निर्माता संघको निर्वाचन रोक्न सीडीओको पत्र

पुष २ गते हुने भनिएको नेपाल चलचित्र निर्माता संघको साधारण सभा तथा कार्यसमितिको निर्वाचन रोक्न जिल्ला प्रशासन कार्यालय (सीडीओ) काठमाडौंले पत्र पठाएको छ । संघमा अहिलेको कार्यसमितिबाट आर्थिक हिनामिना भएको र सो हिनामिनालाई ढाकछोप गरेर निर्वाचन गर्न लागिएको दाबीसहित केही निर्माताले जिल्ला प्रशासन कार्यालयमा बुधबार उजुरी दर्ता गराएका थिए । उनीहरूले सो उजुरीमा संघको अहिलेको कार्यसमितिले हिनामिना गरेको रकम नबुझाएसम्म २ पुषको निर्वाचन रोक्न अनुरोध गरेका थिए । सोही उजुरीको आधारमा २ पुषको निर्वाचन प्रक्रिया तत्काललाई रोक्न र आर्थिक पाटोलाई पारदर्शी पार्न निर्देशनसहित जिल्ला प्रशासन कार्यालयले पत्र काटेको हो । सो पत्र शुक्रबार दिउँसो संघमा दर्ता भइसकेको छ । प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालयले पठाएको पत्रको विषयमा आइतबार निर्माता संघका कार्यसमितिको बैठक बस्दैछ ।निर्माता संघका वर्तमान अध्यक्ष राजकुमार राईको कार्यसमितिले लाखौं हिनाहिना गरेको आरोप लगाउँदै केही हप्ता अगाडी मात्र डेढ दर्जन निर्माताहरुले नयाँ निर्माता संघ गठन गरेका थिए । त्यस्तै केही दिन अगाडी मात्र नेपाल चलचित्र निर्माता संघको आगामी कार्यसमितिको निर्वाचनमा निर्माता आकाश अधिकारीले अध्यक्ष सहितको आफ्नो प्यानल घोषणा पनि गरेका छन् । अब हेर्न यो बाँकी छ कि पुष २ गते हुने भनिएको नेपाल चलचित्र निर्माता संघको साधारण सभा तथा कार्यसमितिको निर्वाचन रोकिएला वा नरोकिएला ?cdo

Comments are closed.