नवराज ढुङ्गाना/पोखरा, १५ असोज
भारतको अघोषित नाकाबन्दीका कारण दाना उत्पादनका लागि चाहिने कच्चा पदार्थ आयात हुन नसक्दा पोखरामा कुखुरालाई खुवाइने दानाको चर्को अभाव भएको छ । एक साताभन्दा लामो समयदेखि मकै, भटमास लगायतका कच्चा पदार्थ आयात नहुँदा दाना उद्योगबाट उत्पादन ठप्प भएको छ भने स्टक समेत सकिएको व्यवसायीहरुले बताएका छन् । बन्दअघि दैनिक डेढसय टनभन्दा बढी दाना आयात हुने पोखरामा अहिले आयात लगभग शून्यमा झरेको छ । दाना नहुँदा सबैभन्दा बढी समस्या कुखुरापालक किसानले झेल्नुपरेको छ । केही व्यवसायीले दानामा कालोबजारी समेत गर्न थालेको किसानहरुले गुनासो गरेका छन् । भारतबाट कच्चा पदार्थ आउन छाडे लगत्तै व्यवसायीले दानाको मूल्य बढाएपछि दानाको अभाव झनै चर्को बनेको छ ।
पर्याप्त दाना नपाउँदा समय पुगेका कुखुरा भोकभोकै परेका छन् भने किसानहरुले पनि बजारमा पुर्याउन नसकेका मासु व्यवसायी प्रेम पौडेल बताउँछन् । “अहिले ह्याचरीहरुले चल्ला उत्पादन गर्न छाडिसके ।” उनले भने– “एकसातादेखि नै किसानहरुले चल्ला राख्न छाडेका छन् । यही अवस्था रहेमा पोखरेलीले केही दिनपछि नै कुखुराको मासु उपभोग गर्न नपाउने निश्चित छ ।” नाकाबन्दीले दाना आयात नहुँदा र त्यसमाथी लोडसेडिङ्गका कारण समस्या थपिँदा ह्याचरीहरुले चल्ला उत्पादन गर्न नसकेका उनको भनाई छ । जिल्ला दाना संघ कास्कीका पूर्व अध्यक्ष प्रजापति बाँस्तोलाका अनुसार करिब १० बर्ष अघिसम्म पोखरामा मात्रै ४५ वटा दाना उद्योग थिए । त्यतिबेला कास्कीमै झण्डै २ सय टन दाना उत्पादन भई अन्य जिल्लामा निर्यात हुन्थ्यो । कच्चा पदार्थकै कारण अहिले ती सबै बन्द भएका छन् भने कास्कीमा यतिबेला दाना संघको अस्तित्व समेत छैन ।
“त्यतिबेला पोखरामा हरेकजसो पोल्ट्रीका आ–आफ्नै दाना उद्योग थिए ।” बाँस्तोला भन्छन्– “अहिले कास्कीको सम्पूर्ण पोल्ट्री व्यवसाय आयातमा निर्भर छ । कच्चा पदार्थ नपाउँदा अन्य जिल्लाका उद्योगहरुले समेत दाना पठाउन सकेका छैनन् ।” अहिले पोखरामा एकमात्रै विश्व दाना उद्योगले दैनिक ८ देखि १० टनको हाराहारीमा दाना उत्पादन गर्दै आएको छ । तर भारतको नाकाबन्दीका कारण विगत केही दिनयता यो उद्योगबाट पनि उत्पादन ठप्प भएको सञ्चालक राम पाठक बताउँछन् । “उद्योगमा काम गर्ने सबै स्टाफहरुलाई घर पठाइदिएँ । काम ठप्पै छ ।” उनले भने– “नेपालमा उत्पादन हुने मकैले ३ महिनाभन्दा पुग्दैन, सबै भारतकै भर पर्नुपर्छ । यहीँको लोकल कच्चा पदार्थ पनि किनिनसक्नु महंगो छ । नाका नै बन्द भएपछि अब के गर्नु ?” कास्की दाना तथा कुखुरा सप्लायर्स समितिका अध्यक्ष जीवनाथ बरालले भने नाकासम्म गाडी पठाउने तेल नपाउँदा दाना ल्याउन नसकिएको बताए । “केही उद्योगहरुले दाना लिन बोलाईरहेका छन् ।” बरालले भने– “तेल नहुँदा गाडी पठाउन सकिएको छैन ।”
पोखरामा सबैभन्दा धेरै विरगञ्ज र चितवनबाट दाना आयात हुँदै आएको छ । त्यसबाहेक बुटवल लगायतका ठाउँबाट समेत दाना आयात हुँदै आएको छ । बुटवलको अन्नपूर्ण एग्रोबाट दाना आयात गरी पोखरामा वितरण गर्दै आएको पुन ग्रुप अफ पोल्ट्री इन्डष्ट्रिजका व्यवस्थापक अशोक पौडेलले बजारमा दाना पठाउनै नसकिएको बताए । उद्योगहरुले कोटा प्रणालीमार्फत् सिमित दाना उपलब्ध गराएपनि त्यसले बजारको माग पूरा गर्न नसक्ने उनको भनाई छ । “स्टक दानाले अब केही दिन मात्रै पुग्ला ।” पौडेल भन्छन्– “स्टक पनि सकिएपछि के गर्ने ? भन्न सक्ने अवस्था नै छैन । किसानहरुलाई नयाँ चल्ला बाँडिएको छैन भने पुराना कुखुरा उठाउन पनि समस्या छ ।” पोखरामा ग्याँसले पोलेर तयारी मासु बिक्री वितरण गर्ने चलन छ । तर ग्याँस अभाव भएपछि फ्रेस हाउसहरुले नपोलिकनै मासु बिक्री गर्न थालेका छन् । नपोलेको मासु फोहोर देखिने र रौं तथा प्वाँख समेत हुने भएकाले उपभोक्ताले खरिद गर्न नचाहने गरेको फ्रेस हाउस सञ्चालकहरु गुनासो गर्छन् । यसले गर्दापनि कुखुराको मासुको खपत तुलनात्मक रुपमा केही कम भएको छ । अहिले पोखरामा किसानहरुसँग डेढ लाखभन्दा बढी तयारी ब्रोइलर कुखुरा छन् । ती सबै कुखुरालाई पहिलेको जस्तै गरी खान दिने हो भने २÷३ दिन भन्दा बढी पुग्दैन । पोखरामा दैनिक करिब ५० हजार किलो कुखुराको मासु खपत हुँदै आएको छ ।
Comments are closed.