तीर्थ श्रेष्ठको कवितामा वाहवाही

पाेखरा ६ भदाै/

आमा हुन साह्रै असजिलो छ
पहाड जस्तो
उचाइमा पुगेर मैदान भैदिनु पर्ने
मैदानमा पुगेर उकालो भैदिनु पर्ने

सन्तानहरु कहाँ पुग्छन्
खोलाहरु जस्तो
सपनाहरु कहाँ पुग्छन्
स्वच्छन्द चराहरु जस्तो

आमाहरु पहाड छेउको
चौतारी हु्न अभिशप्त छन्
आमा हुन अप्ठेरो छ
आमा हुन पहाड हुन जस्तै गह्राे छ  

कवि तीर्थ श्रेष्ठले अामा सम्झँदै याे कविता सुनाउँदा सबैजना भावुक बने । बाग्लुङे साहित्यानुरागीलाई आफ्ना कविता सुनाउन शनिबार बाग्लुङ पुगेका उनले पहिलो कविता नै आमाको नाममा समर्पण गरे । आमा शीर्षकको कवितामार्फत उनले आमाको महिमा गान गरे । हरेक घरमा ईश्वरभन्दा महान आमा बाँचेको सगर्व घोषणा गरे । उनले भने -‘मैले सानैमा आमा गुमाएँ, अहिले पनि कालिगण्डकीको किनारमा कतै जल्दै गरेको चिता देखेँ भने मेरो आमाको अस्तु पनि यतै होला भन्ने लाग्छ ।’  आमासँगको उनको लगाव बढी नै छ क्यारे ! उनले थप दुईवटा कविता पनि आमासँगै जोडे । आफैले हुर्काएका सन्तानबाट अपहेलित भएपछि वृद्धाश्रममा जीवन बिताउने अभिषप्त आमाहरुको विलौना वर्णन गरे । देश खण्ड र अखण्डको लडाईँमा परेको बेला उनको तेस्रो कविता नेपाल आमाप्रति समर्पित थियो ।

11899835_1125088660853272_6029661578288060311_n
उनी अतिततिर फर्किए । सानो हुँदा लाहुरेहरु गुण्टा बोकाएर चिटिक्कको झोला बोकेका लाहुेरहरु देखेकै थिए । लाहुरेको पीडा लाहुरेको श्रीमतिलाई मात्र थाहा हुन्छ । लाहुरे जीवनमा कति बेला के हुन्छ कसलाई थाहा ?कविकै छिमेकमा लाहुरेनी घाम तापरे बसेकी हुन्थिन । लडाईँमा पति गुमाएकी उनकै अगाडि लाहुरे फूल फक्रेको हुन्थ्यो । लाहुरेनीलाई नै जिस्काउने गरी । तीर्थले सुनाए

भो भैगो कति नुनचुक छर्छौ यो घाउमा
धेरै भयो – जिन्दगी नै घाउ भएको
धेरै भयो – जिन्दगी नै पीडा भएको
एकछिन सुस्ताउन देऊ लाहुरे फूल !
म घाउको पत्र पल्टाएर
सन्धिको इतिहास फेर्न चाहन्छु
म घाउ सुमसुम्याएर
रगतको व्यापार बन्द गर्न चाहन्छु
म यो इतिहासको कालो पानालाई
च्यातेर फाल्न चाहन्छु
पर्ख ! लाहुरे फूल
म तिम्रो नाम फेर्न चाहन्छु ।

थोरै तर मन छुने कविताका सर्जक हुन् तीर्थ । करीब २ दर्जन कविता, गीत र मुक्तकहरु सुनाउँदै गर्दा उनले पटकपटक स्रोताको वाहवाही पाए । उनले कवितामै देशका नेताहरुको प्रवृत्तिमाथि कसिलो व्यङ्ग्य कसे भने मायापिरतिसँग जोडिएका मुक्तक र गीत सुनाएर प्रेमिल वातावरण पनि बनाए ।
‘तिमीले आँखा उघार्दा र चिम्लँदा पनि देखिन सकुँ’ भन्दै अर्धाङ्गिनीप्रतिको स्नेह दर्साउँदै गर्दा उनले अगाडि थपे–‘सम्भवामी युगेयुगे, साले कृष्ण पनि फटाहा रहेछ, चुनावी मैदानको नेता जस्तै । ’
उनी कवितामा फर्के अन्नपूर्ण आधार शिविर जाँदाका दिन सम्झिए, त्यही यात्राले जन्माएको अन्नपूर्ण वरिपरिपछि उनले चर्चित ‘बाघ’ सुनाउँदा झन् बढी वाहवाही पाए । गीत लेखे पनि हुन्छ कालिप्रसादहरु, नजन्माइएको सन्तान,छायाँ लगायका कविता सुनाउँदै गर्दा उनी जीवन र जगतसँग असाध्यै निकट भए ।
साथी सरुभक्तसँग पञ्चासे जाँदा जन्मिएको कविताबारे जानकारी पस्कँदै उनले सुनाए –
हिउँमा लेखेर आएका छौँ, हामीले आ– आफ्ना नामहरु
एकैछिनपछि घाम लाग्यो भने रहने छैनन् हाम्रा नामहरु
एकैछिनपछि हिउँ थपियो भने पनि रहने छैनन् हाम्रा नामहरु 
हामी हुँदै नरहने हाम्रा नामहरु, हामी नै नभएपछि कसरी रहलान् हाम्रा नामहरु !

