पोखरा ८ असोज
२०५८ साल तिरै गायक विनोद बानियाको पोखरामा चर्चा सुरु भैसको थियो । जतिबेला उनले ‘माया देखायौ’ भन्ने गीतमा आवाज दिएका थिए । त्यतिबेलादेखि नै धेरैले गायक वानियालाई राम्रो गायकको रुपमा चिन्न थालिसकेका थिए र उनको गायकीको प्रशंसा गर्थे । धेरैले उनलाई काठमाडौं गएर प्रतिभालाई उजागर गर्न र आफ्नो उज्ज्वल भविष्य खोज्न सल्लाह दिए । उनले सबैको सल्लाह सुने तर, निर्णय आफ्नो गरे । उनले प्रतिज्ञा गरे–‘म काठमाडौं जान्न पोखरामै बसेर संघर्ष गर्छु, पोखराबाटै गायनलाई स्थापित गर्छु ।’ त्यही प्रतिज्ञाले उनलाई अहिलेसम्म साथ दिएको छ ।
गायक बानियाले अहिलेसम्म थुप्रै गीतमा आवाज भरेका छन् । ‘मान्छे’, ‘डाउट’ लगाएत एल्बम स्रोता दर्शकलाई जिम्मा लगाइसकेका छन् । उनले खेलकुदका तथा राष्ट्रिय गीत पनि गाएका छन् । जसले उनलाई थुप्रै अवाडहरु पनि दिलाएको छ । त्यसो त सस्ता र सिमित गीत गाएर पनि धेरै चर्चा कमाउने गायकहरुको सूचिमा पर्दैनन् उनी । उनी भन्छन् ‘म कहिल्यै कसैले प्रचार गरिदेला भनेर लागिन, न चर्चाका लागि कुनै नयाँ काम गरेँ । मात्र म आफु आफ्नो कर्ममा लागिरहेँ ।’ तरपनि बानियालाई पोखरा बसेर माथि उठ्न नसकेको गायक भनेर धेरै ठाउँमा चर्चा हुने गर्छ । ‘सबैजनाले काठमाडौं ताक्ने हो भने पोखराको लागि सोँच्ने चाँहि को त ?’ उनले प्रश्न गरे ‘पोखराकै लागि केहि गरौँ र आफुसहित पोखरालाई पनि चिनाऔँ भन्ने सोँचेर म पोखरामै बसेको हुँ ।’
गायक बानिया लेकाली ब्याण्डमा रहेर पनि गीत गाए । यो विचमा उनले थुप्रै गजलहरु पनि गाए । पोखरेली गजलकारकै शब्दलाई आवाजमा उतारे । लामो समय व्यावसायिक रुपमा ओपन हाउसमा रहेर गजल तथा सुगम संगीतमा आवाज दिइरहे । पछिल्लो एक बर्षमा आफु समेत सञ्चालक बनेर मेलोडि क्याफे खाले । जसमा उनले अहिले गीत गाउँछन् ।
पोखरामै रहेर लामो समय गायन तथा विभिन्न क्षेत्रमा क्रियाशिल गायक बानियाले अहिले ‘प्रोफाइल’ ल्याएका छन् । आफ्नो छुट्टै प्रोफाइल बनाइरहेका गायक बानियाले ल्याएको ‘प्रोफाइल’ सुगम संगित तथा गजलहरुको एल्बम हो । जुन एल्बम उनले ९ बर्षको अन्तरालमा निकालेका हुन् । गायक बानियाले निकालेको पछिल्लो एल्बम ‘प्रोफाइल’ मा नयाँ तथा पुराना ६ वटा गीत तथा गजल छन् । सन्तोष शर्मा, तीर्थ तामाङ, सोभियत खड्का, ईश्वरमणी अधिकारी लगायतका शब्दलाई गायक बानिया आफै र हरि लम्सालले संगीत भरेका छन् । ‘मैले लामो समयपछि यो एल्बम बजारमा ल्याएको हूँ’ गायक बानियाले भने ‘देशको परिस्थिति र संगीतमा हराएको व्यावसायिकताले गर्दा एल्बम निकालिन तर यो क्षेत्रमा भने क्रियाशिल रहिरेहेँ ।’ गायक बानियाले प्रोफाइल बिमोचनको तयारी सुरु भएको जानकारी दिँदै आगामी हप्ता एल्बमको विमोचन हुने बताए ।
Comments are closed.