पोखरा, ६ माघ-
पछिल्लो समय लोकप्रिय खेल क्रिकेटमा दरिँदै गएको नेपाली टोली डिभिजन टु लिग क्रिकेट प्रतियोगिताको दौरान यतिबेला नामिबियामा छ । शिर्ष दुई स्थानमा परेर निखारिएको टोलीका रुपमा प्रमाणित गर्न र डिभिजन टु मै रहेर ‘हाई पर्फमेन्स टीम’ बन्ने लक्ष्यसाथ नेपाली टोली नामिबिया पुगेको हो ।
‘हाई पर्फमेन्स टिम’ का रुपमा आफ्नो स्थान कायम गर्नसके मात्रै पनि नेपालले एसियाली क्रिकेट परिषद (एसिसी) र आइसिसीबाट पाइरहेको सहयोग वृद्धि हुने हुनेछ भने अरु बलिया देशसँग सबै स्वरुपमा थप अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पनि पाउनेछ । यो सुखद क्षणका लागि नेपाली क्रिकेटरहरु सक्दो प्रयासरत छन् । हाई पर्फमेन्स टिम भन्दा पनि शिर्ष दुईभित्र नाम लेखाउन सके मात्रै नेपाली क्रिकेट ईतिहास उपलब्धिमूलक रहनेछ ।
तर प्रतियोगिता शुरु हुनुभन्दा अघि निकै उत्साहित देखिएको नेपाली टीमलाई युगाण्डासँगको पराजयपछि ‘पहिलो गासमै ढुंगा’ लाग्यो । मात्र दुई रनले पराजय भोग्नुपर्दाको क्षण नेपाली क्रिकेटर र क्रिकेटप्रेमीका लागि सुखद थिएन । तर आइतबार भएको खेलमा निकै बलियो मानिएको नेदरल्याण्डस्लाई दुई विकेटले पराजित गरेपछि नेपाली क्रिकेट टोली अब भने उत्साहित छ ।
अब नेपालले मंगलबार क्यानडासँग खेल्दैछ भने बुधबार आयोजक नामिबियासँग भिड्नेछ । अन्तिम खेल आगामी शुक्रबार केन्यासँग खेल्न लागेको नेपाल प्रतियोगिताको शिर्ष दुईमा पर्न सके नेपालको लक्ष्य पूरा हुनेछ । छ टीम सहभागि प्रतियोगितामा नेपाल शीर्ष चारमा मात्रै पर्न सक्यो भनेपनि नेपाल डिभिजन २ मै कायम रहनेछ । अन्तिम दुईमा सीमित भए नेपाल फेरि डिभिजन ३ मै झर्नेछ ।
नेपाल यदि शिर्ष दुई टीममा परेर डिभिजन १ मा उक्लन सके डिभिजन १ मा हाल भएका आयरल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड, पपुवा न्युगिनी, संयुक्त अरब इमिरेट्स र हङकङ तथा डिभिजन २ बाट उक्लने दुई टोली गरी आठ टिमबीच विश्व क्रिकेट लिग च्याम्पियनसिप हुनेछ ।
लिग च्याम्पियनसिपमा पर्ने देशले सबै सात देशसँग चार दिवसीय, एकदिवसीय तथा ट्वान्टी–२० खेल खेल्नेछन् । च्याम्पियनसिपका शीर्ष दुई टोली २०१९ को एकदिवसीय विश्वकपको अन्तिम छनोटमा पर्नेछन् । आइसिसीले २०१९ को विश्वकपमा १० टोली मात्र सहभागी गराउने निर्णय गरिसकेकाले नेपालको छनोट सम्भावना भने व्यवहारिक रूपमा अत्यन्तै कमजोर छ ।
सँगसँगै, च्याम्पियनसिपको शीर्ष टोलीले टेस्ट वरियताको पुछारमा रहेको देशसँग टेस्ट शृंखला पनि खेल्न पाउनेछ । जुन शृंखलाले टेस्टको आधिकारिक मान्यता पाउनुका साथै भविश्यमा टेस्ट मान्यता दिलाउन ठूलो भूमिका खेल्न सक्छ ।
यसमा राम्रो प्रदर्शन भएमा टेस्ट मान्यताको ढोका खोल्ने अवसर आउनसक्ने सम्भावना समेत नेपालका लागि रहेको छ ।
तर यो अवसरबाट चुकेपनि नेपालका लागि अहिलेको स्थान कायम गरिरहनुपर्ने चुनौती छ । आइसिसीको ‘हाई पर्फमेन्स टिम’ अर्थात् डिभिजन टु मै रहन सकेमात्रै पनि नेपालले पुनः डिभिजन २ का देशबीच हुने आइकप खेल्न पाउनेछ । आइकपमा नेपालले सबै पाँच विपक्षीसँग तीन दिवसीय खेल खेल्ने अवसर पाउनेछ भने आइसिसिले अहिले गर्दै आएको सहयोगमा समेत वृद्धी हुनेछ ।
अहिले नेपालले आइसिसिबाट बार्षिक ४ लाख अमेरिकी डलर हाराहारी सहयोग पाइरहेको छ भने यहि अहिलेकै स्थानमा टिकिरहनसके अझै ३ लाख डलर थपिने सम्भावना छ ।
Comments are closed.