परिचयको कोष्टक भित्र तीर्थ श्रेष्ठ नअटाउने उद्घोष गरेकी कवि सरस्वती प्रतीक्षाको भनाइलाई उनले सत्य सावित गरे । सरल भाषामा गम्भीर विषयका उठान गर्दै गर्दा उनले जीवन र जगतका कटु सत्यलाई उजागर गर्न भ्याए ।
‘म बाँस तिमीले काट्यौ, ताछ्यौ र पोल्यो सम्झेँ बर्वाद भएँ
तिमीले फुक्यौ सुमुधुर स्वर निस्क्यो सम्झेँ आवाद भए । ’
कवि भावनामा पोखिँदै थिए । करीब डेढ घण्टासम्म स्रोतालाई मन्त्रमुग्ध बनाएका तीर्थले आफ्नो एकल कविता वाचन आमा कविताबाटै बिट मारे । यो उनको सातौँ एकल कविता वाचन कार्यक्रम हो । यस अघि प्रधानन्याधिश कल्याण श्रेष्ठले एकल कविता वाचन कार्यक्रमको उद्घाटन गरेका थिए । उनले कवि तीर्थका कविताहरुमा जीवन र जगतको यथार्थता प्रतिविम्वित भएको बताए ।11225076_1125618604133611_4541686778460414374_n

पोखरेली युवा साँस्कृतिक परिवार र प्रभु विकास बैंकको आयोजनामा भएको कवि तीर्थ श्रेष्ठको एकल कविता वाचनलाई बाग्लुङ जेसिजले सघाएको थियो । कार्यक्रममा बोल्दै प्रमु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले साहित्य देशको पहिचान भएकाले बैंकले साहित्यिक कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।

नेपाली जनजीवनका आरोह–अवरोह र संवेदनालाई सरल र सरस ढंगले कवितामा उतार्ने कवि श्रेष्ठले एकल कविता वाचनमा झण्डै ३० वटा कविता सुनाएका थिए । कविता मार्फत नै नेपाली साहित्यमा स्थापित पोखरेली कवि श्रेष्ठका कविता सुन्नका लागि बाग्लुङ, पर्वत, म्याग्दी, कास्की लगायतका जिल्लाबाट साहित्यप्रेमीहरु उपस्थित थिए ।

11899775_453870181451676_7690828793421122283_n
कवि श्रेष्ठ मोफसलमै बसेर राष्ट्रिय स्तरमा चिनिएका कवि हुन् । वि.स. २०१६ सालमा जन्मेका कवि श्रेष्ठका ‘तीर्थ श्रेष्ठका कविताहरू’, ‘जिन्दगीको कुरुक्षेत्रबाट’, ‘पाइलाका निबहरूले’, ‘महाभारतको गीत’ र ‘मेरै हिमालजस्तो’ लगायतका कृति प्रकाशित भएका छन् । ‘प्रेमको पुस्तक’ नामक कविता संग्रह प्रकाशोन्मुख छ भने थुप्रै फुटकर कविता, मुक्तक, गीत विभिन्न विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहकार समेत रहेका र वरिष्ठ संस्कृतिकर्मीको रुपमा समेत चिनिएका कवि श्रेष्ठनेपालीपनका कविका रुपमा परिचित छन् । कवि श्रेष्ठले आफूले कहिल्यै पनि कवि हुन्छु भनेर कविता नलेखेको बताउँछन् । श्रेष्ठका ‘लाहुरे फुल ! म तिम्रो नाम फेर्न चाहान्छु’, ‘आमा’, ‘बाघ’, ‘कविहरु र सत्ता’, ‘प्रेमको पुस्तक’, ‘असमर्थ राजधानी शहर’, ‘नाङ्गाहरुको देश’ लगायतका थुप्रै कविता बहुचर्चित छन् । पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा सचिव अर्जुन अधिकारीले पनि बोलेका थिए ।

Comments are closed.