नवराज ढुङ्गाना
पोखरा १२ बैशाख । यसअघिका बर्षमा लगातार दरबन्दी कटौती गर्दै आएको पोखरा उप–महानगरपालिकाले आसपासका विभिन्न १० गाविस आफु मातहतमा गाभिएपछि, नयाँ कर्मचारी थप्ने तयारी गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार गत मंसिर १६ गते पोखरा आसपासका १० गाविस गाभेर पोखराको आकार झनै ठूलो बनाईएपछि, नगरपालिकालाई यसपटक कर्मचारी थप्नुपर्ने अवस्था आएको हो ।अहिले पोखरा उप–महानगरपालिकाका विभिन्न वडाका रुपमा स्थापित भएका अधिकांश गाविसका कर्मचारी काज फिर्ता भैसकेका छन् भने केहीले जिल्ला विकास समितिमार्फत् हाजिरी गर्दै आएका छन् । स्थापित भएका नयाँ वडाहरुमा उप–महानगरपालिका आफैंले कर्मचारीको व्यवस्था गरी प्रशासनिक कामकाज सञ्चालन गरिरहेको छ ।
नयाँ वडाका रुपमा थपिएका साविकका गाविसहरु लामाचौर, भलाम, काहुँ, आर्वाविजय, निर्मलपोखरी, कृष्ति, पुम्दीभुम्दी, सराङकोट, हेम्जा र अर्मलामा अहिले सहायक चौथो स्तरका कर्मचारीहरु खटाईएको छ । तत्कालका लागि उप–महानगरपालिकामा उपलब्ध कर्मचारीहरु नै ती वडामा खटाईएपनि सहज र नियमित रुपमा सेवा प्रवाहका लागि नयाँ कर्मचारीको समेत जोहो गर्नुपर्ने उप–महानगरपालिका कार्यालयका प्रवक्ता अनन्त कोइरालाले बताए । उनका अनुसार अहिले वडा बनेका यी सबै कार्यालयहरुका लागि एकजना सचिव, एकजना सहायक र एकजना प्राविधिक गरी कम्तिमा तीन नयाँ दरबन्दी सिर्जना गर्नुपर्ने हुन्छ । वडा र जनसंख्याको चाप हेरी कर्मचारी थपघट गर्नुपर्ने भएकाले यसका लागि गृहकार्य भैरहेको उनको भनाई छ ।
“यस बिषयमा नगर विकास केन्द्र र पोखरा उप–महानगरपालिकाले संयुक्त रुपमा अध्ययन गरिरहेका छन् ।” पोखरा हटलाइनसँग कुराकानी गर्दै उनले भने– “केही दरबन्दी यसपटक पनि कटौती गर्नुपर्ने देखिएको छ भने नयाँ वडाका लागि कर्मचारी थपिनेछन् ।”अध्ययनपछि आउने प्रतिवेदन अनुसार सर्वपक्षिय भेलाले कहाँ कति कर्मचारी थप गर्ने भन्ने टुङ्गो लाग्ने उनले बताए । सरकारी व्यवस्था अनुसार कुनै गाविस नगरपालिकामा गाभिएमा पहिले कार्यरत कर्मचारीहरु स्थानीय विकास मन्त्रालयमा फिर्ता हुने र गाभिएका गाविसमा सम्बन्धित नगरपालिकाले नै कर्मचारीको व्यवस्था गर्नुपर्ने हुन्छ ।उप–महानगरपालिकाले अघिल्ला दुई बर्षमा गरी ५५ जनाको दरबन्दी कटौती थियो । दरबन्दी भएर पनि लामो समयदेखि पदपूर्ति हुन नसकेका, सेवा निवृत्त भएका, जागिर छाडेर खाली भएका तथा अनावश्यक दरबन्दी कटौती गरिएको थियो ।
नगरपालिका कार्यालयमा दरबन्दी धेरै भएको गुनासो बढेको र न्यूनतम शर्त तथा कार्यसम्पादन मापन (एमसिपीएम) मा समेत यसले प्रभाव पार्ने भएकाले, उप–महानगरपालिकाले पछिल्ला केही बर्षयता कर्मचारी कटौती गर्दै आएको छ । कर्मचारी कटौति गरेपछि, नगरपालिकाको प्रशासनिक खर्च समेत घटेको कार्यक्रम अधिकृत ओमराज पौडेलले जानकारी दिए । अहिले पोखरा उप–महानगरपालिका कार्यालय र वडाहरुमा गरी करिब ३ सय कर्मचारीहरु कार्यरत छन् ।
Comments are closed.