दलितका समस्या बहुआयामिक प्रकृतिका

पोखरा, २७ फागुन । दलित समुदाय माथि भएको उत्पीडन तथा विभेदलाई बहुआयामिक ढंगले सम्बोधन गर्नुपर्नेमा मंगलबार भएको कार्यक्रमका वक्ताले जोड दिएका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको संयोजनमा भएको विश्वव्यापी आवधिक समिक्षा (यु.पि.आर) २०१५मा दलित समुदायका सवाल विषयक क्षेत्रीय परामर्श गोष्ठीका वक्ताहरुले दलितको समस्या बहुआयामिक प्रकृतिको भएकोले बहुआयामिक ढंगले समस्यालाई सम्बोधन गर्नुपर्ने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष तथा एसिया दलित अधिकार मञ्चका सदस्य भक्त विश्वकर्माले दलितका सवाललाई बहुआयामिक ढंगले सम्बोधन नगरेसम्म समाधन गर्न नसकिने धारणा राखे ।

अध्यक्ष विश्वकर्माले नेपालले राजनितिक रुपमा फड्को मारे पनि जातिय उत्पीडन, असमानता विद्यमान रहेको बताए । दलितका सवालमा राज्यको राष्ट्रिय प्रतिवद्धताले मात्र पुग्दैन, अध्यक्ष विश्वकर्माले भने– अन्तराष्ट्रिय दायित्व समेत पुरा गर्नु पर्दछ । उनले विश्वव्यापी आवधिक समिक्षाको प्रणालीले दिएको अवसरलाई प्रयोग गरी दलितका वृहत्तर सवाललाई अन्तराष्ट्रियकरण गर्नु पर्ने धारणा राखे । दलित ग्रैह्र सहकारी संस्था महासंघका उपाध्यक्ष रामलखन हरिजनले दलित माथिका विभेदका रुप फेरीएको उल्लेख गर्दै एक्काइसौ शताव्दिमा समेत दलित माथि कल्पना गर्न नसकीने दमन भइरहेको दावी गरे । अधिकार बारे सचेत भएका दलितमाथि झन बढी दमन भएको दावी गर्दै हरिजनले राजनितिक पार्टीले नितिगत रुपमै दलितलाई अवसरबाट वञ्चित गरेका आरोप लगाए ।
जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले राजनितिक परिवर्तनले दलितको सवाललाई सम्बोधन गर्न नसकेको बताए । दलितमाथि विभेद सबैभन्दा शिक्षित भनाउँदाबाट भएको उल्लेख गर्दै विश्वकर्माले सबै शिक्षीत भएरमात्र जातिय छुवाछुत तथा भेदभाव अन्त्य नहुने धारणा राखे ।
दलित ग्रैह्र सहकारी संस्था महासंघका क्षेत्रीय अध्यक्ष लोक दर्शन लामिछानेले विश्वव्यापि आवधिक समिक्षाको बारेमा दलित समुदायको क्षमता अभिवृद्धि गर्नुपर्ने विचार व्यक्त गरे । क्षेत्रीय अध्यक्ष लामिछानेले दलित समुदायको मानव अधिकार रक्षाको लागि जनअभिमत सृजना गर्नु पर्ने बताए । कार्यक्रममा प्रतिवेदन लेखन समितिका सदस्य कुलबहादुर विश्वकर्मा, दलित ग्रैह्र सहकारी संस्था महासंघका केन्द्रीय सचिव सुशिल वि.क., दलित समाज कल्याण संघ कास्कीका अध्यक्ष बलराम गायक, उपाध्यक्ष निशा सुनारले मन्तव्य राखेका थिए । फिन चर्च एडको आर्थिक सहयोगमा भएको मध्यमाञ्चल तथा पश्चिमाञ्चल स्तरिय परामर्श गोष्ठिको आयोजना, दलित ग्रैह्र सहकारी संस्था महासंघ, दलित महिला संघ, दलित सेवा संघ, मधेसी दलित ग्रैह्र सहकारी संस्था महासंघ, जागरण मिडिया सेन्टर, समता फाउन्डेसन, राष्ट्रिय दलित नेटवर्क, नेपाल दलित महिला उत्थान संघ, नेपाल दलित मानव अधिकार संगठनले आयोजना गरेका थिए ।

Comments are closed.