देशवासीलार्इ यस्ताे भने प्रधानमन्त्रीले

617885-20150603प्रधानमन्त्रीद्धारा देशवासीका नाममा सन्देश ¬२

संविधान सबैको साझा दस्तावेज हो । यसले सबैको आस्था र विचारलाई प्रतिबिम्बित गर्नुपर्दछ । संविधान निर्माणका क्रममा पहिलो मस्यौदामा देशभरबाट प्राप्त सुझावहरुलाई संशोधित मस्यौदामा समेटिएको छ । संविधानसभा, संवाद समिति र मस्यौदा समितिमा आएका सुझावहरुलाई समेट्दै संविधानलाई पूर्णता दिन संविधानसभा कार्यरत छ ।

संविधान निर्माण प्रक्रिया जारी रहेकोले अझै पनि उपयुक्त सुझावहरुलाई प्रक्रियागत रुपमा नै क्रमशः संविधानमा समेट्ने संभावना टरेको छैन । यसर्थ संवैधानिक हक अधिकारका लागि बहस गर्ने स्थल संविधानसभामा उपस्थित भएर आफ्ना मागहरु राख्न संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई म हार्दिक आग्रह गर्दछु । त्यस्तै संविधानसभा बाहिर रहनु भएका दलहरुलाई आफ्ना मागहरु वार्ताका माध्यमबाट संविधानसभामा शान्तिपूर्ण रुपमा पुर्‍याउन हार्दिक अपिल गर्दछु । हामी अहिले यस्तो जटील र संवेदनशील अवस्थामा छौँ कि एकातिर आफ्ना सबै मागहरु संविधानमा नै समेटिन पर्ने अडान छ भने अर्कोतिर नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको मुलुकमा आपसी एकता, सद्भाव र सौहार्दताको संस्कृतिको जगेर्ना गर्नु पनि उत्तिकै जरुरी छ । परिस्थितिको गाम्भिर्यतालाई सबैले बुझिदिनु हुने मैले विश्वास लिएको छु ।

विशाल विविधतामा अनुपम एकता हाम्रो राष्ट्रिय पहिचान हो । आपसी सहयोग र सद्भावबाट नेपाली समाजमा शदियौँदेखि सामाजिक सामञ्जस्यता र सहिष्णुता कायम हुँदै आएको छ । सहमति, सहकार्य, एकता र मेलमिलापका माध्यमबाटै हामीले मुलुकका सामु उपस्थित जटील समस्याहरुको सामना र समाधान गर्दै पनि आएका छौँ ।

यसै सन्दर्भमा हामी सबैले आफ्ना अधिकार र विचार अगाडि राख्दा अरुको अधिकारको पनि संरक्षण र सम्मानको ख्याल गर्नुपर्ने अनिवार्यता छ ।  यसै परिप्रेक्ष्यमा महिला, मधेशी, दलित, आदिवासी, थारु, जनजाति, मुस्लिम, पिछडावर्ग, अल्पसङ्ख्यक र सीमान्तकृत समुदायसहित संविधानमा आफ्नो हकहित संरक्षणका लागि आन्दोलनरत समस्त राजनीतिक दल, समुदाय र सबै पक्षलाई देश र जनताको बृहत्तर हकहितका लागि संविधान निर्माण प्रक्रियामा सहभागी हुन र आफ्ना मागहरूको शान्तिपूर्ण तरिकाबाट समाधानका लागि वार्तामा संलग्न हुन म हार्दिक आग्रह गर्दछु । संवाद र वार्ताका माध्यमबाट समाधान नहुने कुनै पनि समस्या छैन भन्ने कुरामा म विश्वस्त छु ।

राष्ट्रिय एकता र मेलमिलापको जगमा आपसी वार्ता, सहमति, सहकार्यका माध्यमबाट हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गर्दैै जनताका मौलिक अधिकार स्थापित गरी आफ्नो भाग्य आफै निर्धारण गर्न निर्वाचित सविधानसभा मार्फत संविधान निर्माणको यस महाअभियानमा सरिक हुन म संविधानसभा भित्र र बाहिर रहनु भएका समस्त राजनीतिक दल, जागरुक नागरिक समाज, विद्वत् समुदाय, पेसाकर्मी, व्यापारिक समुदायसहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गर्दछु ।

अन्त्यमा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान राष्ट्रिय एकताको गाँठो बलियो पार्ने, लोकतन्त्रलाई सुदृढीकरण गर्ने र आर्थिक रुपमा समृद्ध नेपालको निर्माण गर्ने ऐतिहासिक र महत्वपूर्ण दस्तावेज हुनेमा म दृढ विश्वस्त छु ।

राष्ट्र हामी सबैको साझा हो । राष्ट्रको कुनै अङ्ग दुख्दा राष्ट्रिय पीडा बन्दछ । यो मर्मलाई आत्मसात गरी सम्पूर्ण नेपाली जनता शान्तिपूर्ण रुपमा मिलेर संविधान निर्माण र देश विकासको कार्यमा एकजुट भएमा मात्रै हामीले भावी सन्ततिका लागि शान्तिपूर्ण, सुस्थिर, लोकतान्त्रिक, समुन्नत र समृद्ध नेपालको सुन्दर भविष्यको निर्माण गर्न सक्दछौँ । धन्यवाद । जय नेपाल

Comments are closed.