नेपाली काँग्रेस र गठबन्धनको चुनावी घरदैलोको

पोखरा, २२ बैशाख ।

आफ्नो लाज छोप्नलाई चिल्लो एकातिरको चिल्लो बाटो देखाएर अर्कोतिर आँखा छोप्ने परिपाटीले महानगरको विकास हुन नसक्ने नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएकी कोपिला रानाभाटले बताएकी छन् ।

आफू नजिकैको वडावासी भएकाले पोखरा २८ को विकासको साक्षी भएको बताईन् । पोखरा २८ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयदेखि कालिका माझठाना पूर्वाधारमा पछि परेको टिप्पणी गरिन् । ‘कालिकाको एउटा मात्र चिल्ला बाटो हेरेर होईन पाखा, पखेरा र टोल टोलको विकासको जिम्मा लिने गठबन्धनको नेतृत्वलाई भोट हाल्नुहोला ।’ रानाभाटले भनिन् ।

त्यस्तै मेयरपदका उम्मेदवार धनराज आचार्यले घोषणा पत्रका हरेक शब्द ईमान्दार तरिकाले पालना गर्दै प्रत्येक वडामा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । वडा २८ को ओख्ले, आरुपाटा, डाँडा गाउँ, देउमाडी, माझठाना लाम्चे, सौर्य लगायतका अधिकांश भेगमा पानीको हाहाकार भएको बताउँदै उनले आफ्नो आगामी कार्यकालमा सो क्षेत्रको समस्या समाधानका लागि काम गर्ने बताए ।

गठबन्धनवाट पोखरा २८ मा वडाअध्यक्ष श्रीकृष्ण लामिछाने र वडासदस्यहरु इन्द्रकला विक, कमला थापा, डाल्डादेवि भुजेल र नारायण बजगाई उम्मेदवार छन् ।

त्यस्तै उता वडा नम्बर १४ मा अध्यक्षका उम्मेदवार बोधबहादुर कार्कीले आफूले जनताको समस्याहरु सुनिरहेको र निर्वाचित भएसँगै समाधानका लागि काममा लाग्ने बताएका छन् । पोखराको मूख्य बजार मानिने वडा नम्बर ९ का अध्यक्ष उम्मेदवार दिपेन्द्र मर्सानीले भने
यस पटक पनि विरासत जोगाउन मात्र नभई नयाँ सोँच र जोशका साथ चुनावी मैदानमा होमिएको बताउँछन् ।

त्यसैगरि पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष उम्मेदवार राजेश गुरुङ
काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेको कामबाट वडाबासी सन्तुष्ट भएको बताउँछन् । यो पटक पनि काँग्रेसकै नेतृत्व दोहोरिनेमा कुनै शंका नभएको उनले बताए ।

बुधबार पोखरा महानगरपालिका वडा नं १ का गठबन्धनका उम्मेदवारहरु तान्चोक नौजे पैंगी लामा परिवार, सिमपानी तमु समाज, बगर तमु समाज, सुखवती गुम्बा, भीमकाली तमु समाज, मिरुवा तमु समाज, तामाङ घेदुङ समाजमा पुगेर आफ्नो पक्षमा मत मागेका छन् ।

पोखरा महानगरपालिका वडा नं ४ मा आज काँग्रेसका उम्मेदवारहरुले गणेशटोल, वाग्लुङ, बसपार्क, नालामुख, भैरवटोलमा घरदैलो सम्पन्न गरेको छ । वडामा रहेका सुकुुम्वासी समस्या, खानेपानी, बाटोघाटोको विकासलाई आफ्नो प्राथमिकतामा राखेको उम्म्ेदवारहरुले भेटघाटका क्रममा जनाएको सदस्य पदका उम्मेदवार प्रकाश कोइरालाले जानकारी दिए ।

स्थानीय तह निर्वाचनका लागि यही वैशाख १८ गतेदेखि सुरु भएको वडा ८ को चुनावी घरदैलो अभियानमा उम्मेदवारहरु सकृय बनेका छन् ।

उम्मेदवारहरुले यसपटक गठबन्धनसहितका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गर्दै आफुहरुले जितेमा आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्य, पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्दै वडालाई नमुना वडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गठबन्धन सहित चुनावी अभियानमा जुटेको पोखरा महानगरपालिका वडा नं २६ को टोलीले आज उक्त वडाका पुरानो गाउँ, चँदरा गाउँ, ढुङ्गाना थर, खेता घर, जैसी थर, बरालडाँडा लगायतका स्थानमा घरदैलो गरेको छ । घरदैलोका क्रममा स्थानीयले बाटोघाटो तथा खानेपानीका समस्या लगायतका विषयमा उम्मेदवारको ध्यानाकर्षण गराएको वडा सदस्य पदका उम्मेदवार सुदिप ढुङ्गानाले जानकारी दिए ।

चुनाव प्रचारप्रसारकै क्रममा पोखरा महानगरपालिका वडा नं ३२ मा नेपाली काँग्रेसका उम्मेदवारहले आज खुदी खोला नयाँ वस्तीमा घरदैलो गरेका छन् । घरदैलोका क्रममा उक्त क्षेत्रमा सुकुम्वासी समस्यालाई स्थानीयले प्राथमिकताका साथ उठाएको काँग्रेस नेता एवम् प्रदेश महाधिवेशन प्रतिनिधि किसान परियारले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं ३३ मा गठबन्धनका उम्मेदवारले आज सो वडाका सिंगारेवास, गैरागाउँ, जिव्रे ढुङ्गा लगायतका स्थानमा घरदैलो गरेका छन् । घरदैलोका क्रममा सुकुम्वासी समस्या, खानेपानीको समस्या, बाटोघाटोको समस्या लगायतका विषयमा स्थानीयले कुरा उठाएका थिए । स्थानीयबाट उठेका विषयलाई आँफूहरुका तर्फबाट सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको वडा अध्यक्ष पदका उम्मेदवार रामचन्द्र अधिकारीले जानकारी दिए । घरदैलोका क्रममा मतदातामा देखिएको उत्साहले आँफूहरु चुनाव जित्ने कुरामा ढुक्क भएको उनको तर्क छ ।
त्यस्तै पोखरा १७ मा पनि गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका देवराज आचार्यसहितको टोलीले मूख्य बजार क्षेत्रमा पुगेर आफ्नो पक्षमा मत मागेको छ ।

महागरका सम्पूर्ण वडाहरुमा यतिबेला चुनावी सरगर्मी बढेको छ । वडामा नेपाली काँग्रेस र गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले आफ्नो र गठबन्धनको पक्षमा मत माग्दै मतदाताहरुको गुनासो र सुझाव लिईरहेका छन् ।

Comments are closed.