काठमाण्डौं,
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो।यस सगैं नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।
यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो।
विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९०२ कम अर्थात् दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको हो।
राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई राखिएको छ।
सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौंमा २० लाख ४१ हजार ५८७ जनसंख्या छ भने सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा पाँच हजार ६८५ जना मानिस छन्।
भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ।
प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ।
Comments are closed.