नाकावन्दीमा भूमिकाहीन नेपाली साहित्य, सामाजिक सञ्जालमा सिमित

‘हुन त यो राजनीतिक समस्या हो तर, साहित्यकार लगायतका बौद्धिक बर्गले विभाजित समुदायलाई एकताको सुत्रमा बाँध्न, सर्वसाधारणको मनोबल बृद्धि गर्न र भारत लगायत विभिन्न देशका साहित्यकार सामु नेपाली समस्याको जानकारी गराएर सहयोगका लागि आह्वान गर्न सक्थे ।’


अमृत सुवेदी/ पाेखरा ६ मङ्सिर

भारतमा सामाजिक असहिष्णुता बढेको भन्दै अहिले धेरै साहित्यकार तथा कलाकार राष्ट्रिय सद्भावको पक्षमा सडकमा छन् । सरकारलाई दवाव दिन र सामाजिक सद्भाव कायम राख्न भन्दै त्यहाँका साहित्यकार तथा कलाकारहरुले राष्ट्रिय पुरस्कारहरु फिर्ता गरिरहेको विषयले अहिले भारतमा हङ्गमा मञ्चाइरहेको छ ।

त्यही भारतको छिमेकी देश नेपालमा उसैले गरेको नाकावन्दी र विग्रिरहेको सामाजिक सद्भावप्रति भने यहाँका साहित्यकार तथा कलाकार लगायतका बौद्धिक बर्ग भूमिकाहीन देखिएका छन् । देशको विभिन्न कालखण्ड र विभिन्न आन्दोलनहरुमा नेपाली साहित्यकारहरुले ठूलो भूमिका खेलेका थिए । तर, यसपटक सामाजिक सञ्जाल र केही कवि गोष्ठी तथा कार्यक्रमहरुमा देशको अवस्थाका विषयमा सृजनाहरु आएपनि राष्ट्रिय स्तरमा आवाज उठ्न सकेको छैन ।

‘यो राष्ट्रिय तथा राजनीतिक मुद्धा भएकाले राजनीतिक रुपमै समस्याको समाधान हुनुपर्छ भन्ने हो’ नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले भने, ‘साहित्यकारहरु व्यक्तिगत रुपमा त आन्दोलित भैरहेका छन् तर, राष्ट्रिय तथा समाजिक रुपमा एक हुन सकिरहेका छैनन् ।’

भारतीय नाकावन्दी र तराई आन्दोलनले सर्वसाधरण चिन्ता, अभाव र महङ्गीको मारमा परेका बेला नेपाली साहित्यकारहरुले आफ्ना सृजनाहरुमा जसरी जन आवाजहरु उठाउनु पर्ने हो त्यो आउन सकेन भन्ने गुनासो उठ्न थालेको छ । के नेपाली साहित्यकारहरुले तराई आन्दोलन, भारतीय नाकावन्दीको आवाजलाई उठाउन र नेपाल तथा भारतका साहित्यकारबीच विभिन्न कार्यक्रम गरी यसलाई ब्यापक बनाउन सक्दैनन् ? साहित्यकार तीर्थ श्रेष्ठ भन्छन्, ‘राष्ट्रिय स्तरबाटै साहित्यकारहरुले भूमिका खेल्न सक्नुपर्ने हो त्यसो हुन नसक्नु दुःखद हो ।’


‘एकेडेमिकस्तरबाट समस्यालाई अन्तराष्ट्रियकरण गर्न सकिन्थ्यो । राजनीतिक समस्या राजनीक रुपमै समाधान हाेस् भनेर हाे’ सरुभक्तले भने, ‘अव त्यसरी पनि पहल गर्नुपर्ने देखिएको छ ।’


