चीन र बंगलादेश मिलेर दक्षिण एसियामा बाहिरी शक्तिले बनाउन खोजेको सैन्य गठबन्धनविरुद्ध संयुक्त प्रयास गर्नुपर्ने चीनका रक्षामन्त्री वे फङ्हले बिहीवार बताएका छन् ।
बंगलादेश भ्रमणमा राष्ट्रपति अब्दुल हमीदसँगको भेटपछि दुई देशबीच सैन्य सहकार्य अघि बढाउने विषयमा सहमति बनेको खबर चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको छ । अमेरिका, भारत, जापान र अस्ट्रेलिया सम्मिलित क्वाडले हिन्द प्रशान्त क्षेत्रमा साझेदारी गरेको सन्दर्भमा वेको बयान आएको हो ।
चीनले क्वाडलाई कडा विरोध गर्दै आएको छ ।
राष्ट्रपति हमीदसँगको भेटका क्रममा वेले चीन र बंगलादेश प्राचीनकालदेखि मित्र रहेको र द्विपक्षीय सम्बन्धको लामो इतिहास भएको बताए । दुवै देश राष्ट्रिय पुनरुत्थानको महत्त्वपूर्ण चरणमा रहेको र उनीहरूबीच विकास रणनीति तथा सहकार्यको विस्तृत सम्भावना रहेको पनि उनले बताए ।
‘क्षेत्रीय शान्ति तथा स्थिरता कायम गर्न दुई पक्षले दक्षिण एसियामा सैन्य गठबन्धन बनाउने तथा प्रभुत्व कायम गर्न खोज्ने बाहिरका शक्तिविरुद्ध संयुक्त प्रयास थाल्नुपर्नेछ,’ वेले जोड दिँदै भने ।
चीन र बंगलादेशबीच सहकार्यका लागि द्विपक्षीय रणनीतिक साझेदारीलाई थप अघि बढाउन चीन तत्पर रहेको बताए । लोकान्तर बाट साभार
Comments are closed.