पोखरा १ कार्तिक
युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले आफ्नो संविधान आफैं बनाउने नेपाली आकाङ्क्षालाई रोक्न भारतले नेपालमा नाङ्गो हस्तक्षेप गरेको बताएका छन् । प्रेस चौतारी कास्कीले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पहारीले नेपालीको स्वाभिमानमा आँच आउने गरी भारतले गरेको हस्तेपक्ष विरुद्ध युवाहरु लाग्नुपर्ने बताएका हुन् । उनले तेलसँग नेपालीले स्वाभिमान बेच्न नसक्ने बताए ।
पहारीले एउटै कम्युनिष्ट पार्टी बनाउका लागि युवा संघले अभियान चलाउने बताएका छन् । धेरै राजनीतिक दलहरु हुदाँ राजनीतिक अस्थिरता बढेको भन्दै कम्युनिष्ट पार्टीहरुको एकतामा उनले जोड दिएका हुन् । पहारीले राजनीतिक स्थायित्व र देशलाई समृद्ध बनाउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकता आैँल्याए ।
उनले भारतीय हस्तक्षेप विरुद्ध युवा संघले भण्डाफोर अभियान अन्र्तगत हस्ताक्षर संकलन गरेको बताउँदै भारतका अगाडि नझुक्ने बताए । उनले नेपालीहरु गरिव भएपनि स्वाभिमान रहेको बताउँदै पदका लागि स्वाभिमान नबेच्ने बताए । उनले भारतले गरेको नाकाबन्दी पारवहान सन्धि सम्झौता विरुद्ध भएको बताउदै जस्तोसुकै कष्ट झेल्न तयार रहेको तर तेलमा स्वाभिमान र राष्ट्रियता बेच्न नसकिने बताए । भारतसँग कुनैपनि हालतमा नझुक्न नेताहरुलाई दवाब दिएको समेत उनले बताए । उनले संविधान जारी भएको र त्यसलाई कार्यान्वयन गर्न सवै दलहरु एकजुट हुुनुपर्नेमा जोड दिए ।
उनले नेपालमा रहेका कम्युनिष्टहरु एक हुनुपर्ने बताउँदै त्यसको अगुवाई युवा संघले गरेको बताए । सवै कम्युनिष्टहरुलाई समेटेर एउटै कम्युनिष्ट केन्द्र बनाउन एमाओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेको उनले जानकारी दिए । च्याउसरी पार्टी खोल्नु भन्दा एउटै बनाएर अगाडि बढनुपर्ने पहारीले बताए । कार्यक्रम प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको थियो भने संचालन सहसचिव मोतिसागर अधिकारीले गरेका थिए ।
Comments are closed.