कुनैपनि व्यक्ति साहित्यकार, कलाकार वा अन्य पेशा, व्यवसायका हुनुभन्दा पहिले आम नागरिक हुन् । आम नागरिकलाई परेको समस्याबाट कोही पनि अछुतो रहँदैन । तर, सर्वसाधरणमा बढेको आक्रोस, अहिलेको आवेगलाई संयमित पार्दै मनोबल तथा आत्मनिर्भर हुनुपर्छ भन्ने कुराकाे ज्ञान बढाउन साहित्यकारहरुको भूमिका ठूलो बन्न सक्ने विश्लेषकहरुको बताउँछन् । नेपाल र भारतको धार्मिक, सांस्कृति तथा साहित्यिक विभिन्न सम्वन्धहरु छन् । त्यसको माध्यमबाट पनि समस्याको जानकारी गराएर सहयोग लिन सकिन्छ ।

समाजिक सञ्जाल तथा स्थानीय स्तरमा साहित्यिक सृजना मार्फत अहिलेको समयको आवेग पोखिइरहेको भएपनि राष्ट्रिय रुपमै प्रभाव पार्ने गरी साहित्यकारहरु जुर्मुराउन नसकेको कवि श्रेष्ठले स्वीकारे ।
‘यतिबेला कम्तीमा पनि नेपालका साहित्यकारहरुले भारतका साहित्यकारहरुसँग छलफल तथा विभिन्न कार्यक्रम गरी हाम्रो समस्याको जानकारी गराएर सहयोग दिन सक्थे’ श्रेष्ठले भने, ‘साहित्यकारहरु पनि विभिन्न राजनीतिक दल विशेषमा विभक्त भएका कारण राष्ट्रिय समस्या राष्ट्रिय स्तरबाटै नउठेको हो ।’

अहिले सर्वसाधरण चिन्ता, अभाव र महङ्गीको राँकोले जलिरहेका छन् । देशको यो अवस्थाको हैरानी र सास्ती सबै जनताले खेपेका छन् । सामाजिक वैमनस्यता बढिरहेको छ । पहाड र मधेसका जनतावीच एकाएक दूरी बढेको छ । जनजाति र खसआर्यवीच दूरी लम्विदै जान थालेको छ ।

मधेसी, थारु र जनजाति समूदायले संविधान बनिसक्दा पनि आफूलाई राष्ट्रिय मूल धारमा समाहित भएको महसुस गर्न सकिरहेका छैनन् । सामाजिक सद्भाव र सर्वसाधरणको मनोबल बृद्धि गर्न अहिले किन साहित्यकारहरुको सृजना बोल्न सकिरहेको छैन त ? ‘साहित्यकारहरुको आवाज उठ्दै नउठेको भन्न मिल्दैन तर जुन रुपमा आउनुपर्ने हो त्यसरी मात्रै उठ्न नसकेको हो’, कवि रुपीन्द्र प्रभावीले भने ।

नेपालका लेखक साहित्यकारहरु कतै ‘वौद्धिक छेरौटे पन’ देखाइरहेका त छैनन् ? गम्भीर विषय उठ्न थालेको छ । खास किन नेपाली साहित्यकारहरु जनस्तरबाट आवाज उठाउन सकेका छैनन् त ? फेरी सरुभक्त भन्छन्, ‘एकेडेमिकरुपमै समस्यालाई अन्तराष्ट्रियकरण गर्न सकिन्थ्यो । विभिन्न समस्याहरुकै कारण त्यतातिर सोंच्न भ्याइएन । अव त्यसरी पनि पहल गर्नैपर्ने बेला भएको छ ।’

यो विभाजनको रेखा बढ्दै गयो भने नेपाली समाज पनि विभाजन र हिंसाको त्राशदीपूर्ण बाटोतर्फ जाने खतरा छ । यस्तो बेला लेखक कलाकार जस्ता बौद्धिक बर्गले सर्वसाधारणको मनोबल बढाउन र विभिाजित नेपाली समुदायलाई एकताको सुत्रमा जोड्ने प्रयन्त गनुपर्ने होइन र ?

Comments are closed.