विद्यार्थीहरुले ट्रान्सफरको बिषयलाई लिएर डीनको कार्यालयमा करिब २ महिना तालाबन्दी गरेका थिए । जेठ अन्तिम साता विद्यार्थी ट्रान्सफरको बिषय डीनको मातहतमा रहने र नियम कानुनभित्र रहेर ट्रान्सफर गरिएकाले यस बिषयमा आन्दोलन नगर्ने सहमति समेत भएको थियो ।
तर विद्यार्थीहरुले भने वार्ताको क्रममा लामिछानेले गल्ती स्विकार गरेपनि निर्णय भने नसच्याएको आरोप लगाउँदै आएका छन् । निर्णयविरुद्ध उनीहरुले डीनको कार्यालयमा कुर्ची समेत झुण्ड्याएका थिए ।
लामिछाने यसअघि विश्वविद्यालयको वेथितीविरुद्ध विभिन्न माग राखेर लामो समयसम्म आमरण अनसन समेत बसेका थिए । विश्वविद्यालयमा राजनैतिक भागवण्डाका आधारमा वरिष्ठता मिचेर पदाधिकारी नियुक्ती भएपछि, अनसन बसेका उनी विज्ञान तथा प्रविधि संकायको डीन बनेका थिए ।
Comments are closed.