पोखरा, १ चैत । मुस्ताङको कुञ्जो गाविसमा रहेको एक विद्यालयमा नेपाली सेनाले शौचालय निर्माण गरिदिएको छ । मुस्ताङ सदरमुकामबाट ४२ किलोमिटर दूरीमा रहेको दुर्गम कुञ्जो गाविसको ताक्लुङ निम्न माध्यमिक विद्यालयमा नेपाली सेनाको भिमदल गणले शौचालय निर्माण गरिदिएको हो ।
व्यवस्थित शौचालयको अभावमा विद्यार्थी तथा शिक्षकहरुलाई समस्या परेको गुनासोपछि, सेनाका जवानहरुको श्रमदानमा निःशुल्क दुई कोठे पक्की शौचालय निर्माण गरिएको भिमदल गणका गणपति प्रमुख सेनानी अर्जुन बस्नेतले जानकारी दिए । शौचालय निर्माणपश्चात् सेनाले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको छ ।
हस्तान्तरण कार्यक्रममा सैनिक उच्च शिखर शिक्षालयका शिक्षाधिकृत, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी तथा जिल्ला शिक्षा अधिकारी लगायत अन्य सरकारी कार्यालयको प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरुले आगामी दिनमा पनि नेपाली सेनाबाट यस्तै सहयोगको अपेक्षा राखेका थिए ।
Comments are closed.