पोखरा, भदौ३१
📝 अजित तिमिल्सिना
कन्चनपुर भिमदत्त नगरपालिका २ कि बलत्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको निष्पक्ष न्यायको माग गर्दै मानवअधिकार चोक चिप्लेढुङ्गा पोखरामा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ ।
पोखराका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध तथा विषेश गरि सामाजिक सञ्जाल प्रयोगकर्ताले स्वतः स्फूर्त पिडित निर्मलाको न्यायको निम्ति कार्यक्रम आयोजना सम्पन्न गरेका छन् । हत्या भएको महिनौंसम्म पनि दोषिलाई पहिचान गरेर पक्राउ गर्न नसकेको सन्दर्भ प्रहरी प्रशासन र सरकारको लज्जाको विषय रहेको कुरा प्रदर्शनमा सहभागी भएका सम्पूर्णले जानकारी दिए । सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको प्रदर्शनमा बोल्दै विभिन्न व्यक्तित्वहरूले महिला हिंसा, बलात्कार, हत्यालगायतका घटना दिनप्रतिदिन बढिरहँदा पनि शान्ति सुरक्षाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए।
कार्यक्रममा मानवअधिकार चोकबाट शान्तिपूर्ण र्याली निकालेर चिप्लेढुङ्गा हुदै महेन्द्रपुलबाट फेरि मानवअधिकार चोक आएर र्याली सकिएको थियो। कार्यक्रममा बोल्दै सरस्वती गुरुङले छोरी भएर बाँच्नु अहिलेको नेपाली समाजमा निकै कठिन भएको कुरा व्यक्त गरिन्। दिनहुँ जसो पत्रपत्रिका, रेडियो टेलिभिजन, सामाजिक सञ्जालमा हत्या बलत्कारको घटनाले आफु चिन्तित भएको कुरा व्यक्त गरिन्। त्यस्तै कार्यक्रममा बोल्ने सम्पूर्णले छिटो भन्दा छिटो दोषिलाई पहिचान गरेर निर्मलाको न्यायको लागि आवाज उठाए।
Comments are closed.