२१ जेठ, काठमाडौं । सरकारले म्यागी चाउचाउ आयात तथा बिक्री वितरणमा अनिश्चितकालिन प्रतिबन्ध लगाएको छ । म्यागी चाउचाउमा मानव स्वास्थ्यलाई असर पुर्याउने अखाद्य पदार्थ भेटिएको भारतीय मिडियामा बिगबिगी भएपछि नेपालमा पनि प्रतिबन्ध लगाइएको हो ।
भारतका विभिन्न राज्यमा म्यागी चाउचाउ बिक्री वितरणमा समेत प्रतिबन्ध लगाइएको छ । ‘म्यागी चाउचाउ आजैको मितिदेखि लागू हुने गरी नेपालमा आयात तथा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णले भने ।
विभागबाट अर्को सूचना नआएसम्मको लागि म्यागी चाउचाउ आयात तथा बिक्री नगर्न सम्बन्धीत पक्षलाई निर्देशन दिइसकेको महानिर्देशक कर्णले बताए । विभागले सर्वसाधारण उपभोक्तालाई म्यागी चाउचाउ उपभोग नगर्न समेत सचेत गराइसकेको छ ।
‘चाउचाउमा लिड -सिसा)को मात्रा २.५ पीपीएम भन्दा कम हुनुपर्छ, म्यागीमा त्यो भन्दा बढी पाइएको भारतीय मिडियामा आइरहेको छ,’ महानिर्देशक कर्णले भने- ‘मानव स्वास्थ्यलाई असर पार्ने खतरनाक केमिकल पनि चाउचाउमा भेटिएको बताइएको छ ।’
विभागले चाउचाउको गुणस्तर परिक्षण गर्न बजारबाट नमुना संकलन गरिसकेको छ । परिक्षण रिपोर्ट नआउँदासम्म कसैले पनि म्यागी चाउचाउ आयात तथा बिक्री गर्न नपाउने महानिर्देशक कर्णले जानकारी दिए ।
छिट्टै चाउचाउको गुणस्तर परिक्षण गरेर यथार्थ कुरा बाहिर ल्याउने विभागले जनाएको छ । गुणस्तर परिक्षण गर्दा चाउचाउमा अखाद्य बस्तु भेटिएमा आयात तथा बिक्रीमा पुरै प्रतिबन्ध लगाइने छ ।
Comments are closed.