दमौलीमा सकियाे युवा उद्यमशीलता तथा रोजगार सम्मेलन

दमौली ३१ जेठ/युवा उद्यमशिलता तथा रोजगार सम्मेलन तनहुँको दमौलीमा सकिएको छ । राष्ट्रिय युवा महासंघ नेपाल तनहुँको आयोजनामा शुक्रबारबाट शुरु सम्मेलनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समापन गरे । कार्यक्रममा बोल्दै उनले केही गर्नसक्ने युवाको नेपाली राजनीतिमा अभाव रहेको बताए ।

राष्ट्रिय युवा महासंघ नेपालका केन्द्रीय अध्यक्ष कविन्द्र बुर्लाकोटीले युवाले चाहेमा असम्भव कुरा कम भएको उल्लेख गर्दै लामो समयसम्म चल्नसक्ने क्षेत्रमा संलग्नता आवश्यक रहेको बताए । तनहुँ उद्योग वाणिज्य संघका महासचिव बैकुण्ठनाथ मिश्रले उद्योग व्यवसायमा युवाको संलग्नता कम भएको भन्दै यसमा वृद्धि गराउन सकिए देशले औद्योगिक विकासमा गति लिन सक्ने धारणा व्यक्त गरे ।

नेपाल बार एसोसिएसन तनहुँ जिल्ला अदालत बार एकाइका अध्यक्ष ऋषिराम पोख्रेलले युवा सक्रियता बढेकाले कृषि क्षेत्रमा सकारात्मक परिवर्तन देखा परेको भन्दै नीतिगत सुधार गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिए । कृषि क्षेत्रमा सक्रिय उद्यमी एवं नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष यमबहादुर आलेले कृषिमा लागेकालाई तल्लोस्तरको सोच्ने प्रवृत्ति विकासमा बाधक भएको बताए ।10480961_10204408138866140_2932229048309613746_n
व्यासभूमि यातायात व्यवसायी समितिका अध्यक्ष एवं तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिका उप सभापति राजकुमार श्रेष्ठले जागिर भन्दा उद्यमशिलताले नै व्यक्तिको जीवनमा परिवर्तन ल्याउने बताए । मुक्तिनाथ विकास बैंकका शाखा प्रबन्धक लक्ष्मीभक्त खनालले युवाका लागि वित्तिय सेवा प्रदान गर्न लघुवित्त संस्थाले भूमिका खेलिरहेको बताए ।
हैरान्स क्लबका अध्यक्ष रवीन पौडेलले युवाका लागि सम्भावना के छ र कसले कस्तो सहयोग गर्छ भन्नेबारे नै युवा अनभिज्ञ भएकाले यस्ता कार्यक्रमले युवालाई आफ्नो क्षेत्र पहिचानमा मद्दत गर्ने बताए ।
स्थानीय युवा साझेदारी कार्यक्रमअन्र्तगत राष्ट्रिय युवा महासंघ नेपाल तनहुँले गरेको सम्मेलनमा युवा नेतृत्व, कृषि, उद्यमशीलता, सहकारी, वित्तिय सेवा, निर्माण लगायतका विषयमा विज्ञहरुले प्रस्तुतीकरण गर्दै सहभागीसँग अन्र्तक्रिया गरेका थिए ।
महासंघका जिल्ला अध्यक्ष पवन पौडेलले सम्मेलन शुरुवात मात्र भएको भन्दै आगामी दिनमिा विशिष्टकृत क्षेत्रमा युवाको चाहना अनुसारका कार्यक्रम लैजाने प्रतिबद्धता जनाए ।

Comments are closed.