नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा बर्ष वा सालको सुरुवातलाई भनिन्छ । नेपाल लगायतका विक्रम संवत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी संवत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ । यस अवसरमा आपसमा सद्भावको आदानप्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोलासका साथ मनाउने गरिन्छ। यस दिन सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।
नेपालमा नयाँ बर्ष
विक्रम संवत
विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो। यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रा) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडी छ । यस पात्रोमा वर्षको सुरूवात बैशाख महिनाको पहिलो दिनबाट हुन्छ । विक्रम संवत सूर्यसँग सम्बन्धित भएकाले विक्रम संवतमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा विक्रमादित्यले सुरुवात गरेको विक्रम संवतको नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो।
नेपाल संवत
नेपाल संवतको सुरुवात शंखधर साख्वाले गरेका थिए । नेपाल संवत ११३३ वर्ष पहिले भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालहरुमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो सम्बत चन्द्रसम्शेर राणाको कार्यकालसम्म प्रचलनमा रह्यो । यो संवतको पहिलो दिन विक्रम संवतको कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ । यस दिनलाई विशेषत नेवार समुदायले नयाँ वर्षको रूपमा मनाउने गर्दछन्।
ल्होसार
ल्होसार तामाङ, शेर्पा, गुरुङ, थकाली आदि जातीले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो ।ल्होछारु शब्दमा ल्हो को अर्थ वर्ष वा साल हुन्छ भने छारु वा सारुको अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । ल्होसार मनाउने समुदायले यस्ता ल्हो अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तो मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर बर्ष । बाह्र वर्षसमाप्त भए पछि फेरि उही नाम दोहो¥याएर वर्ष गनिन्छ । यसरी यस समुदायले बाह्र वर्ष एक युगको परिकल्पना गरेको हुनसक्ने विश्वास गरीन्छ ।
इस्वी संवत
इस्वी संवत ग्रेगोरियन क्यालेण्डर वा क्रिश्चियन क्यालेण्डरमा आधारित साल हो । यसमा जनवरी १ तारिखको दिनमा नयाँ बर्षको सुरुवात हुन्छ । यो दिन विशेष क्रिश्चियन धर्मालम्बीहरूले नयाँ बर्षको रूपमा मनाउने भए तापनि हिजोआज विश्वका प्राय सबै देशहरूमा नयाँ बर्ष मनाउने गरिन्छ।
अन्य देशहरूमा नयाँ बर्ष
विभिन्न देशमा नयाँ वर्ष मनाउने तरिका आ–आफ्नै रहेका छन् । केही देशमा नयाँ वर्ष कसरी मनाइन्छ भन्ने कुराको जानकारी निम्न रहेको छ ।
भारत
स्यहाँको स्थान नै पिच्छे नयाँ वर्ष मनाउने तरिका फरकफरक रहेको पाइन्छ। बङ्गालमा नयाँ वर्षको उपलक्ष्यमा देवीदेवताको पूजा गरी नाँचगान र हाँसखेल गरिन्छ । कुमाउ र गढवालमा नयाँ वर्षको दिनमा पहेंलो लुगा लगाएर आफ्नो बन्धुलाई उपहार प्रदान गरिन्छ। आसाममा यस दिन पशुलाई पूजा गर्दछन् । पञ्जाबमा पनि यस दिन झाँगड नृत्य आयोजना गर्नुका साथै गणेश र लक्ष्मीको पूजा गरी सामूहिकरूपमा नाँचगान गरिन्छ। राजस्थानमा पनि नयाँ वर्षको अवसरमा मीठामीठा परिकार खाएर आपसमा रमाइलो गरिन्छ भने जनजाति विशेषले आफ्ना मन नपरेका जीवनसाथी भए तिनीहरूसँग छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने प्रचलन रहेको पाइन्छ ।
इन्डोनेसिया
इन्डोनेसियामा नयाँ वर्षलाई गोलुगानु भन्छन् । त्यसदिन त्यहाँका मानिस नयाँ लुगा लगाउँछन्। मीठामीठा परिकार खाएर एक आमसमा बधाई र शुभकामना व्यक्त गर्दछन् ।
मङ्गोलिया
यस दिन मङ्गोलियन रातभरि जागा रहेर आफ्ना आमाबाबु तथा मान्यजनबाट आर्र्शीवाद लिई मीठा परिकार खाएर रम्छन् ।
कुवेत
नयाँ वर्षको अवसरमा रातभरि घरमा दीपावली गरी खुसीले शुभकामना आदानप्रदान गरी नाँचगान गर्छन् ।
मेक्सिको
यहाँका जनजातिको वाहुल्यता भएको स्थानमा यस दिन चर्चमा गएर सामूहिक विवाह गरी नयाँ वर्ष मनाउँछन्
जर्मनी
यस दिन त्यहाँ पानीले भरिएको धातुको भाँडामा मुद्रा (सिक्का) खसाएर त्यसको आकृतिलाई नियालेर भविष्य वक्ताले मानिसको भविष्यवाणी गर्ने चलन रहेको छ ।
पोर्चुगल
यस देशमा नव वर्षको दिन साँढे जुद्धाएर रमाइलो गर्नुका साथै सहरभर धुनी जगाएर पटाकावाजी गरेर धूमधामका साथ रम्ने रमाउने प्रचलन रहेको छ।
बेलायत
यहाँ ३१ डिसेम्बरदेखि नै घरघरमा बत्तीले झिलिमिली पार्छन् । नयाँ रङ्गीचङ्गी लुगा लगाएर नाँच्छन् । रातको ठीक १२ बजे बढाई हुन्छ । यसको अर्थ पुरानो वर्ष बितेर नयाँ वर्षको सुरुआत भएको भन्ने हुन्छ । एजेन्सीहरु
Comments are closed.