पोखरा, २० असार। पोखरा डाइबिटिज एण्ड थाइराइड क्लिनिक नयाँबजार र तेर्सापट्टि टोल विकास संस्थाले पोखरा–३ का विभिन्न संस्थाहरूसँगको सहकार्यमा शनिबार आयोजना गरेको शिविरमा दुई सय ५२ जनाको निःशुल्क मधुमेहसम्बन्धी रक्त परीक्षण गरिएको छ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल), गिरी कम्प्लेक्स, न्युरोडको प्राविधिक सहयोगमा आयोजित मधुमेहसम्बन्धी निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मधुमेही समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद बरालले निजी प्रयोगशालाले सामाजिक उत्तरदायित्व वोध गरी निःशुल्क शिविर सञ्चालन गर्नु प्रशंसनीय रहेको बताए। उनले विश्वभर नै मधुमेह रोगको सङ्ख्या तीव्रतर रुपमा बढेकाले पूर्व सावधानी र खानपिनमा ध्यान दिन आग्रह गरे।
पोखरा डाइबिटिज एण्ड थाइराइड क्लिनिकका अध्यक्ष राजन श्रेष्ठले स्वस्थ समाज निर्माणका लागि आफ्नो दायित्व पूरा गर्न शिविर आयोजना गरिएको बताए।
कार्यक्रममा मधुमेह, थाइराडड तथा हर्माेन रोगसम्बन्धी विशेषज्ञ डा. सचिन ढकालले यी रोगहरूमाथि प्रकाश पारेका थिए। रोग लाग्नु पूर्वको सावधानी र रोग लागेपछि गर्न सकिने सावधानी र आहारविहारको सन्तुलनले धेरै रोग निको हुने उनले उल्लेख गरे।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले विश्वकै उत्कृष्ट ल्याबको स्तरीय सेवा सुलभ तवरबाट सर्वसाधारणसम्म पु¥याउन आफूहरू लागिरहेको बताए। उनले यस्ता प्रकारका शिविरका अलवा गरिव र विभिन्न निकायले आर्थिक अवस्था कमजोर भएको भनी सिफारिस गरेका विरामीलाई सहुलियत प्रदान गरिरहेको बताए।
आहारविहार परामर्शदाता विद्या कायस्थले नेपालको आहारविहारको अवस्था र आवश्यकतामाथि आफ्नो भनाइ राखेकी थिइन्।
तर्सापट्टि टोल विकास संस्थाका अध्यक्ष जीतन्द्र कायस्थको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सरिता तिमिल्सिनाले गरेकी थिइन्।
सो अवसरमा अन्य परीक्षण गर्न चाहनेहरूलाई सबै परीक्षणमा ५० प्रतिशत छुट दिइएको युआरएलले जनाएको छ।
Comments are closed.