सिराहा, चैत १६ – बिहे गरेको भोलिपल्ट बिहानै नयाँ दुलहीले सोधेको प्रश्नले दिलिप मल्लिकको मनलाई आठ रेक्टरको भुर्इंचालोले जस्तै गरेर हल्लायो । सिराहा जिल्लाको इटहरावा ४ महेशबारीका दिलिप मल्लिकलाई नव दुलहीले सोधेको प्रश्न भने मनलाई नै हल्लाउनु पर्ने डरलाग्दो खालको थिएन । नयाँ दुलहीको प्रश्न साधारण थियो ‘दिसा गर्न कहाँ जाने ?’
तर दिलिपको भावी बैवाहिक जीवन यसै प्रश्नको उत्तरमा अडेको थियो । किनभने महेशको घरमा चर्पी थिएन र चर्पी नभए सँगै बस्न नसकिने कुरा पनि नयाँ दुलहीले प्रष्टै हुने गरी बताई दिएकी थिइन् । कुरा ८ वर्ष अघिको हो । त्यो बेला चर्पी गरीबका लागि आवश्यक ठानिदैनथ्यो । चर्पी नहुँदा पहिलोपल्ट आफ्नै श्रीमतीसँग लजाउनुपरेको घटना सुनाउँदै दिलीपले भन्नुभयो ‘त्यस्तो अवस्था आउला भन्ने जानेको भए चर्पी बनाएर मात्रै केटी भित्र्याइन्थ्यो ।’ हुन पनि त्यो बेला धनीमानीको घरमा मात्र चर्पी हुन्थे । बाँकी गाउँलेले पोखरीको किनार, बाटो आसपास र खेतको आलीमै अलिकति छलिएर मलमुत्र त्याग गर्ने काम चलाउँदै आएका थिए । तर आठ बर्ष अघि छिमेकी जिल्ला सुनसरीबाट विहे गरेर ल्याएकी बुटुङदेवी मल्लिकले चर्पी नबनाए बैवाहिक सम्बन्ध तोड्ने बताएपछि दिलिपको घर र परिवार पहिले जसरी नचल्ने प्रष्टै थियो । बिहे गरेर ल्याएको भोलिपल्टै चर्पी नभएका कारण हिजो गरेको बिहे आजै टुट्ने कुराले दिलिपको हंसले ठाउँ छाड्यो ।
बिहे गरेको भोलिपल्टै श्रीमतिले छोडे समाज, परिवार र साथीभाइले के भन्लान् भनेर घोरिदै दिलिपको मनमा जुक्ति आयो, कानको सुन बेचेर चर्पी बनाउने । आफ्नो घर नजिकै भएको चर्पी देखाउदै सिराहाको इटहरावा ४ महेशबारीका दिलीप मल्लिकले भन्नुभयो ‘यो चर्पी मेरो कानको मुन्द्रा बेचेर बनाएको हुँ ।’ दिलीपले कानको एकातिरको मुन्द्रा बेचेर भए पनि चर्पी बनाउने निधो गर्नुभएको थियो । श्रीमतीसँग बचन दिएको हप्ता दिनमै उहाँले दुई आना बराबरको कानको एकातिरको मुन्द्रा बेचेर प्यान सेट किन्नुभयो र गाउँमै पाइने बाँस, ढुङ्गा र भकारीको सहायताले चर्पी ठड्याउनुभयो ।
दिलिपको एउटा कान अहिले पनि बुच्चै छ । तर कानको मुन्द्राको साटो चर्पी छ । त्यसबेला मुन्द्रा बेचेर बनाएको चर्पीले दिलीपलाई सम्मान र इज्जत मिलेको छ । आठ बर्षअघि चर्पी बनाउने अभियान नभएपनि अहिले चलिरहेको सरसफाई अभियानमा दिलीप उदाहरणीय पात्र बन्नुभएको छ । ‘म मेरी श्रीमतीलाई धन्यबाद दिईरहेको हुन्छु, यहाँ जग्गा किन्न र ठूला ठूला घर बनाउन पैसा हुनेहरुसँग चर्पी बनाउने पैसा छैन रे !’ दिलीप भन्नुहुन्छ ‘त्यस्तो बेला मलाई उदाहरणको रुपमा प्रस्तुत गर्नुहुन्छ सरहरुले ।’
चर्पीमा लगानी फाइदै फाइदा
कानको सुन बेचेर चर्पी बनाउनुभएका दिलीप अहिले पनि अनुमान लगाउनुुहुन्छ ‘चर्पी नबनाए माइत फर्कन्छु भनेर श्रीमतीले नभनेको भए मेरो घरमा पनि चर्पी हुने थिएन । मलाई पनि अरुलाई जस्तै चर्पी बनाओ भनेर भनिरहनुपथ्र्यो ।’ समयमै चर्पी बनाएपछि टोलभरिकै प्रशंसाको पात्र बनेका दिलीप यसबाटै फाइदै फाइदा भएको बताउनुहुन्छ ।। चर्पी बनाएपछि उहाँको घर वरपर सफासुग्घर छ । घरका कसैलाई झाडापखाला लागेको छैन । ‘चर्पी नबनाएको भए मेरा यी लालाबाला बाँच्थ्थे कि मर्थे थाहा थिएन ।’ घरको आँगनमा खेलिरहेका बच्चालाई सुम्सुम्याउदै दिलीपले भन्नुभयो ‘यो सँगैका गाउँका अरु बच्चाहरुले प्राण त्याग्नु पर्यो, झाडापाखाला लागेर उनीहरु १ बर्ष नपुग्दै कलिलैमा विते ।’
उहाँका अनुसार इटहरावाको महेशबारीमा अहिले पनि सबैको घरमा चर्पी छैन । चर्पी नभएका घरको वरिपरि खुला दिसा पिसाव जतातै देखिन्छ । त्यहि दिसामा बसेका झिंगाले दिसामा रहेका किटाणुलाई खानेकुरासम्म पुर्याउँछन् । त्यसैले ती घर परिवारका मानस बेला बेलामा बिरामी भइरहन्छ । ‘उनीहरु त अहिले पनि रोग लाग्यो कि ऋण सापटी गरेर अस्पताल जान्छन्’ दिलीप हाँस्दै भन्नुहुन्छ ‘तर मलाई अस्पताल जानु परेको छैन ।’ आफ्नो नाममा एक धुर जग्गा समेतनभएको बताउने दिलीप मल्लिक घर जस्तोसुकै भएपनि एउटा चर्पी अनिवार्य हुनुपर्ने बताउनुहुन्छ । दिलीप घरको कामबाट फुर्सद निकालेर अहिले पनि समाजमा चर्पी बनाउने काममा क्रियाशील हुनुहुन्छ ।
-पी.टी.लोप्चन/उज्यालो
Comments are closed.