पाेखरामा धमाधम पक्राउ पर्दै चोरी गिरोह

पोखरा, १३ जेठ/ कास्की प्रहरीले एकपछि अर्को गर्दै चोरी तथा डकैती कार्यमा संलग्न गिरोहहरुलाई पक्राउ गर्न सफल भएको छ । लेखनाथको एक होटल चोरी गरी फरार भएकाहरुलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको प्रहरीले पुनः अर्का दुई छुट्टाछुट्टै स्थानमा चोरी गर्नेहरुलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
प्रहरीले पोखराको फुलबारीमा गत बैशाख ४ गते भएको चोरीको घटनामा संलग्न एकजना र बैशाख २७ गते पोखरा १० कामनामार्गको अर्को घरमा चोरी गर्ने दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । फुलबारी निवासी हिरा बहादुर पुनको घरमा चोरी गर्ने स्याङ्जाको कोल्मा काउलेका सन्तोष थापालाई मंगलबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तथा कास्की प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए । प्रहरीले थापाको साथबाट गत बैशाख ४ गते पुनको घरबाट चोरी गरेको एल सि डी टेलिभिजन र सिंगापुर प्रहरीले परेड खेल्ने तरवार बरामद गरेको छ ।
थापाले पुनको घरबाट ४८ इन्चको एल सि डी टेलिभिजन, एकथान ल्यापटक, तरवार, ३ वटा घडी, सोनी क्यामरा, पुरानो मोडेलको क्यामेरा, एटीएम कार्ड लगायतका सामान चोरी गरेका थिए ।
यसैगरी, पोखरा १० कामना मार्ग बस्ने यम कुमारी कुँवरको घरबाट १० लाख रुपैयाँभन्दा बढीको धनमान चोरी गर्ने दुई जनालाई पनि प्रहरीले मंगलबार नै पक्राउ गरेको हो ।
स्याङजाको तिनदोबाटे घर भई पोखरा १० बस्दै आएका १९ बर्षीय मनोज थापा र सोही ठाउँका २२ बर्षीय मन बहादुर गुरुङ्ग पक्राउ परेका हुन् । साथै फुलबारीका हिरा बहादुर पुनको घरमा चोरी गर्ने सन्तोष थापा समेत यस घटनामा संलग्न रहेको पाईएको प्रहरी प्रवक्ता रजौरेले जानकारी दिए ।
उनीहरुले कुँवरको घरबाट १० लाख ४५ हजार रुपैयाँ मूल्य बराबरका १७ तोला सुनका गरगहना, नगद रकम र मोबाईल फोन चोरी गरेका थिए । पक्राउ परेका सबैलाई चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
कास्की प्रहरीले मंगलबार कास्कीको लेखनाथमा नगरपालिका वडा नम्बर ५ मा रहेको आयुषा खाजा घरमा चोरी गर्ने ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
उनीहरुले राती होटल धनी कुलपूजाको लागि घर गएका बेला उनीहरुले होटलको पछाडीको ढोका फोडेर चोरी गरेका थिए ।

Comments are closed.